१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २ आइतबार ०८:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा ४७ अंकले नेप्से बढे पनि दिशा अस्पष्ट : जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ता आकर्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २ आइतबार ०८:१५:००

गत साता नेप्से परिसूचकले पुनः २ हजार ७ सयको बिन्दु भेटेको छ । यसअघि २ हजार ७ सय ३५ बिन्दुको उचाइ छोएको नेप्से हाललाई त्यही लक्ष्य लिएर अगाडि बढेको छ । साताभरमा भने नेप्से परिसूचक करिब ४७ अंकले बढेको हो । 

साताभरमा कारोबार रकम भने १५ प्रतिशतले घटेको छ । अघिल्लो साता ३३ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा गत साता भने २८ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको हो । दैनिक औसत कारोबार रकम पनि करिब ६ अर्ब ७९ करोडबाट घटेर ५ अर्ब ७२ करोडमा सीमित भएको छ । 

गत साता होटेल र पर्यटनबाहेक सबै समूहगत परिसूचकमा भने सुधार भएको छ । यद्यपि, वित्त कम्पनी र ‘अन्य’ समूहमा सुधार देखिएको हो । यी समूहमा ७ दशमलव २४ प्रतिशत र ५ प्रतिशतले बढेको हो । 

प्रोग्रेसिभ, बेस्ट, गुहेश्वरी, रिलायन्स फाइनान्सलगायतको मूल्य बढेको छ । बेस्ट फाइनान्सको नाफा करिब दोब्बरले बढेर १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले वितरणयोग्य नाफाका आधारमा भने करिब ३ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ । त्यस्तै, २० लाख रुपैयाँ नोक्सानमा रहेको प्रोग्रेसिभले ३ करोड ५९ लाख आम्दानी गरेको छ । कम्पनीले करिब ५ दशमलव २२ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । 

सबैभन्दा धेरै सेयर कारोबार संख्या र कारोबार रकमका आधारमा गत साता नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । कम्पनीको १३ हजारभन्दा धेरैपटकको कारोबारमा करिब २ अर्ब रुपैयाँको खरिददारी भयो । सन्राइज म्युचुअल फन्डको सबैभन्दा धेरै परिमाणमा कारोबार भएको छ । ३२ लाख ९८ हजार इकाइहरू किनबेच भएको हो । 

रुरु हाइड्रो, समता माइक्रोलगायतको मूल्य उच्चदरमा बढेको छ । यी कम्पनीको ६० प्रतिशत हाराहारीले मूल्य बढेको हो । तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको कम्पनीको सो अवधिमा नाफा करिब १३ प्रतिशतले बढेर ६ करोड १३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रसारण लाइनमा समस्या आएको उल्लेख गरेको थियो । यसको प्रतिसेयर आम्दानी भने १८ रुपैयाँ ६१ पैसा छ । 

प्राविधिक विश्लेषण 
नेप्से अन्तिम २ दिन बढे पनि यसको मैनबत्ती चित्रले यी दिनमा रातो आकारको मैनबत्ती बनाएको छ । यसले सो दिनहरूमा बजार बियरिस नै रहेको संकेत गर्छ । यसले स्पष्ट संकेत गरेको छैन । यद्यपि, देखिएको बुल प्रवृत्ति बलियो भने भइनसकेको स्पष्ट पार्छ । 

नेप्सेको ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि बढ्ने प्रयासमा देखिएको छ । यसले गोल्डेन क्रस ओभर हुन लागेको संकेत गर्छ । यसो भएमा भने बजार बुलिस प्रवृत्तिमै केही समय जानेछ । यद्यपि, कहिलेकाहीँ छिटो–छिटो क्रस ओभर भइरहने हुनाले केही दिन पर्खनु नै बुद्धिमत्ता हुनेछ । 

१४ दिने आरएसआई सूचकले भने बजारमा माग र आपूर्ति सन्तुलित अवस्थामा फर्किएको देखाउँछ । यो सूचक बुधबार करिब ५३ स्केलमा रहेकोमा बढेर स्केल ६५ मा आएको छ । 

स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । पिभट विश्लेषणले भने सेयर बजारमा आगामी एक साता २ हजार ७ सय २१ मा पहिलो लक्ष्य रहेको र सो बिन्दुमा प्रतिरोध पाएर घटेमा २ हजार ६ सय २७ मा पहिलो टेवा पाएर फर्कन सक्ने संकेत गर्छ ।