मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७८ जेठ २ आइतबार ०६:२२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओली–नेपाल मिलनले राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनलाई धक्का

Read Time : > 4 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ जेठ २ आइतबार ०६:२२:००

देवकोटालाई उम्मेदवार बनाउने नेपालको प्रस्तावमा थियो, देउवा र प्रचण्डको समर्थन 

 जीवनराम श्रेष्ठ, खनाल–नेपाल समूहका नेता
खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ । हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, गर्न सक्दैनौँ ।

एनपी साउद, कांग्रेस नेता
केपी ओलीविरुद्ध गठबन्धन बनाउने सल्लाह र प्रदेशको अंकगणितसमेत हेरेर डा. खिमलाल देवकोटालाई गठबन्धनको उम्मेदवार बनाउने सहमति भएको थियो । उहाँले उम्मेदवारी कायम राख्नुभयो भने हामी उहाँलाई नै मतदान गर्छौँ । उहाँ मैदानबाट बाहिरिनुभयो भने बेग्लै कुरा हो । 

...                ...

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले असहयोग गरेपछि संघीय सरकार बनाउन नसकेको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा पनि दबाबमा देखिएको छ । सत्तारुढ एमालेको आन्तरिक राजनीतिमा फेरबदल आएपछि राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जोखिममा परेका छन् । 

पार्टीको आन्तरिक विवाद समाधानउन्मुख देखिएपछि एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापालाई ‘राहत’ भएको छ । तर, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहबाट प्रस्तावित भएका, तर स्वतन्त्र उम्मेदवारी दिएका डा. खिमलाल देवकोटालाई कठिन अवस्था पैदा भएको छ । 

कांग्रेस, माओवादी र जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूहको समेत समर्थन लिएर उम्मेदवारी दिएका डा. देवकोटाबारे खनाल–नेपाल समूहले लिने अन्तिम निर्णयले उनको हारजितको सुनिश्चितता गर्नेछ । ओली र नेपाल कार्यदल बनाएर पार्टी विवाद टुंग्याउन सहमत भएका छन्, जसले संघीय सरकार गठन गर्ने विपक्षी गठबन्धनको योजना असफल भएको थियो । स्रोतका अनुसार देवकोटालाई उम्मेदवार बनाउने नेपालको प्रस्तावमा देउवा र प्रचण्डले समर्थन गरेका थिए । 
बागमती प्रदेशमा आगामी ६ जेठमा हुने राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनमा एमालेकै दुईजना उम्मेदवार उठेपछि गृहमन्त्री थापा जोखिममा परेका थिए । विपक्षी दलहरूको गठबन्धनले एमालेकै असन्तुष्ट पक्षका देवकोटालाई बनाएसँगै जोखिममा परेका गृहमन्त्री थापाका लागि चुनावी नतिजा आफ्नो अनुकूल बनाउन केही राहत त भएको छ, तर एमाले विवाद अझै अन्तिम सहमतिमा नपुगेकाले ढुक्क हुने अवस्था भने बनिसकेको छैन । 

पछिल्लो समय पार्टी एकता कायम राख्ने भन्दै ओली र खनाल–नेपाल समूहले वार्ता र संवाद थालेपछि थापाको जित्ने सम्भावना बलियो बनेको हो । एमालेका दुवै पक्षले पार्टीको उम्मेदवार थापा नै भएको बताएका छन् । खनाल–नेपाल पक्षका नेता तथा संघीय संसद्को प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता जीवनराम श्रेष्ठले एमालेको उम्मेदवार थापा नै भएको बताए ।

‘खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ,’ नेता श्रेष्ठले भने, ‘हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी नेकपा एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, सक्दैनौँ ।’ 

श्रेष्ठले एमाले विभाजन भइसकेको अवस्था भएको भए फरक परिस्थिति हुने भए पनि पार्टी एकै भएको अवस्थामा आफ्नो कुनै भूमिका नरहने बताए । उनले उम्मेदवार देवकोटा संविधानले कल्पना गरेको विज्ञ र राष्ट्रिय व्यक्तित्वका हिसाबले विपक्षी दलको मात्रै उम्मेदवार भएको र आफ्नो उम्मेदवार थापा नै भएको बताए । 

देवकोटा एमालेकै बुद्धिजीवी संगठनमा आबद्ध व्यक्ति हुन् । यसअघि उनले एमालेकै तर्फबाट बागमती प्रदेशको योजना आयोगमा नियुक्त भएर पछि राजीनामा दिएका थिए । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार भएसँगै उनको पार्टी सदस्यतासमेत खारेज भएको श्रेष्ठको भनाइ छ । ‘उम्मेदवारी दर्ता गराएसँगै उहाँको बुद्धिजीवी संगठनबाट समेत स्वतः कारबाही भइहाल्छ । पार्टीको नियमअनुसार उहाँ पार्टीको सदस्य हो भनेर मान्नै भएन,’ उनले भने ।

यस्तै, ओली पक्षका नेता आनन्दराम पोखरेलले पनि थापा नै पार्टीको एकल उम्मेदवार भएको बताए । थापाविरुद्ध भोट हाल्नेलाई कारबाही हुने उनको भनाइ छ । पोखरेलले खनाल–नेपाल पक्षले सार्वजनिक रूपमा आफ्नो उम्मेदवार भनेरसमेत नभनेकाले पार्टीको एकमुस्ट भोट थापालाई जाने बताए । ‘सूर्य चिह्नबाट उठेको उम्मेदवार भनेपछि सबैले भोट हाल्नुपर्छ । जसले हाल्दैन ऊ स्वाभाविक रूपमा कारबाहीको भागीदार बन्छ,’ उनले भने । 

तर, कांग्रेस नेता एनपी साउदले उम्मेदवारी फिर्ता नलिएसम्म आफूहरूले डा. देवकोटालाई नै मत दिने बताए । ‘केपी ओलीविरुद्ध गठबन्धन बनाउने सल्लाह र प्रदेशको अंकगणितसमेत हेरेर डा. देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो । उहा“ले उम्मेदवारी कायम राख्नुभयो भने हामी उहाँलाई नै मतदान गर्छौ“,’ उनले भने । 

विपक्षी गठबन्धन बचाउन भन्दै नेता नेपालले कांग्रेस र माओवादीसँग बागमती प्रदेशमा आफूले सिफारिस गरेको व्यक्तिलाई गठबन्धनको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । केन्द्रमा वैकल्पिक सरकार गठनमा लागेका कांग्रेस र एमालेले खनाल–नेपाल समूहलाई विश्वासमा लिन आफ्नो उम्मेदारी दिएनन्, डा. देवकोटालाई नै साझा उम्मेदवार मानेका थिए । प्रतिबद्धता भए पनि केन्द्रमा निर्णायक अवस्थामा वैकल्पिक सरकार बनाउन खनाल–नेपाल समूहले असहयोग गरेको निष्कर्षमा पुगेका विपक्षी गठबन्धनका नेताहरूले राष्ट्रिय सभा उपचुनावमा पनि खनाल–नेपाल समूहको भूमिकालाई शंकाले हेरेका छन् । 

उम्मेदवारी दर्ता गर्ने दिन थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका थिए । ‘एमालेको आधिकारिक उम्मेदवार मै हुँ । एमालेले मलाई उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको छ । पार्टीले स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्नेमा कुनै सत्यता छैन, मेरो जित सुनिश्चित छ,’ हेलिकोप्टरमा हेटौँडा पुगेर उम्मेदवारी दर्तापछि गृहमन्त्री थापाको भनाइ थियो । जित सुनिश्चित नभएसम्म राष्ट्रिय सभाको उपनिर्वाचनमा नउठ्ने अडानमा रहेका थापा अन्तिम समयमा आएर मात्रै उम्मेदवारी दिन तयार भएका थिए । 

गठबन्धनका उम्मेदवार डा. देवकोटाको प्रतिक्रिया थियो, ‘म स्वतन्त्र उम्मेदवार हुँ । तर, मलाई कांग्रेस, माओवादी र जसपाको समेत समर्थन छ । सबै पार्टी मिल्नुपर्छ । देशमा स्थायित्वका लागि दलहरू मिल्न जरुरी पनि छ, तर त्यसले मलाई फरक पार्दैन ।’

एकीकृत पार्टी नेकपा विभाजनपछि आफू सांसद रहेको माओवादी छोडेर थापा एमालेमा प्रवेश गरेका थिए । त्यसपश्चात् माओवादीले कारबाही गरेपछि राष्ट्रिय सभामा उनको पद रिक्त भएको थियो । नेमकिपाले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

यस्तो छ बागमतीको अंकगणित : गृहमन्त्रीलाई ‘राहत’, देवकोटालाई ‘जोखिम’
राष्ट्रिय सभा निर्वाचनमा मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी जम्मा ९५ सय ६४ मतभार छ । यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ मध्ये एकजना सांसद पशुपति चौलागाईंको निधन भएसँगै ५६ जना र स्थानीय तहमा एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ । 

कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । एमाले एकढिक्का हुँदा थापाको जित सुनिश्चित हुन्छ । यस्तै, राप्रपाले पनि मत आग्रह गरेको खण्डमा थापालाई सघाउने निर्णय गरेको छ । राप्रपासँग स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको छ । यसले थापाको जित थप सुनिश्चित गर्नेछ ।

राष्ट्रिय सभाका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा भन्छन्– परिणाम जेसुकै आओस्, युद्धको मोर्चामा होमिसकेपछि लड्नुपर्छ 

म दायाँबायाँ, तलमाथि हुँदैन, सतिसालजस्तै उभिन्छु । राजनीतिमा निष्ठा र इमानदारिता सबभन्दा महत्वपूर्ण हो र त्यो हरेक व्यक्तिमा लागू हुन्छ । म कांग्रेस र माओवादी केन्द्रको उम्मेदवार हो । उहाँहरूले विश्वास र भरोसा गरिसकेपछि यसमा दृढ रहन्छु । परिणाम जेसुकै आओस्, युद्धको मोर्चामा होमिसकेपछि लड्नुपर्छ । म स्थानीय तह र प्रदेशसँग जोडिएर काम गरेको मान्छे हुँ । त्यसैले पनि प्रदेश र पालिकाका हरेकको ढुकढुकीमा छु  । म उम्मेदवार बन्दा पनि धेरैले चासो व्यक्त गर्नुभयो, अहिले पार्टी एकताको चर्चा हुँदा पनि चिन्ता र चासो छ । 

प्रदेश र स्थानीय तहमा पीडा गुम्सिएका छन् । उहाँहरूको आफ्नै पार्टीको सरकार छ, आलोचना गर्न सक्नुभएको छैन । म निरन्तर प्रदेश र स्थानीय तहका पक्षका लेख्ने–बोल्ने गरिरहेको छु । संसद् विघटन हुँदा पनि खबरदारी गरेँ, बोलेँ, लेखेँ । संविधानले तलसम्म अधिकार दिएको छ, तर कानुन दिने वेलामा सबै खुम्च्याउने काम भइरहेको छ । यस विषयमा बोलिरहेको छु । मैले नै केही गर्न सक्छु भन्ने सबैले बुझ्नुभएको छ । गुट–उपगुट हुन सक्छन्, तर गोप्य मतदान भएकाले मलाई फरक पार्दैन । प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका सबैले सहयोग गर्नुहुन्छ ।

म कुनै पनि पार्टी र संगठनमा आबद्ध छैन । भएको हुन्थेँ भने आलोचनात्मक ढंगले सरकारका कदमविरुद्ध बोल्न सम्भव हुँदैन थियो । पार्टीको मात्रै होइन, अन्य बुद्धिजीवीले पनि यसरी संघीयता र स्थानीय तहको पक्षमा बोलेको देखिएको छैन । म त कांग्रेस, जनमोर्चा र राप्रपाका समेत पार्टीका छलफलमा गएर संविधान र संघीयताका विषयमा बोलेको छु ।