१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ जेठ २ आइतबार ०६:१०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फास्ट ट्रयाकको सुरुङ र विशेष प्रकृतिको  पुल निर्माणका लागि सेनाले गर्‍यो ठेक्का सम्झौता

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ जेठ २ आइतबार ०६:१०:००

नेपाली सेनाले बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिका पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिको पुल निर्माण गर्न पोली चङ्दा ग्रुपको पोली चङ्डा इन्जिनियरिङसँग सम्झौता भएको हो । संसद्को सार्वजनिक लेखा समितिले ठेक्का सम्झौताका लागि ठेकेदार कम्पनी छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै रद्द गर्न निर्देशन दिएको थियो । 

सम्झौतापत्रमा सेनाका तर्फबाट सहायक रथी विकास पोखरेल तथा ठेकेदार कम्पनी चाइना स्टेटका तर्फबाट सुरु याङ र पोली चङ्दाका तर्फबाट सु तिङ्ग्यु बारब्राले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुवै ठेकेदार कम्पनीले अबको ४२ महिनाभित्र सुरुङ र विशेष प्रकृतिको पुल निर्माण गरिसक्नुपर्नेछ । 

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले रक्षा मन्त्रालयबाट ठेक्का सम्झौता रोक्न कुनै निर्देशन नआएको हुँदा कार्यसूचीअनुसार ठेक्का प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘विशेष प्रकृतिको पुल र सुरुङ निर्माणको ठेक्का सम्झौता भएको छ । सम्मानित लेखा समितिको निर्देशनअनुसार हामीले जवाफ पेस गरिसकेका छौँ । रक्षा मन्त्रालयबाट पनि ठेक्का रोक्न कुनै निर्देशन आएन । त्यसो हुँदा कार्यसूचीअनुसार नै सबै प्रक्रिया अघि बढ्यो । अबको ४२ महिनाभित्र ठेकेदार कम्पनीले काम सकेर हामीलाई हस्तान्तरण गर्नेछन् ।’

सेनाका अनुसार पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का प्रक्रियामा कसैको उजुरी नपरेकाले पनि ठेकेदार कम्पनीसँग सम्झौता गर्न सहज भएको सेनाले बताएको छ । 

सैनिक प्रवक्ता सहायक रथी पौडेलले भने, ‘सम्पूर्ण काम सार्वजनिक खरिद ऐनअनुसार अघि बढेको छ । ऐनअनुसार नै उजुरीका लागि समय पनि हामीले दिएका हौँ । तर, ठेकेदार कम्पनीविरुद्ध उजुरबाजुर परेन । त्यसो हुँदा सम्झौता गर्न हामी अघि बढ्यौँ । अब निर्माणको काम तुरुन्तै अघि बढ्नेछ, समयमा नै काम सकिनेछ ।’

सेनाले इन्जिनियरिङ, प्रक्रुमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलअन्तर्गत सुरुङ तथा पुल निर्माणको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिएको हो । जसअन्तर्गत ठेकेदार कम्पनीले पुल र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनेछ । यसका लागि ६ महिना लाग्नेछ । डिपिआर स्वीकृतपछिको बाँकी ३६ महिनामा ठेकेदार कम्पनीले निर्माणको काम सक्नेछ । 

सैनिक प्रवक्ता पौडेलले फास्ट ट्र्याकको सम्पूर्ण काम अब ०८१ भित्रै सक्न सजिलो भएको बताए । उनले भने, ‘सेड्युलअनुसार काम अघि बढेको छ । अब फास्ट ट्रयाकको सम्पूर्ण काम निर्धारित समयभित्रै सकिनेछ । त्यसो हुँदा लागत रकम पनि बढ्ने छैन ।’