०६७ मा झापाको कमल–५ पाडाजुँगीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भन्दै नौ सय बढी आदिवासी जनजातिको चिहान भत्काइयो । आदिवासी जनजातिको समाधिस्थल भत्काएबापतको क्षति राज्यले रंगशालाको नाम आदिवासी रंगशाला राख्ने सहमति ग¥यो । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारी (हाल राष्ट्रपति)ले रंगशालाको ०६७ वैशाखमा शिलान्यास पनि गरिन् ।
तर, अहिले राज्यले आदिवासी जनजातिमाथि घात गरेको छ । नौ सय बढी चिहान भत्काएर बनाउन सुरु गरेको रंगशाला बीचमै अलपत्र बनाएर यही रंगशालालाई प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा बनाउने भएको छ । रंगशाला दमकमा सार्नुको एक मात्र कारण हो नाममा विवाद । आदिवासी जनजातिको चिहान उत्खनन् गर्दैगर्दा आदिवासी रंगशालाको नाममा सहमति जुट्यो ।
केही वर्ष आदिवासी रंगशालाको नाममा बजेट विनियोजन भयो र रंगशाला सम्याउने, घेराबारा र प्याराफिटको निर्माणको केही काम भयो । ०७२ को बजेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रंगशालाको नाममा बजेट विनियोजन भयो । आदिवासी जनजातिको विरोधका कारण प्रत्येक वर्ष बजेट छुट्टिए पनि काम हुन सकेन ।
विवाद उत्कर्षमा पुगेपछि गत फागुनमा गृहजिल्ला आएका वेला ओलीले रंगशाला दमकमा बनाउने उद्घोष गरे । उनले त्यसवेला भनेका थिए, ‘हामीले कमलमा अन्तर्राष्ट्रिय रंगशाला बनाउन खोजेका थियौँ तर, यहाँ राजनीतिक भयो, हामीलाई काम गर्न दिइएन । अब दमकमा बन्छ, त्यो पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला ।’
प्रधानमन्त्रीको उद्घोषलगत्तै दमकमा देशकै ठूलो मदन भण्डारी रंगशाला बन्ने भएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ३५ हजार दर्शक क्षमताको देशकै ठूलो अन्तर्राष्ट्रिय रंगशाला बनाउन लागिएको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख इन्जिनियर अरुण उपाध्ययले बताएका छन् । उनका अनुसार मदन भण्डारी रंगाशालाका लागि ठेक्का आह्वान भइसकेको छ । ‘डिपिआर बनेर ठेक्का आह्वान भएको छ, यो अन्तर्राष्ट्रियस्तरको रंगशाला हुनेछ,’ इन्जिनियर उपाध्यायले भने, ‘यसको लगानीका विषयमा ठेक्का प्रक्रिया सकिएपछि मात्र खुलाइनेछ ।’
रंगशाला राष्ट्रको बहुवर्षे योजनामा समावेश छ । तीन वर्षभित्र अन्तर्राष्ट्रिस्तरको रंगशाला बनाइने बताइएको छ । रंगशाला ४० बिघा क्षेत्रफलमा बन्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । ४० बिघा क्षेत्रफलमा हम्सेदुम्से सामुदायिक वनको १९ सय २४ वटा रूख फँडानी गर्नुपर्ने डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
दमकमा बने सम्भव छैन कमलमा
राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय मापदण्डको प्रदेशस्तरीय यो आदिवासी रंगशाला बनाउन सुरु गरेको एक दशक भयो । रंगशालाको नाम परिवर्तन गर्दै मदन भण्डारी रंगशाला बनाउने निर्णयपछि भने आदिवासीले रंगशाला निर्माणमा अवरोध गरे । बर्सेनि बजेट आए पनि विवादका कारण फ्रिज भएर जाँदा रंगशाला निर्माणको काम अघि बढ्न सकेन ।
त्यही कारण प्रधानमन्त्री ओलीनिकट नेकपा नेताको पहलमा रंगशाला दमक–३ मा बनाउने प्रक्रिया अघि बढाइएको हो । दमक नगरपालिका र कमल गाउँपालिका एक–अर्कामा जोडिएका छिमेकी पालिका हुन् । आदिवासी रंगशाला निर्माणस्थलबाट अहिले बनाउन लागिएको मदन भण्डारी रंगशाला करिब १० किलोमिटरको फरकमा मात्र छ ।
दमकमा सो रंगशाला बन्दा कमलमा नबन्ने निश्चितजस्तै छ । ‘कमलमा बनाउने भनेको हो । विवादका कारण बनाउन सकिएन,’ प्रधानमन्त्री ओलीको सचिवालय सदस्य होमबहादुर थापाले भने, ‘अब त्यहाँ राज्यले बनाउँदैन । केही संघसंस्थाको सहयोगमा बने बन्न सक्छ ।’ कमल–५ मा बन्दै गरेको यो रंगशालामा केही वर्ष मदन भण्डारी रंगशालाको नाममा बजेटसमेत विनियोजन भइरहेको छ । त्यहाँ मदन भण्डारी रंगशाला बन्न नसकेपछि यही नामको रंगशाला दमकमा सारेका कारण कमलको आदिवासी रंगशाला नबन्ने निश्चित छ । यसअघि कमलमा बन्दै गरेको रंगशालालाई राखेपले सबै प्रदेशमा राज्यले बनाउँदै गरेको रंगशालाको रूपमा प्रदेश–१ को रंगशाला बनेको थियो । तर, अहिले राखेपले बोली फेरेको छ । ‘दमकमा बन्ने रंगशाला अन्तर्राष्ट्रियस्तरको हो । प्रदेशस्तरको त प्रदेश–१ मा इटहरी, धरानमा छ,’ प्रमुख इन्जिनियर उपाध्ययले भने ।
आदिवासी जनजातिमाथि राज्यको घात
समाधिस्थल उत्खनन् गर्दैगर्दा राज्यले आदिवासीलाई क्षतिपूर्तिबापत रंगशालाको नाम आदिवासी रंगशाला राख्ने सहमति गरेको थियो । तर, राजनीतिक स्वार्थका कारण ०७२ मा नाम परिवर्तन गरेर मदन भण्डारी राखियो । मदन भण्डारी रंगशालाको नाममा पटक–पटक बजेट विनियोजन भए पनि आदिवासीले रोकेका कारण काम हुन सकेन । काम नभएपछि आफ्नो निर्वाचन क्षेत्रमा आएका वेला प्रधानमन्त्री ओलीले राजनीति भएका कारण बनाउन नसकेको कारण देखाए ।
आदिवासी रंगशाला नभएर मदन भण्डारी रंगशाला बनाउन चाहन्थे प्रधानमन्त्री ओली । यसका लागि ठेक्का आह्वान पनि भइसकेको छ । जुन आदिवासी जनजातिसँगको सहमतिविपरीत छ । आदिवासी जनजातिका पुर्खाको हाडखोर एउटा खाल्डोमा हालियो । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको भावनामाथि खेल्नुभयो । हाम्रा पुर्खाको चिहान उत्खनन् गरेर रंगशाला अन्तै सार्नुभयो,’ आदिवासी रंगशाला स्मृति प्रतिष्ठानका सल्लाहकार प्रवीन चाम्लिङ भन्छन्, ‘तत्कालीन नेकपा एमाले नेतृ हालकी राष्ट्रपतिले शिलान्यस गरेको रंगशाला बनाउनु उहाँ (प्रधानमन्त्री)को पनि दायित्व थियो । तर, उहाँले अन्तै सार्नुभयो ।’ उनले आदिवासी जनजातिको नाममा जसरी पनि रंगशाला बनाउने दाबी गरेका छन् । प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई आदिवासी रंगशाला नबनाएर ओलीको विभेदकारी सोचाइ छताछुल्ल भएको बताउँछन् ।