१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार ०८:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बढी भाडा लिई यात्रु ठग्ने ३३ जना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार ०८:५७:००

- ६ गुणासम्म बढी भाडा असुली
- गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रमा धेरै ठगी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापछि अहिलेसम्म बढी भाडा लिई यात्रु ठग्ने ३३ जनालाई प्रक्राउ गरेको छ । महाशाखाले निषेधाज्ञा घोषणापछि ठगीविरुद्धको विशेष अपरेसन टोली नै परिचालन गरेको छ । विभिन्न स्थानहरूमा यात्रु ठगी गर्नेलाई दैनिक रूपमा पक्राउ गरिरहेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 

ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरेको छ । ठगी गर्नेहरूविरुद्धको अपरेसन टोलीले वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुसँग ठग्ने गरेको बताएको छ । महाशाखाका अनुसार ६ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउन्टरका कर्मचारीहरूको समेत संलग्नता पाइएको छ ।  

निषेधाज्ञापश्चात् यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने गिरोहलाई कारबाही गर्न महाशाखाले छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेको थियो । टोलीले काउन्टर तथा आसपासको क्षेत्रमा निगरानी गर्ने, यात्रुसँग गोप्य रूपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरेको महाशाखा प्रमुख भट्टराईले बताए । ‘गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीव्रता दिँदै आएका छौँ, बढी भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिन्छौँ, पछिल्लो समय काउन्टरका कर्मचारी नै यात्रु ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ,’ उनले भने । 

निषेधाज्ञा घोषणापछि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गर्दै आएको छ । 

ट्राफिक प्रहरीले काठमाडौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका वर्ष २६ का अनिल विक, बर्दिया गेरुवाका वर्ष ३७ का कृष्ण चौधरी र सोही स्थानका वर्ष ३५ का बलबहादुर थारूलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा बुझाएको छ । दाङ र नेपालगन्ज जाने यात्रुहरूसँग प्रतिव्यक्ति तीन हजारदेखि चार हजार पाँच सयसम्म भाडा लिएको कसुरमा उनीहरू पक्राउ परेका हुन् । 

त्यस्तै, ट्राफिक प्रहरीले बारा जाने यात्रुहरूसँग दोब्बरभन्दा बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका वर्ष २४ का अरबिन्दकुमार साह र सिम्रौनगढ बाराका वर्ष २५ का अफताब आलमलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भूमा बुझाएको महाशाखाले जनाएको छ । महाशाखाले तोकिएकोभन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।