राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारहरूलाई बुधबार चुनाव चिह्न प्रदान गरिएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि ६ जेठमा हुने मतदानका लागि उम्मेदवारी दर्ता गरेका तीन उम्मेदवारलाई बुधबार चुनाव चिह्न प्रदान गरिएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार बुधबार चुनाव चिह्न प्रदान गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सूर्य, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपाल समूहको समर्थनमा उम्मेदवारी दर्ता गरेका डा. खिमलाल देवकोटालाई कलम र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङलाई मादल चुनाव चिह्न प्रदान गरिएको छ ।
कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलका अनुसार देवकोटाले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्तापछि मौखिक रूपमा कलम चुनाव चिह्न माग गरेका थिए । कार्यालयले उम्मेदवारको रोजाइमा नभई निर्वाचन आयोगले तोकेको चिह्नमा चुनाव हुने जनाएको थियो । तर, देवकोटाले रोजाइकै चिह्न पाएका छन् । उनले आफूले वर्षौँदेखि कलममार्फत आन्दोलन गरिरहेको र आफू निरन्तर कमलबाटै लडाइँ गरिरहेको हुनाले चिह्न कलम राख्न चाहेको बताए ।
‘मैले मौखिक रूपमा कलम माग गरेको थिएँ,’ उनले भने, ‘म स्वतन्त्र उम्मेदवार हुँ, त्यसकारण पनि मैले छुट्टै चुनाव चिह्न मागेको थिएँ ।’ देवकोटाले बारम्बार स्वतन्त्र उम्मेदवार भएको दाबी गरिरहे पनि उनी पुराना एमाले हुन् । उनी एमालेकै तर्फबाट नीति तथा योजना आयोग बागमती प्रदेशको उपाध्यक्षसमेत भइसकेका छन् ।
गृहमन्त्री थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । उम्मेदवार दर्तापछि थापाले आफ्नो पार्टीकै जित सुनिश्चित हुने मत रहेकाले पराजित हुने सम्भावना नरहेको बताएका थिए ।
प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल तीन सय ४८ जना मतदाताले मतदान गर्नेछन् । उपनिर्वाचनमा प्रदेश सभाका एक सय १० र स्थानीय तहका दुई सय ३८ गरी कुल तीन सय ४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘चुनाव चिह्न प्रदान र अन्तिम नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई पठाइसकेको कार्यालयले जनाएको छ ।
पौडेलले काठमाडौंबाटै मतपत्र छापिएर आउने बताए । पौडेलले हेटौँडा–४ स्थित भुटनदेवी उमाविमा मतदानको व्यवस्था मिलाइएको जानकारी दिए । मतदान बिहान ९ बजेबाट दिउ“सो ३ बजेसम्म हुनेछ ।