मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २८ मंगलबार १४:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका ९३ प्रतिशत सक्रिय संक्रमित घरमै 

Read Time : > 1 मिनेट
२०७८ बैशाख २८ मंगलबार १४:१३:००

बागमती प्रदेशका सक्रिय संक्रमितमध्ये ९३ प्रतिशत घरमै बसिरहेका छन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार बागमतीमा २७ वैशाखसम्म ४९ हजार सात सय ३१ सक्रिय संक्रमितमध्ये ४६ हजार तीन सय ८० अर्थात् ९३ दशमलव २६ प्रतिशत संक्रमित होम आइसोलेसन (घरमै) बसिरहेका हुन् ।

घर अर्थात् होम आइसोलेसनमा बस्नेको संख्या अधिक भए पनि चिकित्सक र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंको दाबी छ । ‘होम आइसोलेसनमा बस्ने सक्रिय संक्रमित भए पनि स्वास्थ्य अवस्था सामान्य रहेकाहरू छन्,’ उनले भने, ‘उनीहरू चिकित्सक र स्वास्थ्यकर्मीको सम्पर्कमा हुन्छन् ।’ होम आइसोलेसनमा बस्नेको संख्या धेरै हुनु भनेको कोरोनाका कारण जटिल समस्यामा परेकाको संख्या अधिक नहुनु उनको भनाइ छ । 

२७ दिनमा ५६ प्रतिशत भेन्टिलेटर र आइसियू भरियो
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको २७ दिनमा बागमती प्रदेशमा ५६ प्रतिशत भेन्टिलेटर र आइसियू उपचाररत संक्रमितले भरिएको छ । १ वैशाखदेखि २७ गतेसम्मको अवधिमा कोरोना संक्रमितका लागि बागमतीमा  सञ्चालन गरिएको भेन्टिलेटर र आइसियू ५६ प्रतिशत भरिएको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार नाै सय ५२ आइसियू बेडमा पाँच सय ६० र तीन सय ९९ भेन्टिलेटरमा एक सय ९८ जना उपचाररत छन् ।

बागमतीमा भेन्टिलेटर र आइसियू गरी जम्मा एक हजार तीन सय ५१ बेडमध्ये सात सय ५८ जना हाल उपचाररत छन् । जसका कारण ५६ प्रतिशत बेड भरिइसकेको छ । मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार प्रदेशमा हाल ६ हजार ६ सय ७२ आइसोलेसन बेडमा तीन हजार तीन सय ५१ र सात सय ५२ एचडियूमा तीन सय ८७ उपचाररत छन् ।

२४ घन्टामा २३ को मृत्यु
सोमबारदेखि मंगलबारसम्म २४ घन्टा अवधि बागमती प्रदेशमा कोरोना संक्रमणका कारण २३ जनाको निधन भएको छ ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार २४ घन्टा अवधिमा बागमतीका ६ जिल्लामा गरी २३ जनाको निधन भएको हो । जसमध्ये काठमाडौंमा १२, ललितपुरमा ६, चितवन, काभ्रेपलाञ्चोक र दोलखामा १–१ र भक्तपुरमा दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ७६, ७८, ३८, ६३, ४२, ८६ र ६१ वर्षीय पुरुषहरू र ५५, ६९, ४२, ७० र ८४ वर्षीया महिलाहरू, ललितपुरमा ५८, ६८ र ६२ वर्षीय पुरुषहरू र ५८, ७६ र ६० वर्षीया महिलाहरू, भक्तपुरमा ७९ र ६२ वर्षीय पुरुषहरू, चितवनमा ३० वर्षीय, काभ्रेपलाञ्चोकमा ४५ वर्षीय र दोलखामा ५० वर्षीय पुरुष मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।