मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माणाधीन पूर्वाधार आयोजनासँग  ४ हजार अक्सिजन सिलिन्डर

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०९:४८:००

संक्रमितलाई अक्सिजन चरम अभाव देखिएपछि अस्पताललाई दिने तयारी  

देशभर सञ्चालनमा रहेका करिब ६ हजार पूर्वाधार आयोजनामध्ये २ हजारसँग अक्सिजन सिलिन्डर रहेको छ । ती सिलिन्डरलाई कोरोना भाइरसको दोस्रोे लहरसँगै अक्सिजनको चरम अभाव भइरहेकाले आफूसँग मौज्दात अक्सिजन सिलिन्डरहरू अस्पताललाई उपलब्ध गराउन नेपाल निर्माण व्यवसायी महासंघले अपिल गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले भने, ‘हरेक आयोजनासँग औसतमा २ वटा अक्सिजन सिलिन्डर रहेका छन् । यसअनुसार देशभर करिब ४ हजार सिलिन्डर रहेको अनुमान छ ।’ यो अभियान केही ठाउँमा थालनी भइसकेको उनले जानकारी दिए । 

निर्माण व्यवसायीका अनुसार पुल, जलविद्युत्, ट्रस्ट, स्टिललगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको छ । अहिले संक्रमितको संख्या दैनिक बढिरहेको र अक्सिजनको अभावले मानिसको ज्यान जाने अवस्था सिर्जना भएकाले आयोजनासँग भएका सिलिन्डर उपलब्ध गराउन अपिल गरेको महासंघका महासचिव रोशन दाहालले बताए । उनले भने, ‘यसले अति आवश्यकमा रहेका संक्रमितलाई उपचारका सहयोग पुग्नेछ ।’ 

महासंघले कोरोना भाइरसको दोस्रोे लहरबाट देशभर संक्रमित भएका बिरामीको उपचारका क्रममा अहिले देखिएको अक्सिजनको चरम अभावले धेरैको ज्यानसमेत गइरहेकोमा मर्माहत भएको जनाएको छ ।  

आयोजनासँग भएका सिलिन्डरहरूको लगत राखी सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन महासंघले आग्रह गरेको छ । यस अपिललाई जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरूले कार्यान्वयनमा ल्याउनेछन् । आयोजनासँग रहेका सिलिन्डरहरू कोभिड संक्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति कम गर्न सकिने महासंघले जानकारी दिएको छ ।

यस्तै, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पनि देशभर रहेका क्रसर तथा खानी उद्योगहरूले आ–आफ्ना उद्योगमा रहेका अक्सिजन सिलिन्डर (खाली वा भरी) जिल्ला तथा प्रदेशमा रेकर्ड राखी उपलब्ध गराउन अपिल गरेको छ । राष्ट्रिय विपद्को समयमा देश र जनताप्रति दायित्व पूरा गर्न महासंघले आग्रह गरेको छ । महासंघले कोभिड–१९ को दोस्रो लहरसँगै नेपालभरि रहेका स्वास्थ्य संस्थाहरूमा अक्सिजन अभाव हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।  

यसअघि नै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पनि देशभरका जलविद्युत् आयोजनासँग रहेका खाली अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरिसकेको छ । इप्पानले देशभर निर्माणाधीन आयोजनामा न्यूनतम १ हजार ५ सयदेखि २ हजार अक्सिजन सिलिन्डर रहेको अनुमान गरेको छ । कोभिड– १९ का कारण देशमा सिर्जना भएको विषम परिस्थितिलाई सहज बनाउन ऊर्जा आयोजनाहरूसँग अहिले प्रयोगमा नरहेका अक्सिजन सिलिन्डरहरूलाई आफ्नो नजिकैको जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य संस्था वा कोभिड–१९ सँग सरोकार राख्ने सरकारी निकायहरूमा उपलब्ध गराउन इप्पानले आह्वान गरेको थियो ।