मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जलेश्वर अस्पतालको भेन्टिलेटरसहितको कोभिड वार्ड
२०७८ बैशाख २६ आइतबार ०७:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा संक्रमितको मृत्यु

Read Time : > 1 मिनेट
२०७८ बैशाख २६ आइतबार ०७:४२:००

जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर

जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितको धमाधम ज्यान जान थालेको छ । भेन्टिलेटर सपोर्ट नपाउँदा महोत्तरीमा शनिबार दुई कोरोना संक्रमितले ज्यान गुमाए । भेन्टिलेटर भए पनि चलाउने जनशक्ति नहुँदा उनीहरूको ज्यान गएको हो । योसँगै महोत्तरीमा कोरोनाले मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

अस्पतालमा एक वर्षदेखि पाँचवटा भेन्टिलेटर थन्किएका छन् । तिनलाई चलाउने दक्ष जनशक्ति नहुँदा उपचार गर्न आउने बिरामीले सेवा पाएका छैनन् । भेन्टिलेटर सपोर्ट चाहिने बिरामीलाई अस्पतालले धमाधम अन्य अस्पतालमा रेफर गरिरहेको छ । शनिबार ज्यान गुमाएकालाई पनि शुक्रबार राति अन्य अस्पतालमा रेफर गरिएको थियो । 

महोत्तरी गाउँपालिका– ४ का ४२ वर्षीय पुरुषलाई भेन्टिलेटर सपोर्टको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेको थियो । तर, सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषको उपचार अभावमा ज्यान गयो ।

‘अस्पतालमा भेन्टिलेटर छ, तर जनशक्ति नभएको सञ्चालन गर्न सकिएको छैन । जसका कारण ती संक्रमितलाई हामीले सेवा उपलब्ध गराउन सकेनौँ,’ जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिशकुमार साहले नयाँ पत्रिकासँग भने, ‘उपकरण भएर पनि जनशक्ति नहुँदा मानवीय क्षति रोक्न सकेनौँ ।’

होम आइसोलेसनमा रहेका ती व्यक्ति श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार जलेश्वर अस्पतालमा भर्ना भएका थिए । त्यसपछि अस्पतालले उनलाई अक्सिजन दिएर राखेको थियो । ‘शुक्रबार राति अवस्था जटिल बन्दै गएपछि तत्कालै भेन्टिलेटर सपोर्टको आवश्यकता छ, तर यहाँ त्यो सुविधा छैन त्यसैले प्रादेशिक अस्पताल जनकपुर लैजानुस् भनेर चिकित्सकले भनेपछि हामीले जानकी हेल्थ केयर पु¥यायौँ, तर भेन्टिलेटरमा राख्न नपाउँदै उहाँको मृत्यु भयो,’ मृतकका परिवारजनले भने । शनिबार नै अर्का एक २२ वर्षीय युवकको पनि उपचार अभावमा मृत्यु भएको छ । जलेश्वरमा थप उपचार सम्भव नभएपछि उनलाई पनि जानकी हेल्थ केयर लगिएको थियो । तर, उनको पनि प्राण गयो ।

जलेश्वर अस्पतालमा पाँच थान भेन्टिलेटर छन् । तर, एक वर्षदेखि जनशक्ति अभावले ती उपकरण प्रयोग हुन सकेका छैनन् । मृतकका आफन्तले भने, ‘जलेश्वर अस्पतालमै भेन्टिलेटर भए राखिदिनुस् भनेर हामीले भनेका थियौँ । तर, चिकित्सकले भेन्टिलेटर भए पनि चलाउन जान्ने जनशक्ति छैन भने । जनकपुरसम्म पु¥याउँदा दिलो भयो, बचाउन सकिएन ।’

आधुनिक उपकरण भएर पनि सञ्चालन गर्ने जनशक्ति व्यवस्थापन गर्न नसकेकोमा स्थानीय अस्पताल प्रशासनप्रति आक्रोशित छन् । एक वर्षभन्दा बढी समयदेखि भेन्टिलेटर मेसिन उपलब्ध हुँदा पनि चलाउने जनशक्ति व्यवस्थापन गर्न नसक्नु प्रशासनको अक्षमता भएको स्थानीयको भनाइ छ । उनीहरूले अस्पताल प्रशासनको आलोचना गरेका छन् । 

जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले भेन्टिलेटरका लागि प्रदेशसँग बारम्बार जनशक्ति मागे पनि उपलब्ध हुन नसकेको बताए । ‘शुक्रबार मात्रै पनि कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीको कमी नहोस् भनेर विज्ञापन निकालेर २३ दक्ष जनशक्ति आह्वान गरेका छौँ,’ अध्यक्ष पाण्डेयले नयाँ पत्रिकासँग भने, ‘चाँडै जलेश्वरमा सुविधासहित कोरोना उपचार सेवा सुचारु हुने अवस्था बनाउनेछौँ ।’