Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार २०:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढानीलकण्ठमा देउवा र प्रचण्डबीच वान टु वान वार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार २०:२८:००

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार साँझ भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका थिए । साँझ ६ बजेबाट करिब आधा घन्टा देउवा र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो । 

प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतमा असफल बनाउने, राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन र वैकल्पिक सरकार गठनलगायत विषयमा दुई नेताबीच छलफल भएको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । स्राेतका अनुसार शुक्रबारको भेटमा देउवा र प्रचण्डले एमाले र जसपाभित्रको विवाद कसरी अगाडि बढ्छ वा टुंगिन्छ भन्ने कुराले फरक पार्ने अवस्थाबारे विश्लेषण गरेका छन् । 

सत्ताभन्दा बाहिर रहेका दलहरूले सरकारविरुद्ध गठबन्धन गर्नुभन्दा अगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय लिएपछि राजनीतिक सरगर्मी निकै बढेको छ । शीर्ष नेताहरूबीच दिनदिनै भेटघाट र छलफल भइरहँदा देउवानिवास भेटको केन्द्र बनेको छ । बिहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहितका नेताहरूले देउवालाई निवासमै गएर भेटेका थिए ।

प्रमुख प्रतिपक्ष दलको हैसियतले पनि कांग्रेसले ओलीलाई विश्वासको मत नदिने र असफल बनाउने निर्णय गरिसकेको छ । तर, कांग्रेसको भूमिकाले संसद्को अंकगणित फरक पर्ने भएपछि प्रधानमन्त्री ओलीसमेत विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव लिएर देउवानिवास पुगेका हुन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रतिनिधिसभामा अंकगणितको सुनिश्चितता खोजिरहेका देउवा अहिले ओलीकै नेतृत्वमा चुनावमा जान नसकिने भन्दै वैकल्पिक सरकार गठनका लागि सकारात्मक बनेका छन् ।