मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २० सोमबार २१:१७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्जका कारण घरबारविहीन भएका चेपाङ परिवारलाई अस्ट्रेलियाबाट बाख्रा उपहार

नयाँ पत्रिका समाचार प्रभाव

Read Time : > 2 मिनेट
२०७८ बैशाख २० सोमबार २१:१७:००

चितवनको माडीमा रहेका सीमान्तकृत चेपाङ परिवारलाई आयआर्जका लागि बाख्रा वितरण गरिएको छ । गत ३ साउनको मध्यवर्षामा चितवन राष्ट्रिय निकुञ्जले आगो सल्काएको र हात्ती लगाएर घर भत्काइएका माडी नगरपालिका– ९ कुसुमखोलाका चेपाङहरूलाई बाख्रा दिइएको हो ।

नयाँ पत्रिकामा समाचार पढेपछि पोखरा घर भई अस्ट्रेलिया बस्ने सुपक अधिकारीले फेसबुक अभियानमार्फत ४३ हजार तीन सय १८ रुपैयाँ संकलन गरी नयाँ पत्रिकाकर्मी विवेक पोख्रेललाई पठाएका थिए । उक्त रकममध्येबाट नगद तीस हजार तीन सय १८ रुपैयाँमा पाँचवटा बाख्रा खरिद गरी सोमबार माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालको उपस्थितिमा अतिविपन्न पाँच चेपाङ परिवारलाई वितरण गरिएको हो । दीपबहादुर, दानबहादुर, जित्रलाल, बमबहादुर र राजकुमार चेपाङले बाख्राका पाठी पाएका हुन् । 

चेपाङ परिवारले बाख्रा लिँदैे घर पनि बनाइदिन मेयर ढकालसँग आग्रह गरेका थिए  । ‘बाख्रा पनि पालौँला, मेलापात पनि गरौँला, अब सुखले बस्न मिल्ने गरी घर पनि बनाइदिनुस् न,’ –उनीहरूले मेयरलाई भने । बाख्रा खरिद गरी बचेको बाँकी १३ हजार रुपैयाँ माडी नगरपालिकाका मेयरमार्फत माडी नगरपालिका विपत् व्यवस्थापन शाखालाई हस्तान्तरण गरिएको छ । उक्त रकममा नगरपालिकाले थप गरी अन्य चेपाङ परिवारलाई पनि बाख्रा खरिद गरिदिने ढकालले बताए । ‘हामीले यहाँका चेपाङ समुदायको आयआर्जन क्षमता वृद्धि गर्न योजना बनाएर लागेका छौँ,’ ढकालले भने, ‘यहाँका चेपाङको जीवनस्तर परिवर्तनका लागि यो कार्य उदाहरणीय बन्नेछ ।’ उनले राष्ट्रिय निकुञ्जको अवरोधका कारण आफूले सोचेको झैँ काम गर्न नसकेकोसमेत बताए । 

कुसुमखोलामा बसिरहेका तथा विस्थापित भएका विपन्नका लागि माडी नगरपालिकाले प्रदेश सरकार र दाताको सहयोगमा पहिलो चरणमा ९० घर निर्माण थालेको थियो । ‘वडा नं. ९ को राईटोल र वडा नं. ७ को परोईखोला किनारामा घर बनाउने योजनामा निकुञ्जले अवरोध ग¥यो । राईटोलमा ४० घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्न दिएन । अझ परोईखोला किनारमा ५० घर बनाउन खोज्दा पोल नै गाड्न दिएन,’ मेयर ढकालले स्मरण गरे ।

गत ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले दानबहादुरसँगै दीपबहादुर चेपाङको घरमा आगो लगाएको थियो भने अन्य आठ घर हात्ती लगाएर भत्काइएको थियो । चेपाङका घरटहरामा आगो लगाउँदै बाँकी बस्ती पनि एक साताभित्र खाली गर्न आदेश दिएको थियो, तर १५ साउनमा सर्वोच्च अदालतले आदेश दिँदै घरटहरा नभत्काउन, भत्काइएकोमा क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, नौ महिनासम्म विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश बेवास्ता गर्दै आएको छ । घरबारविहीन बनेका परिवार कोही छाप्रो बनाएर बसेका छन् भने कोही आफन्तको शरणमा छन् ।    

कुसुमखोला क्षेत्रमा ०५३ देखि चेपाङ परिवार बस्दै आएका थिए । धादिङ र मकवानपुरबाट उनीहरू यहाँ आएका हुन् । सुरुमा त्यस क्षेत्रमा एक सय ६० चेपाङ परिवार बस्न थालेका थिए । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । ११ घरपरिवार भने कुसुमखोला क्षेत्रमै बसिरहेका थिए । 

यसअघि पनि समाचार प्रकाशित भएपछि पूर्वडिआइजी एवं हाम्रो नेपाल सुशासन अभियानका अभियन्ता रमेश खरेलले घरसँगै २० वर्षीय युवा दानबहादुर प्रजा दुनियाँको खेत जोत्दै र खन्दै हिँडेको पैसा जलेको भन्दै १० हजार रुपैयाँ नयाँ पत्रिकामार्फत सहयोग गरेका थिए । 

चेपाङका लागि निर्माणाधीन घर महिनौँदेखि अलपत्र हुँदा निकुञ्जले बनाउन दिएको छैन । तर, चेपाङकै घर आगो लागेको वडामा प्रधानमन्त्रीको निर्देशनअनुसार प्रदेश सरकारले उपलब्ध गराएको ११ लाख रुपैयाँ खर्च गरेर शिलान्यासको ११ दिनभित्रै मूर्ति राख्ने अस्थायी मन्दिर बनाएर ८ वैशाखमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो ।