१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १७ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७८ बैशाख १७ शुक्रबार १४:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झादम्पती हत्या प्रकरण : एक वृद्धालाई धरौटीमा छाडियो, अन्य पुर्पक्षका लागि थुनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १७ शुक्रबार १४:३६:oo

गत फागुन ११ गते घरबाट बेपत्ता भई चैत १२ गते सडेगलेको अवस्थामा माटोमुनि शव फेला परेका वृद्धदम्पतीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ । अन्य ६ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

महोत्तरी जिल्ला अदालतको ५ नं. बेन्चका न्यायाधीश डा. रमेशप्रसाद रिजालको एकल इजलासले उक्त आदेश दिएको हो । पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्ध मुसाफिर झा र उनकी श्रीमती गीतादेवीको हत्या आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरी यथेष्ठ सबुत प्रमाणका साथ जिल्ला अदालत महोत्तरीमा न्यायका लागि मुद्दा बुझाएको थियो ।

अदालतले पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्धा तारादेवीलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको तथा थप अभियुक्तहरू उनकै जेठा छोरा कैलाश झा, कान्छा छोरा बब्लु भन्ने विकास झालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ । 

यता सोही मुद्दामा रगत भेटिएको र अन्य विभिन्न सबुत प्रमाणको आधारमा प्रहरीले पक्राउ गरेका थप चारजना सोही ठाउँ निवासी ५२ वर्षीय रामबाबु यादव, उनका जेठा छोरा २६ वर्षीय कैलाश झा र कान्छा छोरा २४ वर्षीय  राजेन्द्र झा तथा भारत बिहार घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका– ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।

यस्तो थियो घटना :

गत फागुन १० गते सोमबार महोत्तरीको पिपरा गाउँपालिका– ५ सहोड्वानिवासी ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको घरभित्र सुतेकै कोठाबाट अपहरण भयो । मध्यरात अपहरणमा परी बेपत्ता भएका दम्पतीबारे फागुन ११ गते मंगलबार बिहान मात्र उनकी कान्छी बुहारीले थाहा पाएपछि प्रहरीलाई खबर गरियो । केही विलम्ब गर्दै प्रहरी घटनास्थलमा आएर अनुसन्धान सुरु गर्‍यो । घटनाबारे  प्रदेश प्रहरी प्रमुख डिआइजी, एसएसपी, एसपीलगायतका विभिन्न उच्च अधिकारीहरू तथा प्रहरीका विभिन्न ओहाेदाका अधिकारीहरूरु र सिआइबीद्वारा अनुसन्धान चलिरहेको थियो ।

बेपत्ता अवस्थामा रहेको वृद्ध झादम्पतीको शव प्रहरीले सडेगलेको अवस्थामा पिपरा गाउँपालिका– २ अतरात टोल जाने बाटोमा माटोमा पुरिएको अवस्थामा फेला पारेको थियो ।

बच्चाहरू खेलिरहेकाे स्थलमा मानव खप्पर देखिएपछि बच्चाहरू डराएर स्थानीयलाई खबर गरेका थिए । पछि प्रहरीलाई खबर पुगेपछि घटनास्थलमै सिआइबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको टोली आई शव भेटिएको स्थललाई नियन्त्रणमा लिएर उक्त स्थान खोतल्दै जाँदा शव बरामद भएको थियो ।