आइतबार अबेर संयुक्त राज्य अमेरिकाले भारतलाई कोरोनाविरुद्धको खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ निर्यात खुला गर्ने र अरू आपत्कालीन सहयोग उपलब्ध गराउने घोषणा गर्यो । रुस र चीनले पनि अक्सिजन प्लान्टसहित केही अत्यावश्यक सामग्री सहयोग गर्न तयार रहेको बताएका छन् । भारतले उपलब्ध गराउने भ्याक्सिनबारेको विवाद बढ्दै जाँदा भारत–बंलादेशबीच तनाव थपिएको छ । गत वर्ष पहिलो लहरको महमारीका समयमा चीनले युरोप, अफ्रिका तथा दक्षिण अमेरिकाका कैयौँ देशसहित संयुक्त राज्य अमेरिकामा कतै उपचारका आवश्यक उपकरण तथा कतै चिकित्सकीय सहयोग पठाएको थियो । मास्कलगायत उपकरण पठाएर सहयोग गर्ने चिनियाँको यो सहयोगको आलोचना हुन पुग्यो । महामारीलाई कूटनीतिक स्वार्थका लागि प्रयोग गरेको भन्दै विश्वका कैयौँ देशमा उसको आलोचना भएको थियो ।
हाम्रो पहिलो प्राथमिकता भनेकै आफ्ना नागरिकलाई यो संकटबाट बाहिर निकाल्नुमा केन्द्रित हुनुपर्छ । भ्याक्सिन कूटनीतिको दबाबमा परेर आफ्ना नागरिकलाई जोगाउन सकिएन भने त्यो नै हाम्रा लागि दुर्भाग्य हुनेछ ।
त्यस्तै सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) र भारत बायोटेकबाट उत्पादन हुने कोभिसिल्ड (अक्सफर्ड–आस्ट्राजेनेका) र कोभ्याक्सिन खोपलाई भारतले आफ्नो कूटनीतिक लाभका लागि प्रयोग गरिरहेको छ । उसले आफ्नो देशमा मागभन्दा निकै कम आपूर्ति भइरहेको समयमा पनि भुटान, नेपाल, बंगलादेशलगायत कतिपय अफ्रिकी देशमा पनि भ्याक्सिन अनुदानमै पठायो । यता भ्याक्सिन उत्पादन र प्रयोगका सवालमा रसियाली उपलब्धिलाई अविश्वसनीय बनाउन पश्चिमा देशले अभियानजस्तै चलाए । चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनका सम्बन्धमा पनि पश्चिमाहरूले त्यस्तै अविश्वास व्यक्त गरिरहे । उता चीनले पनि आफूकहाँ उत्पादित भ्याक्सिनलाई ‘सफ्ट डिप्लोमेसी’का रूपमा प्रयोग गरिरहेकै छ । यसका साथै चीनले आफ्नो देशमा आउन चाहने विदेशीले चिनियाँ खोप नै लाउनुपर्ने बताएपछि खोप कूटनीतिको मारमा परेका कतिपय भारतीय व्यापारीहरू नेपाल आएर खोप लगाउने गरेको समाचार पनि प्रकाशित भए ।
आफूकहाँ भ्याक्सिनको संकट र तेस्रो लहर चलिरहँदा पनि रसियाले उत्पादन गरेको भ्याक्सिन प्रयोग गर्न युरोपेलीहरू तयार भएनन् । त्यस्तै विश्वबजारमा आफ्नो देशका लागि औषधि, उपकरण र भ्याक्सिन सुरक्षित गर्न निकै ठूलो चलखेल पनि भयो । यतिवेला यो चक्करको सिकार भारत पनि भएको छ । पछिल्ला दिनमा नेपालसमेत यो कूटनीतिको सिकार हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । चीनले अनुदानमा दिएको खोप ल्याउन नेपालले गरेको ढिलाइले त्यसैतर्फ संकेत गर्छ ।
यसमा एउटा महत्वपूर्ण चासो के हो भने अहिले भ्याक्सिनको निकै समस्या झेलिरहेको भारतबाटै नेपालले भ्याक्सिन र अक्सिजनको आशा गरेर बस्नुभन्दा यो दबाबको कूटनीतिबाट बाहिर निस्किएर उसले आमजनताका लागि जहाँबाट उपलब्ध हुन्छ, त्यस्तैबाट जोहो गरेर भए पनि महामारीलाई रोक्न सक्नुपर्छ । हाम्रो पहिलो प्राथमिकता भनेकै आफ्ना नागरिकलाई यो संकटबाट बाहिर निकाल्नुमा केन्द्रित हुनुपर्छ । भ्याक्सिन कूटनीतिको दबाबमा परेर आफ्ना नागरिकलाई जोगाउन सकिएन भने त्यो नै हाम्रा लागि दुर्भाग्य हुनेछ । त्यसैले हाम्रो राजनीति, कूटनीतिक प्रयासको प्राथमिकतामा आफ्ना नागरिक हुन जरुरी छ ।