
गत वैशाख २ गते परेको असिनापानीबाट धनकुटाको छथर जोरपाटी गाउँपालिकामा ४८ करोडबराबरको तरकारी, फलफूल तथा नगदेबाली नष्ट भएको छ । गाउँपालिकाको कृषि शाखाले गरेको अनुगमन तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको विवरणअनुसार पालिकाको वडा नं. २, ५, ६ मा लगाइएका सबै बालीहरू र अन्य तीन वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा बढी वडा नं. ६ मा २० करोडभन्दा बढीको सब्जी तथा अन्य बाली क्षति भएको छ । त्यस्तै, वडा नं. ५ मा १३ करोड र वडा नं. २ मा ११ करोडबराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति विवरण संकलन गरेर निर्णयका लागि पालिकाको बैठकमा पेस गरेको थियो । पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरूमा पहल गर्ने निर्णय गरेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।
असिनापानीबाट काउली, बन्दाकोभी, आलु, रायोसाग, मटरकोसा, खुर्सानी, मकै, गोलभेंडा, काँक्रो, अलैँची, अम्लिसो, घाँस तथा फलफूल र केही चौपाया क्षति भएको थियो ।