१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख १० शुक्रबार ०९:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ताप्लेजुङका सामुदायिक विद्यालय छैनन् छात्रामैत्री

Read Time : > 2 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०९:१२:००

छात्राहरूलाई महिनावारीको समयमा धेरै समस्या, शिक्षक–शिक्षिकालाई आफ्ना समस्या भन्न धक मान्छन्

नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा (५) मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्न छोरीहरूका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन । 

छात्राहरूको सिकाइ उपलब्धि बढाउन छात्रामैत्री वातावरण हुनुपर्छ । तर, ताप्लेजुङका अधिकांश विद्यालय छात्रामैत्री नभएको विद्यार्थीको गुनासो छ । विद्यालय उमेरका (छात्रा) किशोरीका समस्या थुप्रै हुन्छन् । तर, उनीहरू आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई निर्धक्क भन्न सक्दैनन् । जसले गर्दा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्ने गरेको छ ।

मोती माविकी एक छात्रा नाम नबताउने सर्तमा आफूलगायत साथीहरूलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउँछिन् । ‘महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ । विद्यालयमै प्याड पाइन्छ । तर, साथीहरू शिक्षकसँग माग्न सक्नुहुन्न,’ ती छात्राले भनिन्, ‘कक्षाकै एकजना छात्रालाई प्याड वितरणको जिम्मा दिएको भए साथीहरूले माग्न सक्थे । शिक्षक तथा शिक्षिकासँग म महिनावारी भएँ, मलाई प्याड दिनुस् भन्न सकिँदैन ।’

भानु जनमाध्यमिक विद्यालयकी छात्रा कमला दाहालले महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको बताइन् । ‘किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ’, उनी भन्छिन्, ‘कुनै साथीलाई महिनावारीको समयमा पेट दुखाइ हुन्छ, यस्तो वेला विद्यालयमा आराम कक्ष भएको भए राम्रो हुन्थ्यो । कोही साथी घरबाटै तनाव बोकेर आउँछन् । उनीहरूका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ।’

सामुदायिक विद्यालयमा छोरीको संख्या धेरै हुने भएकाले शौचालय पनि किशोरीका लागि पर्याप्त नभएको उनीहरूको गुनासो छ । एकैपटक चार–पाँचजना शौचालय छिर्नुपर्ने बाध्यता छ । ‘विद्यालयमा १२ सयदेखि १३ सय छात्रा छन्, तर हाम्रा लागि केही मात्र शौचालय छन्,’ उनले भनिन्, ‘महिनावारीको समयमा फोहोर शौचालय प्रयोग गर्न कठिन हुन्छ । महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने ? पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ ।’ छिटोभन्दा छिटो सबैलाई पर्याप्त हुने गरी शौचालयको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

आफ्ना समस्या खुलेर राखे  सहयोग गर्ने प्रतिबद्धता
तर, विद्यालयका शिक्षिकाहरू भने छात्राले आफ्ना समस्या खुलेरै बताए आफूहरूले सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलेरै आउन शिक्षिका मैया थापाले आग्रह गरिन् । ‘महिला भएकाले छोरीका समस्या कस्ता हुन्छन् भन्ने हामीलाई थाहा छ । उनीहरूलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौँ,’ उनले भनिन्, ‘भएका सुविधा दिने, उनीहरूका कुरा सुन्ने, उनीहरूका मनमा गलत कुरा नखेलून् भनी सचेत छौँ ।’

शिक्षिका थापा आफूले किशोरीसँग साथीजस्तै व्यवहार गर्ने गरेको दाबी गर्छिन् । ‘उनीहरूका लागि आराम कक्ष, खाजा खाने छुट्टै ठाउँ हुन आवश्यक छ । सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्,’ उनले भनिन्, ‘पहाडी क्षेत्र भएकाले हिँडेर आउनुपर्ने बाध्यता विद्यार्थीमा छ, कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ । उनीहरूका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु ।’

महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम आफूले गरिरहेको थापाले बताइन् । ‘किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरूलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन्,’ उनले भनिन् ।

विद्यालयलाई छात्रामैत्री बनाउन आफूले पहल गर्ने भानुजन माविका व्यवस्थापन समितिका अध्यक्ष सागर मादेनले बताए । ‘छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ,’ उनले भने, ‘अब छोरीहरूका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । विद्यालयमा स्वास्थ्य सचेतनाका लागि नगरपालिकासँग पहल गर्छौं ।’

फुङलिङ नगरपालिकाले छात्राहरूका लागि विद्यालयमा पर्याप्त सुविधा दिन नसकेको बताएको छ । ताप्लेजुङका सबै गाउँपालिका तथा नगरपालिकाले भने छात्राहरूका समस्या समाधानका लागि सामुदायिक विद्यालयमा महिलालाई चाहिने सेनेटरी प्याड वितरण गरेको जनाएका छन् ।