जुम्लाको तिला गाउँपालिका २ मा रहेको सबै ८५ घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाको मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलयात्राबाट पुगिने गाउँ तलबाट हेर्दा सबै पहाडैपहाडजस्तो देखिन्छ । तर, त्यही गाउँमा पुग्दा भने केही फराकिलो जमिन भेटिन्छ । पहाडको काखैमा घरैघरले भरिएको गाउँको मुख्य आम्दानीको पेसा भनेकै भेडापालन हो । यही भेडापालन व्यवसायीबाट छोराछोरी पढाउने, औषधिमुलो गर्ने र लुगाफाटो फेर्नेलगायतका आवश्यकता पूरा हुने स्थानीय किसानहरू बताउँछन् ।
गाउँमा सरकारी जागिर खाएका मानिसहरू औँलामा गन्न सकिन्छ । गाउँमा भेडापालन नगरेका कोही पनि छैनन् । २० भन्दामाथि भेडा रहेको धेरै घर छन् । ८५ घरधुरी भएको गाउँमा झन्डै एक हजारजति भेडा छन् ।
अहिले भेडाको मासु प्रतिकेजी ९ सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुने तिला गाउँपालिका २ लर्मीगाउँका भक्तबहादुर रावतले जानकारी दिए । त्यस्तै, भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी प्रतिगोटा ४ हजारदेखि ४ हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । अघिल्लो वर्ष गाउँबाट एक व्यक्तिले सात लाखबराबरको राडीपाखी बिक्री गरेको थियो । गाउँमा भेडापालन व्यवसाय भए पनि चरनक्षेत्रको अभाव रहेको छ । जताजतै खनजोत गरेपछि चरनक्षेत्रको अभाव भएको हो । अर्काेतर्फ लामो समयदेखि खडेरीका कारण सुक्खा हुँदा भेडापालन व्यवसाय प्रभावित हुँदै आएको स्थानीय बताउँछन् ।
सोही गाउँका अर्काे स्थानीय बिर्खबहादुर रावत भन्छन् ‘भेडापालन व्यवसाय यहाँको पुख्र्यौली पेसा यो ।’ भेडापालन व्यवसाय यहाँको मुख्य आम्दानीको स्रोत भएकाले स्थानीयले व्यवसाय छोड्न सकेका छैनन् । उनले भने ‘यही व्यवसायबाट आयआर्जन गर्ने गरेका छौँ । बालबच्चा बढाउने, खानलगाउन, औषधिमुलो गर्ने यही व्यवसायबाट टार्ने गरेका छौँ ।’
पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार भेडापालन व्यवसायी कृषक जुम्लामा बढ्दो क्रममा छन् । अझ तिनै तहका सरकारले यो व्यवसायलाई महत्वका साथ कार्यक्रम सञ्चालन गरेको खण्डमा जुम्ला मासुमा आत्मनिर्भर हुने सम्भावना रहेको छ । यो पेसा व्यवसाय चुनौती भए पनि कृषकले भेडापालन व्यवसाय छाडेका छैनन् ।