मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २९ आइतबार
  • Thursday, 19 December, 2024
क्याटारिना डे अल्बुक्वर्की
२o७७ चैत २९ आइतबार o९:४५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पानी र सरसफाइ आधारभूत मानवअधिकार

Read Time : > 2 मिनेट
क्याटारिना डे अल्बुक्वर्की
नयाँ पत्रिका
२o७७ चैत २९ आइतबार o९:४५:oo

सफा पानी, सरसफाइ र स्वच्छताजस्ता आधारभूत मानव अधिकारको महत्व कोभिड– १९ ले राम्रोसँग स्मरण गराइदिएको छ 

संयुक्त राष्ट्रसंघले स्वच्छ पानी र सरसफाइ (वाटर एन्ड स्यानिटेसन)लाई पनि मानवअधिकारका रूपमा पहिचान गरेको १० वर्ष भयो । अहिले विश्वलाई तहसनहस बनाइरहेको कोभिड–१९ को भाइरसविरुद्ध प्रतिरक्षामा ह्यान्डवास र स्यानिटेसन (हातधुने र सरसफाइ) मुख्य छन् । यो महामारीबाट हामीले सिकेको सबभन्दा महत्वपूर्ण पाठ के छ भने हामी हाम्रा समाजका सबैभन्दा कमजोर र जोखिममा रहेकाहरूभन्दा स्वस्थ छैनौँ । र, विश्वव्यापी जनसंख्याको ठूलो हिस्साको अझै पनि सफा पानी, सरसफाइ र स्वच्छता (हाइजिन)मा पहुँच छैन । 

हाम्रो अन्तर्आबद्धताले सबैको सुरक्षित र स्वस्थकर भविष्यका निम्ति हामी सबै पृथ्वीवासीको पानी र सरसफाइमा पहुँच सुनिश्चित हुनुपर्ने विषय यो विश्व स्वास्थ्य दिवसमा अभूतपूर्व रूपले अत्यावश्यक देखिएको छ । महामारीको कहर बर्सनुअघि नै पनि विश्वको ४० प्रतिशत मानिसको घरमा हात धुने आधारभूत सुविधा थिएन । विश्वका लगभग आधा स्कुलका बालबालिका पानी र साबुनको पहुँच बाहिर थिए । अधिकांश सरकारले यो महामारीमा सार्वजनिक हात धुने सुविधामा वृद्धि गरे पनि कोभिड–१९को आर्थिक क्षतिले विश्वभरकै स्कुल, घर र स्वास्थ्य संस्थाका मौजुदा समस्यालाई थप मलजल गरेकोछ ।

वास्तविकता के छ भने कोभिड–१९ को महामारीले २० वर्षमा पहिलोपटक विश्वव्यापी गरिबीमा वृद्धि गरेको छ । यसले सन् २०२१ सम्ममा थप १५ करोड मानिसलाई चरम गरिबीमा धकेलिदिन सक्छ ।

विश्वभरका चारमध्ये एक स्वास्थ्य संस्थामा सफा पानीको सुविधा छैन, १० मध्ये एकमा सरसफाइ सेवा छैन, र तीनमध्ये एक उपचारस्थलमा हातलाई स्वच्छ बनाउने सुविधा छैन । तथ्यांकले वास (वाटर, स्यानिटेसन एन्ड हाइजिन) सुविधा पर्याप्त भएका स्वास्थ्य संस्थामा पनि अग्रपंक्तिका स्वास्थ्यकर्मीहरू आममानिसको तुलनामा कोभिड–१९ को संक्रमणमा पर्ने सम्भावना १२ गुणा बढी हुने देखाउँछ ।

महामारीअघि पनि विश्वको ४० प्रतिशत मानिसको घरमा हातधुने आधारभूत सुविधा थिएन,  विश्वका लगभग आधा स्कुलका बालबालिका पानी र साबुनको पहुँचबाहिर थिए

सफा पानी र सरसफाइमा अपर्याप्त पहुँचले विशेषगरी लाखौँ महिला तथा बालबालिकाको जीवनलाई जोखिममा धकेलेको त छ नै लैंगिक असमानता, जलवायु परिवर्तन सहनको क्षमता, शान्ति, शिक्षालगायत विकासका लक्ष्यहरूसमेत प्रभावित गर्दै छ । संयुक्त राष्ट्रसंघका अधिकांश दिगो विकास लक्ष्य (एसडिजी)हरू कुनै न कुनै रूपले पर्याप्त एवं सुरक्षित पानी तथा सरसफाइमा पहुँचसँग निर्भर छन् । अझ तिनलाई जलवायु परिवर्तन, खडेरी, मडराइरहेको वित्तीय संकटजस्ता अतिरिक्त दबाबबाट पनि हे¥यौँ भने त अवस्था अझै खराब देखिन्छ । पानी र सरसफाइको पहुँचमा अभाव एकदमै अलग विषय होइनन् । यो त प्रणालीगत चुनौती तथा असमानताका जालोको एउटा हिस्सा मात्रै हो । राजनीतिक इच्छाशक्ति नहुदाँ र न्यून लगानीले यो समस्यालाई थप चर्काएको छ ।

महामारीअघि समेत यो क्षेत्रमा दाताको सहयोग घटिरहेको थियो, घरेलु खर्चमा बढ्दो दबाबका बीच यो क्षेत्रको सहयोगमा थप गिरावटको अपेक्षा गर्न सकिन्छ । यद्यपि, जर्मनी र स्पेनजस्ता केही मुलुकले भने आफ्नो अन्तर्राष्ट्रिय सहयोगलाई कायमै राखेका छन् । जर्मनीले आफ्नो अन्तर्राष्ट्रिय विकास सहयोगलाई प्रतिरोधात्मक उपायमा बढी केन्द्रित गरेको छ । जोखिम घटाउने र स्वास्थ्यको जगेर्नाको स्वास्थ्य रणनीति अख्तियार गरेको । को–अपरेसन फन्ड फर वाटर एन्ड स्यानिटेसनमार्फत स्पेनले कमजोर छिमेकी एवं ग्रामीण क्षेत्रमा सफा पानी तथा सरसफाइ सुविधामा जोड दिएको छ । स्वच्छता र हातधुने उपायलाई प्रवद्र्धन गर्दैे अभियान अँगालेको छ । 

यस्तो पहलकदमी लिनेमा दाता मुलुक मात्रै पनि छैनन् । जिम्बाबे सरकारले पिउनेपानी, सरसफाइ र स्वच्छतामा पहुँच सुधारका लागि १३ लाख ८० हजार डलर खर्चिने प्रतिबद्धता गरेको छ । मालावीका शिक्षामन्त्रीले महामारीले बन्द स्कुल खोल्न छुट्याएको ६० लाख डलरलाई साबुन किन्न र पानीका पम्प गाड्न खर्चिने प्रतिबद्धता गरेको छ । कोभिड–१९ हामीले सामना गरेको पहिलो महामारी पनि होइन, यो अन्तिम पनि हुनेछैन । भविष्यमा संकट सामना गर्ने क्षमता अहिले हामीले लिने पहलकदमीमै भर पर्ने हुन् । यो महामारी भावी विश्वको निर्माणका लागि एउटा भव्य अवसर पनि हो ।

यो अवसर छोप्न हामीले कुनै ढिलाइ गर्नुहुँदैन । व्यवसाय र विद्यालयले आफ्नो काम गर्ने तौरतरिका बदलिरहेका छन्, आशा गरौँ पानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा पनि हामीले नवीन उपाय निकाल्नेछौँ । सफलताका लागि, यसको पक्षमा राजनीतिक इच्छाशक्ति उच्चस्तरको बनाउनुपर्छ, बहुपक्ष्ीाय संलग्नता बढाउनुपर्छ र सुशासन र वित्तलाई सबल बनाउनुपर्छ । पानी र सरसफाइ सुशासन र मानवअधिकारको अनुभूतिका विषय हुन् । यी अधिकार सरकारले यो समयलाई स्वास्थ्य जोखिम घटाउनमा, स्वास्थ्य प्रणाली सबल बनाउनमा र भावी महामारी रोक्नमा उपयोग गरे मात्रै हासिल हुनेछन् ।  

(अल्बुक्वर्की ‘स्यानिटेसन एन्ड वाटर फर अल’की सिइओ हुन्)
अलजजिराबाट