मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २० शुक्रबार ०६:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र रावलपछि ओलीले  गरे भुसाल र पाण्डेलाई निलम्बन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २० शुक्रबार ०६:०९:००

देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको अभियोगमा सोमबार वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेका एमाले अध्यक्ष केपी ओलीले तीन दिनमै अरू दुई नेतामाथि पनि कारबाही गरेका छन् । उनले बिहीबार स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म पार्टी सदस्यताबाट निलम्बन गरेका छन् । भुसाल र पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले दुवैलाई बिहीबार निलम्बनको कारबाही गरेका हुन् । 

ओली समूहका केन्द्रीय सदस्य सहभागी बैठकले भुसाल, पाण्डेसहित वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ८ चैतमा स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले १२ चैतमा प्रतिस्पष्टीकरणसहित जवाफ बुझाएका थिए । नेता नेपाल र रावललाई ओलीले १७ चैतमा पार्टी सदस्यताबाट ६ महिना निलम्बनसहितको कारबाही गरेका छन् । तर, पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ नदिएको भन्दै १६ चैतमा दोस्रोपटक स्पष्टीकरण सोधिएकोमा १७ चैतमा उनीहरूले प्रतिस्पष्टीकरणसहित जवाफ फर्काएका थिए । 

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने चेतावनी दिँदै ओलीले पत्रमा दुवैलाई सच्चिनका लागि अन्तिम मौका दिइएको जनाएका छन् । ‘एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू (प्रतिनिधिसभा सदस्यताबाहेक) तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ,’ कारबाहीको पत्रमा छ ।

त्यस्तै, पत्रमा भुसाल र पाण्डेमाथि पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सद्भाव र सहकार्यलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला गर्ने काम गरेको तथा उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको उल्लेख गरिएको छ । स्पष्टीकरणमा सोधिएअनुसार कमजोरी स्वीकार नगरेको, आत्मसमीक्षा नगरेको, आत्मालोचना नगरेको, आपराधिक मनोवृत्ति देखिएकोजस्ता आरोपसमेत उनीहरूलाई लगाइएको छ ।

निलम्बन पत्रमा आपराधिक क्रियाकलाप स्विकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने तथा विगतमा भए–गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो उल्टै प्रतिस्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको दाबी छ ।

घनश्याम भुसालकाे जवाफ- ओलीको बर्बादीको दुनियाँसँग माफी माग्छु 
नेता भुसालले कारबाहीपछि केपी ओलीले अध्यक्षका रूपमा गरेको बर्बादीको दुनियाँसामु माफी माग्ने बताएका छन् । ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दै छन्, हामीले सामना गरौँला–गर्नेछौँ । तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि म दुनियाँसँग माफी माग्छु,’ भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

त्यस्तै, भुसालले ओली गुट अहिले राज्यदोहनमा लाग्ने गिरोहमा परिणत भइसकेको दाबी पनि गरेका छन् । ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु,’ यो उनी आफैँले कबुल गरेको जीवनदर्शन हो । एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्यदोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु,’ भुसालले भनेका छन् ।