१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नेपाली टोलीका कप्तान, प्रशिक्षक र बंगलादेश टोलीका कप्तान, प्रशिक्षक काठमाडौँमा जारी थ्री नेसन कप प्रतियोगिताको फाइनलमा पुगेपछि तस्बिर खिचाउँदै । तस्बिर : नयाँ पत्रिका
२०७७ चैत १६ सोमबार ०९:२०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाँच वर्षपछिको फाइनल र गोलविहीन यात्रा

Read Time : > 1 मिनेट
२०७७ चैत १६ सोमबार ०९:२०:००

१५ नोभेम्बर ०१६ मा एएफसी सोलिडारिटी कप जितेपछि फेरि कुनै पनि प्रतियोगिताको फाइनलमा पुग्न  नसकेको नेपाली सिनियर टोलीले पछिल्लो सात खेलमा एक गोलसम्म गर्न सकेको छैन

नेपाली सिनियर राष्ट्रिय फुटबल टोली पाँच वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्दै छ । त्यसैले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धामा उत्रँदाको माहोल फरक हुने निश्चित छ ।

नेपाली टोलीका लागि यो फाइनल १५ नोभेम्बर २०१६ मा एएफसी सोलिडारिटीकपको उपाधि जितेयताकै पहिलो हो । यो उपाधि नेपालले जितेको एसियाली फुटबल महासंघ (एएफसी)को पहिलो प्रतियोगिता थियो । मलेसियाको कुचिङस्थित सरावत स्टेडियममा मकाउलाई १–० ले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । तर, नेपालले त्यसपछि फेरि यो उपलब्धिलाई पछ्याउन सकेको छैन ।

सोलिडारिटिकप जितेपछि नेपालको यू–२३ टोलीले मंसिर ०७६ मा काठमाडौंमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि पनि जित्यो । तर, सिनियर टोलीले फाइनलसम्मको यात्रा तय गर्नसमेत सकेन । त्यसैले आमन्त्रित प्रतियोगिता नै भए पनि सोमबारको फाइनल खेलमा नेपालले सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । त्यसअघि नेपाललाई आफ्नो एउटा खराब यात्राले भने पछ्याउनेछ । 

नेपाली सिनियर टोली पछिल्लो १८ महिनाभन्दा लामो समयदेखि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा जितविहीन छ । नेपालले यो अवधिमा सात अन्तर्राष्ट्रिय खेल खेल्दा (किर्गिस्तानको यू–२३ टोलीसहित) एक गोलसम्म गर्न सकेको छैन । 

बंगलादेशविरुद्ध पनि लगातार तीन खेलमा गोलविहीन
बंगलादेशविरुद्ध नै पनि नेपालले जित हात पार्न नसकेको लामै समय भइसकेको छ । नेपालले बंगलादेशलाई पछिल्लोपटक सन् २०१८ मा उसकै मैदानमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा पराजित गरेको थियो । समूहगत चरणको अन्तिम उक्त खेलमा नेपालले २–० को जित हात पारेको थियो । त्यसपछि झन्डै ३० महिना बितिसकेको छ । 

यद्यपि, त्यसपछि नेपालले बंगलादेशसँग खेलेको तीनमध्ये तिनै खेलमा नेपालले जित हात पार्न सकेको छैन । नेपालले बंगलादेशसँगको पछिल्लो तीनमध्ये एक खेलमा पराजय व्यहोरेको छ भने दुई खेल बराबरीमा टुंगिएको छ । त्यसैले बंगलादेशसँगको सोमबारको खेल नेपालका लागि अवसर र चुनौती दुवै हुनेछ । जितको नतिजाले नेपालले पाँच वर्षपछि पहिलो उपाधि मात्रै जित्नेछैन ।

समग्रमा सात अन्तर्राष्ट्रिय खेल र बंगलादेशविरुद्धको तीन खेलको जितविहीन र गोलविहीन यात्रालाई पनि टुंग्याउनेछ । त्यसका लागि गोल गर्नैपर्छ, जुन नेपालका लागि मुस्किल देखिँदै आएको छ । सफलताअघि नेपालका लागि चुनौती आफ्ना स्ट्राइकरहरूसँग छ । नेपाल जारी प्रतियोगितामा एक गोल पनि नगरी फाइनलमा पुगेको छ । नेपालले किर्गिस्तानको यू–२३ टोली र बंगलादेशसँगको अघिल्लो दुवै खेलमा गोल गर्न सकेको छैन । 

त्यसअघि नेपालले विश्वकप २०२२ र एसियाकप २०२३ को छनोटअन्तर्गतको तीनसहित बंगलादेशविरुद्ध गत नोभेम्बरमा भएको दुई खेलमा पनि गोल गर्न सकेको छैन । नेपाली टोलीका कप्तान किरण चेम्जोङ फाइनलमा गोल सम्भव हुनेमा आशावादी छन् । ‘गोल भइरहेको छैन । तर, हामीले नियमित रूपमा अवसर सिर्जना गरिरहेका छौं’, कप्तान किरणले आइतबार आयोजित प्रिफाइनल कन्फरेन्समा भने, ‘फाइनलमा गोल सम्भव हुने आशा छ ।’ 

यद्यपि, उपाधि भिडन्तमा बंगलादेशले कडा टक्कर दिने निश्चित छ । प्रशिक्षक जेम्स डेले शनिबारको खेलमा आफ्ना धेरै खेलाडीलाई आराम दिएका छन् । सोमबार ती खेलाडी मैदानमा फर्कनेछन् । त्यससँग नेपालले बंगलादेशी प्रशिक्षक जेम्सको रणनीतिको पनि सामना गर्नुपर्नेछ ।