मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ६ शुक्रबार
  • Thursday, 19 December, 2024
महालक्ष्मी आचार्य
२o७७ चैत ६ शुक्रबार o९:४८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के हो पोस्टपार्टम डिप्रेसन ?

Read Time : > 2 मिनेट
महालक्ष्मी आचार्य
नयाँ पत्रिका
२o७७ चैत ६ शुक्रबार o९:४८:oo

पहिलोपटक आमा बनेकी रमिला काखमा रहरलाग्दो बच्चा खेलाउन पाएर अत्यन्त खुसी थिइन् । उनीसँगै परिवारका सबै सदस्य खुसी थिए । तर, यो खुसी रमिलाको मनमा धेरै दिन टिक्न सकेन । उनी भन्छिन्, ‘बच्चा जन्मेको एक हप्ता पनि नबित्दै एक्कासि मन उदास हुन थाल्यो । विनाकारण रुन मन लाग्ने, अरू बोलेको सुन्दा पनि झिँजो लाग्ने, बच्चा स्वस्थ छ, तर पनि बच्चालाई केही नराम्रो हुन्छ कि भन्ने मनमा शंका लाग्ने, त्यतिकै डर लाग्ने हुन थाल्यो ।’ यो समस्या रमिलाको मात्र नभई संसारका ८० प्रतिशत महिलामा देखिने समस्या हो । बच्चा जन्मेको दुई–तीन दिनदेखि दुई–तीन हप्तासम्म यस्ता लक्षण धेरै सुत्केरी महिलामा देखिन सक्छ । यसलाई पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ । यो समस्या केही समयपछि आफैँ ठीक भएर जान्छ । तर, पोस्टपार्टम ब्लुज कहिलेकाहीँ निकै लामो समयसम्म रही जटिल रूप पनि लिन सक्छ । यसैलाई सुत्केरीपछिको डिप्रेसन भनिन्छ । तथ्यांकअनुसार २० प्रतिशत महिलामा पोस्टपार्टम डिप्रेसन हुने गरेको पाइन्छ । 

पोस्टपार्टम डिप्रेसनका लक्षण : मन उदास हुन्छ । कुनै पनि कुरामा मन खुसी हुँदैन । बच्चाप्रतिको मोह कम हुँदै जान्छ वा आफ्नो बच्चालाई अरू कसैले केही नराम्रो गर्दै छ भन्ने शंका उत्पन्न हुन्छ, अरूप्रति आशंकित भइरहिन्छ । विनाकारण रुन मन लाग्छ । रुने कारण खोजिरहने र छिनछिनमा रोइरहने प्रवृत्ति हुन्छ । सानो कुरामा पनि चिढिने, रिसाउने, झर्कने, खान मन नगर्ने वा धेरै खाने हुन्छ । धेरै खाइरहे पनि शरीरमा शक्ति हराएको महसुस हुन्छ । निद्रामा गडबडी (धेरै सुत्ने वा निद्रा नै नलाग्ने) हुन सक्छ । आफ्नो बच्चालाई पनि स्याहार गर्न सक्दिनँ, म आमा बन्न योग्य छैन भन्ने भावना मनमा आउन सक्छ । एक्लोपनको महसुस हुन्छ । कसैसँग नबोली एक्लै टोलाएर बस्ने हुन्छ । आफ्नो जीवन आफैँलाई बोझ लाग्न थाल्छ, बच्चालाई हानि गर्ने वा आफ्नो जीवन समाप्त (आत्महत्या) गर्ने सोच मनमा आउन सक्छ । 

यी लक्षणमध्ये कम्तीमा कुनै पाँचवटा लक्षण दुई हप्ताभन्दा बढी समयसम्म देखिए पोस्टपार्टम डिप्रेसन भएको हुन सक्छ । यस्तो डिप्रेसनका पछाडि मुख्य रूपमा दुई कारण लिन सकिन्छ ।

शारीरिक कारण : गर्भावस्थाको समयदेखि नै महिलाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । ठूलो मात्रामा हर्मोन परिवर्तन भएको हुन्छ । प्रसवको समयमा एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको अत्यधिक श्राव हुने थायरोइड र कर्टिसोलजस्ता हर्मोन अधिक उत्पादन हुने हुँदा शरीरमा थकान, सुस्तीपन र मनमा उदासी छाउँछ । प्रसवपछि बिस्तारै यी हर्मोनको उत्पादनमा सन्तुलन आउनुपर्नेमा कहिलेकाहीँ सन्तुलन बिग्रन गई सुत्केरी महिला डिप्रेसनको अवस्थामा पुग्छन् । 

पहिलोपटक आमा बन्ने सात महिलामध्ये एउटी महिलालाई डिप्रेसनको समस्या देखिने गरेको अध्ययनले देखाउँछ । यो एउटी महिला तपाईं–हाम्रै घरकी छोरी–बुहारी पनि हुन सक्छन् ।

संवेगात्मक कारण : प्रसवपछि महिलाको शरीर कमजोर हुन्छ । खानपान तथा आरामको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । आफ्नो क्षमताअनुसार सबैले राम्रो खानपान र आरामको पनि प्रबन्ध मिलाएकै हुन्छन् । तर, हर्मोनको परिवर्तनले पैदा गरेको मानसिक तनावको विषय सबैलाई जानकारी हुँदैन र यस विषयमा जानकारी लिने चासो राखेको पनि पाइन्न । महिलालाई सबैभन्दा बढी तनाव हर्मोनको कारणले हुन्छ । त्यसबाहेक आर्थिक वा पारिवारिक सम्बन्धको कारणले पनि तनाव बढाउन सक्छ । तनाव लामो समयसम्म रहन गएमा त्यसले डिप्रेसनको रूप लिन्छ । 

कस्ता महिलालाई पोस्टपार्टम डिप्रेसनको बढी सम्भावना ? : विशेषगरी, सुत्केरी समयमा महिलाको शरीरमा हर्मोनको परिवर्तन भारी मात्रामा हुने हुनाले हर्मोनको अवस्था सामान्य नहँुदासम्म जो–कोही महिलालाई केही समयका लागि समस्या आउन सक्छ । धेरैजसो बिस्तारै हर्मोनको सन्तुलन हुँदै गएपछि सामान्य अवस्थामा फर्किन्छन् । तर, पहिलो गर्भको समय वा गर्भ हुनुअघि डिप्रेसन भएको थियो, परिवारका कुनै सदस्यलाई डिप्रेसन वा कुनै पनि मुड डिस्अर्डरसम्बन्धी समस्या थियो भने त्यस्ता सुत्केरी महिलालाई पोस्टपार्टम हुने बढी सम्भावना रहन्छ । साथै, गर्भावस्थामा कुनै रोग लागेको, बच्चामा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा, जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेर स्याहार गर्ने समस्या आएमा, घरपरिवार वा श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो नभएमा पनि पोस्टपार्टम डिप्रेसनको खतरा रहन्छ । विशेषगरी, पोस्टपार्टम डिप्रेसन पहिलोपटक आमा बन्ने महिलालाई हुने गरे पनि पहिलोपटक बच्चा जन्माउँदा परिवारमा आर्थिक समस्या आइपरेको वा रोजगारी गुमाउनुपरेको थियो भने दोस्रोपटक बच्चा जन्माउँदा त्यसको असरले मनमा तनाव पैदा गर्न सक्छ । तनावको कारण डिप्रेसन हुन सक्छ । 

यसले पार्ने असर : पोस्टपार्टम डिप्रेसनको असर मुख्यतः बच्चाको आमालाई नै पर्छ । यसको कारणले आमाको स्वास्थ्य अवस्था बिग्रन्छ । उपचार नपाएमा यसको असर लामो समयसम्म रहन सक्छ । यो समस्या डिप्रेसनकै अवस्थामा नरहेर अन्य डिस्अर्डरको रूपमा देखा पर्न पनि सक्छ । आमाको डिप्रेसनको असर बच्चामाथि प्रत्यक्ष पर्छ । बच्चामा व्यावहारिक तथा संवेगात्मक समस्या देखिन सक्छ । बच्चा धेरै रोइरहने हुन सक्छ । खान, सुत्नमा समस्या आउन सक्छ । आमामा डिप्रेसनको कारण बच्चामा बोलीको विकास पनि ढिलो हुन्छ । 

समयमै रोगको पहिचान गर्न सकेमा उपचार गर्न सजिलो हुन्छ । बिरामी आफूलाई के भइरहेको छ भन्ने कुरामा अनभिज्ञ हुन सक्छ, यस्तो अवस्थामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने हुन्छ । सबैको शरीर एकनासको हुँदैन । महिलाले बच्चा जन्माउनु सामान्य कुरा हो, तर यही सामान्य कुरा हरेक महिलाका लागि सामान्य नहुन सक्छ । पहिलोपटक आमा बन्ने सात महिलामध्ये एउटी महिलालाई डिप्रेसनको समस्या देखिने गरेको अध्ययनले देखाउँछ । यो एउटी महिला तपाईं–हाम्रै घरकी छोरी–बुहारी पनि हुन सक्छे । यसैले सुत्केरी महिलालाई डिप्रेसनको यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञसँग परामर्श लिनुपर्छ । 

(आचार्य मनोपरामर्शदाता हुन्)