मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार १६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली नै हुन् : झलनाथ खनाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार १६:५५:००

एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लाने दुष्प्रयास गरेको दाबी गरेका छन् । नेपाल–खनाल समूहले ललितपुरमा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रूपले अगाडि बढ्ने पहलकदमी लिनुपर्नेमा ओलीले गुट भेलाबाट पार्टीको विधानविपरीत निर्णय गरी पार्टीलाई विसर्जनमा लाने दुष्प्रयास गरेको बताएका हुन् । 

ओलीको यस कदमप्रति पार्टीपंक्तिभित्र आक्रोश पैदा भएको उनको भनाइ छ । उनले भने, ‘जुन ढंगले पार्टी अध्यक्षले सबै नेताहरूसँग छलफल गरेर, विचार–विमर्श गरेर, पार्टी केन्द्रीय कमिटीको बैठक राखेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने, पहलकदमी लिनुपर्ने आवश्यकता थियो त्यो कुरा उहाँले गर्न सक्नुभएन । उल्टै २८ फागुनमा उहाँले बालुवाटारमा गुट बैठक राखेर जुन ढंगले एकलौटी रूपमा आफ्ना मान्छेहरूलाई मात्रै राखेर निर्णयहरू गर्नुभो, त्यो निर्णय पार्टी विधानअनुरूप पनि छैन । पार्टीको सोचअनुरूप पनि छैन । महाधिवेशनले गरेका निर्णयअनुरूप पनि छैनन् । यसरी केपी ओलीले जुन ढंगले काम गर्नुभएको छ हाम्रो पार्टीलाई विभाजनतर्फ, विघटनतर्फ र विसर्जनतर्फ लाने उहाँले दुष्प्रयास गर्नुभएको छ, यो दुष्प्रयासका विरुद्ध सिंगो देशमा, सिंगो कम्युनिस्ट आन्दोलनमा, हाम्रो पार्टीव्यापी रूपमा एउटा आक्रोश पैदा भएको छ । रोष पैदा भएको छ । र, त्यो रोषलाई ठोस रूपमा राजनीतिक रूपले अभिव्यक्ति दिनका लागि र एउटा ठोस दिशा दिनका लागि हामीले आजको यो कार्यकर्ता भेला आयोजना गरेका छौँ ।’

खनालले पार्टीभित्र गुटबन्दी केपी ओलीले नै सुरुवात गरेको जिकिर गरे । ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडेको खनालको आरोप छ । एमाले, माओवादी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भए पनि एकतालाई भंग गर्ने काम गरेको उनले बताए । 

उनले भने, ‘पार्टी जुन ढंगले एकीकृत भएको थियो । त्यो एकीकृत पार्टीलाई जसरी एकीकरणको दिशामा लानुपर्ने थियो, हामीले दुई महिना, तीन महिनाभित्रमा एकीकरण सम्पन्न गरिसक्ने पार्टी एकीकरण गरेका थियौँ । तर, तीन महिना त परै जाओस् तीन वर्ष पुग्दा पनि पार्टी एकीकरण हुन सकेन । आखिर त्यो पार्टी जुन ढंगले एकीकृत भएको थियो त्यसलाई बचाउन पनि सकिएन । केपी ओलीले जुन ढंगले तीन वर्ष नेतृत्व गर्नुभो यो नेतृत्व वास्तवमा दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गयो । पार्टीका कार्यदिशा, नीति, सिद्धान्तअनुरूप भएनन् । पार्टी दक्षिणपन्थी भड्काउमा भासिँदै गयो । पार्टी अनेक षड्यन्त्र नेतृत्वको षडयन्त्रकारी चालबाजीमा फस्न थाल्यो । पार्टीमा व्यापक रूपले गुटबन्दी बढ्दै गयो । हामीले गुटबन्दी समाप्त पार्नुपर्छ भनेर आवाज उठायौँ । तर, केपी ओलीले गुट सुरु गर्नुभयो । यो पार्टीमा गुटबन्दी सुरु गर्ने नेता अरू कोही होइन, केपी ओली हो । मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी रूपमा उहाँले जुन ढंगले गुटबन्दीलाई मौका दिनुभो त्यसले हाम्रा पार्टीका विधिहरू मिचिँदै गए । पद्धतिहरू मिचिँदै गए । अनुशासन मिचिँदै गयो । अराजकता बढ्दै गयो । स्वार्थी भावनाहरू बढ्दै गए । विभिन्न ढङ्गले पार्टीमा वैचारिक काम शून्य हुन थाल्यो । पार्टीमा सैद्धान्तिक काम शून्य हुन थाल्यो । पार्टीको राजनीतिक कार्यदिशा पनि बदलिन थाल्यो, त्यो दक्षिणपन्थी भासतर्फ गयो । र, संगठनात्मक क्षेत्रमा अराजकतै अराजकता सिर्जना हुन थाले ।’

उनले प्रधानमन्त्री ओलीले पार्टीको नीति, सिद्धान्तअनुरूप सरकार सञ्चालन नगरेको, निर्वाचनमा गरिएको घोषणापत्रअनुरूपको काम गर्न नसकेको तथा भ्र्रष्टाचार उन्मूलनमा कुनै कदम चाल्न नसकेको आरोप लगाए ।