मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार १६:४८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्– सबै समस्याको जड केपी ओली हुन्, भेला ध्वंस गर्न होइन, एकताबद्ध बनाउन हो (भिडियोसहित)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार १६:४८:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन् । नेपाल–खनाल समूहले ललितपुरमा आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै नेपालले पार्टीलाई ध्वंस गर्न नभई एकताबद्ध बनाउन भेला गरिएको स्पष्ट पारे । 

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पु¥याउनका लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गरे । उनले भने, ‘हामीले जुन बाटो समातेका छौँ, जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ, त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि हो । त्यसो हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले एमालेभित्रको विवादको जड अध्यक्ष केपी ओली भएको दाबी गरे । ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उनको भनाइ छ । ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने वेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिई हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उनले बताए । 

ओलीले मदन भण्डारीको बिरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना, उहाँमा रहेको मूल पक्ष इमानदार कार्यकर्ता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाब मन पर्दैन । त्यसो हुनाले यी सबै चिजले समस्या खडा ग¥यो । हामीले भनेको कुरा के हो भने, पार्टी एकतालाई तपाईंले स्वार्थसिद्धिको साधन बनाउनुभयो, त्यो काम नगर्नुस् । पार्टी र कार्यदिशाको उल्लंघन गर्ने काम गर्नुभयो, त्यो पनि नगर्नुस् । जबजलाई तपाईंले थाती राख्नुभयो । जबज सिध्याउने काम तपाईंले गर्नुभयो । तपाईंले समाजवादउन्मुख जनताको जनवाद मान्नुभयो, तर जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई तपाईंले त्यो थोपर्ने काम गर्नुभो । आज तपाईं जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ । तपाईं आज आएर मदन भण्डारीको बिरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ । यस्ता भ्रममा तपाईंहरू कोही नपर्नुहोला ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरूको सेवा मात्रै गरेको आरोप पनि लगाए । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उनको भनाइ छ । ओलीमा नेकपा (एमाले)को नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि सुरुदेखि नै गुटगत प्रवृत्ति मात्रै भएको उनले बताए ।

उनले भने, ‘विधि, पद्धतिको सधैँ उल्लंघन गर्नुभयो । संगठनात्मक सिद्धान्तको सधैँ उल्लंघन गर्नुभयो । पार्टीको निर्णय र सहमतिको पालना गर्नुभएन । त्यसको उल्लंघन गर्नुभयो । सहमतिको सधैँ रटान लगाउने, तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनुभयो । र, जबजको कुरा गर्ने, राष्ट्रिय पुँजीको विकासको गफचाहि गर्ने, तर दलाल पुँजीवादको सेवा गर्नुभयो । विदेशी तत्वको सेवा मात्रै गर्नुभयो । पार्टीको लोकप्रियता कामलाई आफ्नो एकल लोकप्रियता र बहादुरीको रूपमा बुझ्नुभयो । आफ्नो गल्तीको दोष अरूलाई थोपर्ने सधैँभरि प्रयास गर्नुभयो । सधैँभरि पूर्वाग्रही एवं पक्षपातपूर्ण व्यवहार गर्नुभयो । र, असहमतप्रति निषेधात्मक व्यवहार गर्नुभयो । तपाईं एकताको कहिल्यै पनि पक्षपाती हुनुभएन । झुट र अपव्याख्याको खेती गर्नुभयो सधैँभरि । एक–अर्कालाई नेताहरूलाई लडाउने–भिडाउने काममा एक–अर्कामा भ्रम पैदा गराउने यही काममा जुटिरहनुभयो । सरकारी ओहोदा र स्रोत–साधनको चरम दुरुपयोग गर्नुभयो । प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानलाई नै उहाँले अपव्याख्या गर्नुभयो र त्यसलाई समाप्त पार्ने कोसिस गर्नुभयो । पार्टी निर्णय र सहमति भएकाहरूको पनि विपरीत काम गर्न थाल्नुभयो । यस अर्थमा उहाँमा सुरुदेखि गुट सञ्चालन गर्ने गुटगत प्रवृत्ति भयो । उहाँमा समाजवादको गन्तव्यमा जाने कुनै चिन्तन देखिँदैन ।’

नेपालले आफूहरूको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको भएको जिकिर गरे । आफूहरूको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमानदारिताको अग्निपरीक्षा उत्तीर्ण गर्न तयार रहेको पनि बताए । उनले भने, ‘यो लडाइँ पदको लडाइँ होइन । यो सिद्धान्तको लडाइँ हो । यो नीतिको लडाइँ हो । यो विधिको लडाइँ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइँ हो । कस्तो पार्टी निर्माण गर्ने विषयसँग जोडिएको लडाइँ हो । त्यस हुनाले विचारसँग जोडिएको छ । उद्देश्यसँग जोडिएको छ । लक्ष्यसँग जोडिएको छ । यो इमानदारीसँग पनि जोडिएको छ । यो आन्दोलनको निष्ठासँग पनि जोडिएको छ । यी सबैसँग जोडिएको हुनाले यसको अग्निपरीक्षा हुनेछ । त्यो अग्निपरीक्षामा उत्तीर्ण हुन हामी तयार छौँ । अरूलाई पनि चुनौती दिन्छौँ यदि कम्युनिस्ट आन्दोलन अगाडि बढाउन चाहनुहुन्छ भने बताउनोस् कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ ?’