लगातार तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजार सूचक नेप्से घट्ने क्रममा नै रहेर बजार बन्द भयो । यद्यपि नेप्से घट्ने दर केही सुस्ताएको छ । यस दिन नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर २ हजार ४ सय बिन्दुमा बसेको छ ।
बजारको गिरावटमा सुस्ती आए पनि लगानीकर्ता भने ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । बजारमा कारोबार रकम दैनिक रूपमा घटिरहेको छ । लगानीकर्ताहरूले केही महिनायता मूल्य परिवर्तनबाट शतप्रतिशतभन्दा धेरै प्रतिफल पाएकाले अझै केही समय नाफा बुकिङमा नै लाग्दा पनि बजार स्थिर हुँदै जाने लगानीकर्ता तथा विश्लेषक विष्णु बस्यालको विश्लेषण छ ।
यद्यपि, नेप्से २ हजार ४ सयनजिक आएर केही बढ्ने प्रयासमा देखिएकाले बजारमा स्थिरता आउने संकेत मान्न सकिने उनी बताउँछन् । बजार उच्चदरमा घटबढ हुनेभन्दा पनि स्थिरता आउँदै बढ्न थाल्ने अनुमान लगानीकर्ताको छ । कतिपय लगानीकर्ता कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणको पर्खाइमा सेयर होल्ड गरिरहेका समेत देखिन्छन् ।
बुधबार ‘क’ वर्गको कम्पनीको मापक सूचक ‘सेन्सेटिभ इन्डेक्स’ भने ० दशमलव ०२ अंकले बढेर ४ सय ४५ बिन्दुमा पुगेको छ । लगानीकर्ताहरू तुलनात्मक रूपमा सबल कम्पनीहरूमा लगानी बढाइरहेको यसले देखाउँछ । बुधबार ४ अर्ब १० करोड रुपैयाँ कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये सातवटा समूहका सूचक यस दिन बढेको छ । सबैभन्दा धेरै साल्ट ट्रेडिङ सूचीकृत व्यापारमूलक समूह र होटेल तथा पर्यटन समूह बढेका छन् । यी समूहको २ प्रतिशतदेखि ८ दशमलव १५ प्रतिशतसम्म वृद्धि भएको हो । सबैभन्दा धेरै घट्नेमा निर्जीवन बिमा कम्पनी समूह रहेको छ । यो समूह १ प्रतिशतसम्म घटेको हो ।
यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा दूरसञ्चार कम्पनी रहेको छ । कम्पनीको ५५ करोड ७१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्राइस्ट्रचर बैंकको (निफ्रा) २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै मूल्य बढ्नेमा चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो लमिटेड, नेपाल हाइड्रो डेभलपर्स छन् । यिनको मूल्यमा ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो । सबैभन्दा धेरै मूल्यले घट्नेमा रैराङ हाइड्रो पावर, शिखर इन्स्योरेन्स, मिथिला लघुवित्त रहेका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतका दरमा घट्न पुगेका हुन् ।