प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
संसदीय मामिला पत्रकार समाजले सोमबार आयोजना गरेका कार्यक्रममा ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तक विमोचन गर्दै उनले संसदीय गतिविधिलाई जनतामाँझ पु¥याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरे।
‘हामीले सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकेका छौँ। त्यही आधारमा कार्यविधिसमेत बनाइसकिएको छ’, सभामुख घिमिरेले भने। शासन प्रणालीका केही कमजोरीलाई देखाएर व्यवस्थामाथि नै प्रश्न उठाइएका बेला यसबारे जनतालाई स्पष्ट पार्ने जिम्मेवारी सञ्चार क्षेत्रको भएको उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताए। उनले भने, ‘पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो।’
अध्यक्ष दाहालले आलोचना जहिले पनि रचनात्मक हुनुपर्ने र त्यसले दिने सन्देश पनि सकारात्मक हुनुपर्ने धारणा राखे।
उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने र जनतालाई दिने सूचना दुरुस्त हुनुपर्ने उल्लेख गरिन्। सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपालको संसदीय इतिहासलाई समृद्ध बनाउन सचिवालयले अनुसन्धानका कार्य सुरु गरेको जानकारी गराए।