सर्वोच्च अदालतको फैसलालगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्र एमालेको नवौँ महाधिवेशनपछिको शक्तिसन्तुलन ब्युँताउने गरी संगठित गर्ने दिशामा अघि बढेको छ । अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकअगावै नेपाल समूहले केन्द्रीय कमिटी, संसदीय दल, प्रदेश र जिल्ला तहसम्म पूर्ववत् समूह संगठित गर्ने प्रयास थालेको छ ।
मंगलबार समूहनिकट सांसदहरूको भेला गरेका नेपालले त्यसक्रममै बुधबार केन्द्रीय कमिटी सदस्यको भेला बोलाएका छन् । केन्द्रीय सदस्यलाई बदलिएको परिस्थितिबारे ब्रिफिङ गरेलगत्तै समूहबाट प्रतिनिधित्व गर्ने जिल्ला नेतृत्वको बेग्लै भेला गर्ने नेपाल समूहको तयारी छ । यद्यपि, भेलाको मिति भने टुंगो लगाएको छैन । सोमबार बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यको भेलाले एमालेमै यथावत् क्रियाशील हुने, तर ओलीको व्यक्तिवादविरुद्धको संघर्ष र एजेन्डालाई निरन्तर उठाउने निष्कर्ष निकालेको थियो ।
मंगलबारको भेलामा सांसदहरूले ३ जेठ ०७५ अघि अर्थात् २ जेठसम्म केन्द्रदेखि स्थानीय तह तथा जनवर्गीय संगठनमा रहेको नेतृत्व जस्ताको–तस्तै ब्युँताएर अघि बढ्ने गरी प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसमक्ष प्रस्ताव गर्न सुझाब दिएका थिए ।
‘हामीले अब एमालेको संगठनात्मक संरचनालाई २ जेठ ०७५ को अवस्थामा फर्काउनुपर्छ, त्यसअनुसारको निर्णय होस्, कतिपय ठाउँमा व्यक्ति नभएको अवस्थामा बेग्लै कुरा हो,’ सांसदहरूको सुझाब उद्धृत गर्दै केन्द्रीय सदस्यसमेत रहेका गणेश पहाडीले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय सचिवालयले पनि स्थायी समितिका लागि त्यस्तै एजेन्डा ल्याउने गरी गृहकार्य गरोस् भन्ने हामीले सुझाब दिएका छौँ ।’ स्थायी कमिटी बैठकको एजेन्डा गृहकार्य गर्न एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार सचिवालय बैठक बोलाएका थिए । तर, अध्यक्ष ओलीको निर्देशनपछि बैठक स्थगित भएको छ ।
भेलामा वरिष्ठ नेता नेपालले तत्कालीन एमाले ओलीको एकल निर्णयबाट विघटन भएको र अहिले अदालतको निर्णयबाट ब्युँतिएका कारण कसैले मनोबल कमजोर पार्नुपर्ने कुनै कारण नरहेको प्रस्ट्याएका थिए । त्यस्तै, उनले पार्टी एकता विधिसम्मत ढंगले नगरिएका कारण पनि नेकपामा थुप्रै विकृति, विसंगति आए पनि अहिले विगतको समीक्षासहित एमालेलाई पुनः बलियो बनाउने र ओलीको व्यक्तिवादविरुद्ध अन्तर्संघर्षका लागि उच्च मनोबलका साथ प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका करिब ४५ सांसद सहभागी भेलामा पहाडीसहित परशुराम मेघी गुरुङ, भवानी खापुङ, झपटबहादुर रावल, राजबहादुर बुढा, पवित्रा निरौला खरेल, दीपकप्रकाश भट्टसहित एक दर्जनभन्दा बढीले सुझाब राखेका थिए । अधिकांशले केपी ओली र ओली प्रवृत्तिविरुद्धको अन्तर्संघर्षबारे नेतृत्वले बदलिएको परिस्थितिमा प्रस्ट पार्नुपर्ने र ठोस अवधारणासहित अघि बढ्दा उपयुक्त हुने सुझाब दिएका थिए ।
एमालेको नवौँ महाधिवेशनबाट १४ जना पदाधिकारीसहित एक सय ८५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका थिए । महाधिवेशनपछि मनोनीतसँगै दुई सयजनाको केन्द्रीय कमिटीमा नेपाल पक्षमा ९० जना स्पष्ट खुलेका छन् । १४ मध्ये पदाधिकारी आधा नेपाल पक्षका छन् । नेकपा बनेपछि वरिष्ठ नेता झलनाथ खनालको साथ नेपाल पक्षलाई छ भने उपाध्यक्ष वामदेव गौतम भने अहिले तटस्थ भूमिकामा छन् । ६५ सदस्यीय पोलिटब्युरोमा ओली–नेपाल पक्ष हाराहारी छ । जिल्ला कमिटीको बहुमत नेतृत्व नेपाल पक्षको छ भने २२ जनवर्गीय संगठनको नेतृत्वमध्ये अधिकांश ओली पक्षका थिए ।