![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bank2021-03-08-08-17-26.jpeg)
बैंकहरूमा रहेको अधिक तरलता प्रशोचन हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर बढ्न थालेको छ । बैंकहरूले पुँजी कम हुँदा एक–आपसमा दिने सापटी (अन्तरबैंक सापटी)को ब्याजदर करिब आठ महिनापछि १ प्रतिशतमाथि आइपुगेको हो । २२ जेठ ०७७ मा अन्तरबैंक ब्याजदर १ दशमलव शून्य ३ रहेकोमा त्यसयता यो दर घट्दै शून्य दशमलव शून्य १ प्रतिशतसम्म आइपुगेको थियो । गत शुक्रबार २१ फागुनमा यो दर बढेर १ दशमलव ४९ प्रतिशत पुगेको हो ।
वाणिज्य बैंकहरूमा मात्रै अन्तरबैंक सापटी कारोबार एक महिनाको अवधिमा १ सय ३४ प्रतिशतले वृद्धि भएर ४७ अर्ब पुगेको छ । गत पुसमा १३ वाणिज्य बैंकले २० अर्ब २५ करोड अन्तरबैंक सापटी लिएकोमा माघमा १२ वटाले कुल ४७ अर्ब ४६ करोडबराबरको सापटी लिएका छन् ।
हाल तरलतामा दबाब नदेखिए पनि बैंकहरूको तरलताको व्यवस्थापन भइसकेको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् । ‘पुसमा लामो समयसम्म अधिक तरलता २ खर्ब रुपैयाँँमाथि रह्यो,’ भट्टले भने, ‘अहिले भने करिब ५० अर्ब हाराहारी प्रणालीमा अधिक तरलता छ भने राष्ट्र बैंकले प्रशोचन गरेर राखेको ९ अर्ब छ ।’
राष्ट्र बैंकले ८५ अर्ब पुनर्कर्जा जारी गरेकाले बैंकहरूमा निक्षेपबाहेक यो रकम पनि स्रोतका रूपमा रहेको छ । यस आधारमा हेर्दा करिब ३ खर्ब अधिक तरलतामा २ खर्बबराबर कर्जा लगानीमा भइरहेको वृद्धिले नै व्यवस्थापन गरेको हो । तरलता संकटकै अवस्थामा आइनसकेको भए पनि यसले निक्षेप र कर्जाको ब्याजदर वृद्धिको चक्र क्रमशः सुरु हुन सक्ने देखिन्छ ।
‘अहिले पनि तरलता सहजकै अवस्थामा छ,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘तर, बिस्तारै बैंकहरूमा रहेको अधिक तरलता घट्न थालेको हो, सरकारको खर्च बढ्दै गएमा भने तरलता संकटको अवस्था आउने देखिँदैन ।’ अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात ७७ प्रतिशत हाराहारी नै रहेकाले तत्काल नै लगानीयोग्य पुँजीमा दबाब नपरे पनि ब्याजदरहरू सामान्य दरमा वृद्धि भने हुन सक्ने उनी बताउँछन् ।
गत चैतमा निक्षेपको औसत ब्याजदर करिब ७ प्रतिशत र कर्जाको औसत ब्याजदर करिब १२ प्रतिशत थियो । अन्तरबैंक ब्याजदर भने यो अवधिमा करिब ५ प्रतिशत हाराहारी थियो । तर, बैंकहरूको कर्जा जान छाडेसँगै गत माघमा निक्षेपमा ब्याजदर घटेर करिब ५ प्रतिशत र कर्जाको ब्याजदर करिब ९ प्रतिशतमा सीमित भएको छ । अन्तरबैंक ब्याजदर भने माघमा १ प्रतिशतमुनि नै रहेकोमा फागुन दोस्रो सातामा १ प्रतिशतमाथि पुगेको हो ।
गत चैतपछि भने केही समय अन्तरबैंक ब्याजदर उच्च भएको थियो । ग्राहकहरूले कोभिडका कारण साथमा रकम राख्ने प्रवृत्ति बढाएपछि र राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात पूर्ववत् अवस्थामा नै रहेपछि अन्तरबैंक कारोबार र ब्याजदरमा वृद्धि भएको देखिन्छ । चालू आवको मौद्रिक नीतिले भने अनिवार्य नगद मौज्दात ४ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा सीमित पारेको छ । यसले वैशाखपछि प्रणालीमा तरलता सहज बनाएको थियो ।