मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १८:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूह लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १८:०१:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक शक्तिसँगको सहकार्यमा जोड दिएको छ । 

बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लागेका सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरू भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको छ, ती सबै साथीहरूलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान गर्ने निर्णय गरेका छौँ ।’

बैठकले आत्मालोचनासहित रूपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्षसमेत निकालेको श्रेष्ठले बताए । उनले भने, ‘पार्टी एकताको पक्षमा हामी सधैँ छौँ । हिजो पनि थियौँ । पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान पर्‍याे भनेर बहस गर्दा ओलीजी संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्यत हुनुभयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनुभयो । हामीले त्यसको विरोध गरेका हौँ र अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ । तर, पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रूपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डा खाली कुराका कुरा हुन सक्छ ।’

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधानअनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको श्रेष्ठले बताए । उनले भनेऽ ‘हाम्रो पार्टीले केपी ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्याे भनेर भनिसकेको छ । अहिलेसम्म उहाँले दिनुभएको छैन । त्यसो नभएको अवस्थामा पनि अदालतकै फैसलाअनुसार छिट्टै प्रतिनिधिसभाको बैठक बस्दै छ र प्रतिनिधिसभाको बैठकबाट संविधानअनुसार नै अरू प्रक्रिया अगाडि बढ्नेछ ।’

बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहरसमेत गरेको छ । अदालतको निर्णयले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षासमेत गरेको ठहर बैठकले गरेको उनले बताए । उनले भने, ‘हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर, बदर गरेर प्रतिनिधिसभालाई पुनर्स्थापित गर्ने जो फैसला सुनाएको छ त्यसलाई पार्टीले ऐतिहासिक फैसला भनेको छ । यसले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ । यसले देशलाई प्रतिगामी षडयन्त्रको ठूलो चक्रव्यूहमा राजनीतिक संकटको अध्यारो सुरुङतिर लैजाने खतरा थियो त्यो खतराबाट पनि देशलाई बचाउन योगदान पुर्‍याएको छ । त्यसैले सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलालाई पार्टी स्थायी कमिटीले उच्च मूल्यांकन गरेको छ ।’