मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण ११ मंगलबार
  • Saturday, 12 July, 2025
२o७७ फाल्गुण ११ मंगलबार o६:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यो वर्ष पनि चीनले कैलाश यात्रा खुला नगर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण ११ मंगलबार o६:२३:oo

नेपाली र भारतीय तीर्थयात्रीसहित विदेशी नागरिकले यो वर्ष चीनको तिब्बतस्थित कैलाश मानसरोवर दर्शन गर्न नपाउने भएका छन् । कोभिड–१९ का कारण चीनले गत वर्षदेखि विदेशीलाई तिब्बत प्रवेशमा लगाएको रोक कायमै छ । चीनले अपनाएको कडा स्वास्थ्य प्रोटोकलका कारण तिब्बतमा एकजना विदेशी नागरिकबाहेक कसैलाई पनि कोरोना भेटिएन । सुरक्षा संवेदनशीलता त छँदै छ, कोभिडको महामारीबाट जोगिएको तिब्बतले यो वर्ष स्वास्थ्यका कारण पनि कैलाशका लागि खुला नगर्ने संकेत दिएको छ । 

‘सन् २०२१ मा विदेशी नागरिकलाई कैलाश मानसरोवर यात्राका लागि खुला हुने सम्भावना कम छ, अहिलेसम्म बेइजिङबाट कुनै संकेत आएको छैन,’ काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘विश्वमा कोभिडको अवस्था हेर्दा विदेशीहरूले यो वर्ष कैलाश जाने अवसर पाउने सम्भावना सजिलो छैन । कैलाश यात्रामा लगाएको रोक खुला गर्ने विषयमा हाम्रो सरकारले निर्णय गरिसकेको छैन ।’ चीनले यसबारे अहिलेसम्म औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन । 

कैलाश यात्राका लागि हरेक वर्षको मेदेखि सेप्टेम्बरसम्म मुख्य सिजन मानिन्छ । कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष जितेन्द्र बस्नेतका अनुसार नेपालबाट हरेक वर्ष नेपाली, भारतीय र अन्य मुलुकका गरी करिब २० हजार कैलाश मानसरोवर जाने गरेका छन् ।

नेपालगन्जबाट हुम्लाको हिल्सा भएर तिब्बतको ताक्लाकोट हुँदै एउटा रुट तथा रसुवागढीबाट केरुङ हुँदै कैलाश मानसरोवर जाने अर्को रुट कार्यान्वयनमा थियो । ‘कोभिड–१९ को महामारीका कारण गत वर्ष यहाँबाट कैलाशमा यात्रा गराउने सम्भावना भएन, यो वर्ष के हुन्छ भन्ने खबर आएको छैन,’ बस्नेतले भने । 

चिनियाँ जनमुक्ति सेनाको नियन्त्रणमा कैलाश मानसरोवर
चीनको सुरक्षाका लागि तिब्बत संवेदनशील मानिन्छ भने कैलाश क्षेत्र तिब्बतको पनि अति संवेदनशील क्षेत्र मानिन्छ । भारतको उत्तरी सीमा लद्दाख तथा उत्तराखण्डसँग जोडिएको कैलाश क्षेत्रमा चीनले ठूलो संख्यामा सेना तथा सैन्य उपकरण तैनाथ गर्दै आएको छ ।

 चिनियाँ अधिकारी भन्छन् ‘सुरक्षा र स्वास्थ्य संवेदनशीलताका कारण यो वर्ष पनि विदेशी नागरिकलाई कैलाश यात्रा खुला हुने सम्भावना ’

 पर्यटन व्यवसायी भन्छन् ‘कैलाश यात्रा ठप्प हुँदा हजारौँ नेपालीको रोजीरोटी खोसियो’

वेलावेलामा चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा हुने झडपका कारण भारत र चीन दुवै सीमा क्षेत्रमा सतर्क छन् । कैलाशलाई चीनले निषेधित क्षेत्र (रेस्ट्रिक्टेड जोन) घोषणा गरेको छ । चिनियाँ जनमुक्ति सेनाको नियन्त्रणमा रहेको कैलाशमा विदेशी नागरिकको यात्राको अनुमति तथा कानुनी बन्दोबस्त चीन सरकारको फरेन एक्सचेन्ज सेन्टरले मिलाउँदै आएको छ ।

‘ल्हासामा रहेको फरेन एक्सचेन्ज सेन्टरको कार्यालय मार्च पहिलो सातामा खुलेपछि यो वर्ष (२०२१) कैलाश यात्राका लागि चीनले अनुमति दिन्छ कि दिँदैन भन्ने जानकारी आउँछ,’ अध्यक्ष बस्नेतले भने, ‘त्यो अफिससँग समन्वय गरेर हामी यताबाट कैलाशयात्रीहरू जाने बन्दोबस्त मिलाउने गरेका छौँ ।’ कैलाश मानसरोवर जाने भारतीय यात्रीहरूका कारण नेपालगन्ज तथा हुम्लाका होटेल चलेका थिए ।

व्यवसायीका अनुसार अहिले होटेल व्यवसाय पनि ठप्पजस्तै छ । कैलाश यात्राका लागि ४० भन्दा बढी पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालनमा छन् । कैलाश यात्रामा जाने भारतीय र नेपाली तीर्थयात्रीको खानपिन र सहयोगका लागि हरेक सिजनमा करिब पाँच हजार नेपाली संलग्न हुँदै आएको बस्नेतले बताए । ‘कैलाश यात्रा ठप्प हुँदा सबैको रोजीरोटी खोसिएको छ,’ उनले भने ।