मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार २१:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीको सिआइबीलाई एसिया इन्भाइरोमेन्टल अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार २१:५८:००

वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेकोमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संयुक्त राष्ट्र संघबाट एसिया इन्भाइरोमेन्टल इन्फोर्समेन्ट अवार्ड प्राप्त गरेको छ । राष्ट्रसंघीय वातावरण कार्यक्रमले बुधबार सो अवार्डको घोषणा गरेको हो । 

सिआइबीमा वन्यजन्तुसम्बन्धी अपराध अनुसन्धान गर्दै आएका प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीलाई सो अवार्ड दिने निर्णय भएको हो । कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न सफल भएकोमा उनीहरूलाई सो अवार्ड दिने निर्णय भएको हो । 

भारतबाट नेपाल हुँदे चीनमा बाघका अखेटोपहार तस्करी गर्ने गिरोहका नाइके तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।  सो गिरोहले चीन लैजान लागेको पाँचवटा बाघको छाला, ३६ वटा चितुवाको छाला र एक सय १३ केजी हड्डी ०६२ सालमा रसुवामा बरामद भएको थियो । 

उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेपछि कुन्जोक भेन फरार थिए । गत १० असारमा बौद्धबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । इन्टरपोलले समेत रेड नोटिस जारी भएका उनलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो । हाल उनी थुनामा छन् । 


वन्यजन्तु तस्करीविरुद्ध काम गर्नेलाई सो अवार्ड प्रदान गरिएको हो । जसमा नेपाललाई पहिलो नम्बरमा राखिएको छ । अवार्ड पाउने नायब निरीक्षक जोहरीले यसअघि अब्राहक कन्जरभेसन अवार्ड प्राप्त गरेका थिए ।

वन्यजन्तुसम्बन्धी अपराधमा सिआइबीले गरेका अप्रेसनको मूल्या‌ंकन गरी सो अवार्ड दिने निर्णय भएको सिआइबीका डिआइजी सहकुल थापाले बताए । वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान गर्न सिआइबीमा डिएसपीको नेतृत्वमा छुट्टै पिलर स्थापना गरी काम हुँदै आएको छ ।