मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार १५:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेतृत्वलाई महाधिवेशनको नयाँ मिति तोक्न युवाहरूको अपिल 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार १५:०६:००

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई नयाँ मिति तोकेर महाधिवेशनमा होमिन युवाहरूले अपिल गरेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको कांग्रेस केन्द्रीय कार्यसमितिलाई युवाहरूले विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्ने प्रक्रिया ढिलो हुँदै जाँदा त्यसले दलको लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास खस्किँदै जाने’ भन्दै उनीहरूले एक भएर अघि बढ्न नेतृत्वलाई अपिल गरेका हुन् ।

अपिलमा पार्टीको आन्तरिक संगठनमा बाँकी रहेका समायोजनका काम एवं विवादित जिल्लाहरूलाई कडा निर्देशन दिएर सबै विवाद समयमै टुंग्याउन आवश्यक रहेको भन्दै पार्टीको विधान र संविधानले दिएको अधिकारअनुसार पार्टीको महाधिवेशनको काम अघि बढाउन माग गरिएको छ ।

उनीहरूले अन्य पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठबन्धन गर्न आवश्यक नरहेको भन्दै त्यसैले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटोमा दृढ हुन आग्रह गरेका छन् । विगतमा पार्टीले आयोजना गरेका विरोध सभाहरूमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा नभएको भन्दै उनीहरूले अबका दिनमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । 

साथै अहिलेको परिस्थितिलाई बुझेर कांग्रेसलाई एकढिक्का बनाउने गरी केन्द्रीय समितिले आचारसंहित लागू गर्नसमेत विज्ञप्तिमा अपिल गरिएको छ । उनीहरूले व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउने गरी पार्टीका सबै नेतालाई एउटै मालामा गाँस्नुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यसमितिको बैठकले सबैसँग बृहत् छलफल गरेर कांग्रेस प्रतिनिधिसभा पुनस्र्थापनामा जाने या चुनावमा जाने भन्ने विषयमा ठोस निर्णय सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् । 


यस्तो छ अपिल
कांग्रेस केन्द्रीय कार्यसमितिलाई हाम्रो अपिल
श्री नेपाली कांग्रेस,
केन्द्रीय कार्यसमिति 
नेपाली काग्रेस लोकतन्त्रलाई संस्थागत गर्दै कानुनी सर्वोच्चतालाई प्रमुख प्राथमिकतामा राखेर लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । यो धारणामा कुनै द्विविधा हुनु जरुरी छैन । नेपाली कांग्रेसले इतिहासका प्रत्येक कालखण्डमा हरेक राजनीतिक अप्ठ्यारो परिस्थितिमा देशलाई सही मार्गनिर्देश गर्दै आएको कुरा सबैमा जग जाहेर नै छ । अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक एवम् प्रतिगमनउन्मुख कदमविरुद्ध कांग्रेस सडक आन्दोलनमा छ । पार्टीको केन्द्रीय समितिको सर्वसम्मत निर्णयअनुसार विभिन्न चरणको आन्दोलन गर्दै आएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा अहिले नेकपा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिन्छ । तसर्थ अरू पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठवन्धन गर्न आवश्यक छैन । त्यसैले कांग्रेसले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको छ । तर, विगतमा पार्टीले आयोजना गरेका विरोध सभाहरूमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा छैनन् । अबका दिनमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ । कम्युनिस्टहरूले देश चलाउन नसकेर प्रतिनिधिसभा विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एकढिक्का बनाउने गरी केन्द्रीय समितिले आचारसंहित लागू गर्न पनि आवश्यक देखिन्छ । व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउने गरी पार्टीका सबै नेताहरूलाई एउटै मालामा गाँस्नु अहिलेको आवश्यकता हो । 

कांग्रेसको १४औँ महाधिवेशनको नजिक छ । जसरी पनि अब कांग्रेसले महाधिवेशनको नयाँ मिति टुंगो लगाएर महाधिवेशनमा होमिनुपर्नेछ । लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्ने प्रक्रिया जति ढिलो हुँदै जान्छ त्यो दलको लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास खस्किँदै जान्छ । त्यसैले आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यो कुरा मध्यनजर गर्दै ठोस निर्णय गर्नैपर्छ । पार्टीको आन्तरिक संगठनमा बाँकी रहेका समायोजनका कामहरू एवं विवादित जिल्लाहरूलाई कडा निर्देशन दिएर सबै कुराहरू समयमै टुंग्याउनु आवश्यक छ । पार्टीको विधान र संविधानले दिएको अधिकारअनुसार पार्टीको महाधिवेशनतर्फ पनि अब कामहरू अघि बढ्नुपर्छ । 

वर्तमान अवस्थामा कांग्रेस संसद् पुनस्र्थापनामा जाने या चुनावमा जाने कुरामा पार्टीभित्र छलफल भए तापनि सबै नेताहरूको फरक मत र दृष्टिकोण बाहिर आएका छन् । आज बस्ने कार्यसमितिको बैठकले सबैसँग बृहत् छलफल गरेर ठोस निर्णय सार्वजनिक गर्नुपर्छ । पार्टीका नेतापिच्छेका फरक धारणा र दृष्टिकोणले आमजनतालाई मात्र होइन कांग्रेसकै कार्यकर्ता तथा शुभचिन्तकलाई समेत भ्रममा पारेको छ । भ्रममा पार्न मात्र होइन यसले कार्यकर्ता र नेताको ध्रुवीकरण पनि तीव्रगतिमा गर्दै गएको छ । यसले सिंगो पार्टीलाई हित गर्दैन भन्ने पूर्ण ठम्याई हो । राजनीतिक मुद्दामा कांग्रेस पार्टीको एउटै एजेन्डा हुन जरुरी छ । आज बस्ने कार्यसमितिको बैठकमा यो विषयमा गहन छलफल एवं समीक्षा होस् भन्ने आमकार्यकर्ताको चाहना छ । 
 
अन्त्यमा, ‘लोकतन्त्रका लागि कांग्रेस र कांग्रेसका लागि लोकतन्त्र’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेताहरूले एकल सिद्धान्तभन्दा पनि सामूहिक सिद्धान्त बनाएर पार्टीले वर्तमान राजनीतिक संक्रमणकालको अत्य गर्नुपर्छ । तसर्थ आजको केन्द्रीय कार्यसमिति बैठकले मुलुकको नेतृत्वदायी भूमिका निभाउने गरी पार्टीभित्र एकताको सन्देश दिँदै मुलुकलाई सही दिशामा ल्याउने अठोट गर्न हामी विषेश आग्रह गर्न चाहन्छौँ । 
जय नेपाल ।
विश्वदीप लामिछाने 
शिव चालिसे
एलिजा ढकाल
ज्योति बोगटी थापा
तुल्सीराम भुसाल
सरोजश्री अधिकारी
हेमन्त बन
बुद्धराज रिसाल
तारा गौतम
राजन कटुवाल (केसी)
देवेन्द्र बर्मा 
राविश शर्मा
सुवास अर्याल 
छिरिङ धुन्डुप शेर्पा
राजेश लुइँटेल
शिव श्रेष्ठ
गोविन्द बानियाँ
विश्वास द्विबेदी 
आत्मराम अतकुल्य
सुरेश अधिकारी
अंशु शर्मा
सरोज बस्नेत 
बिपी कोइराला
लक्ष्मण सापकोटा
प्रकाश भण्डारी