मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०८:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० महिनापछि प्रधानमन्त्री आज सिंहदरबार जाँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०८:४३:००

प्रधानमन्त्री केपी ओली करिब १० महिनापछि सोमबार सिंहदरबार जाँदै छन् । भूकम्पका कारण क्षतिगस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको मर्मतपछि उद्घाटन गर्न उनी सिंहदरबार जान लागेका हुन् । 

राष्ट्रिय पुनर्निर्माण कार्यालयले सो भवनको रेट्रोफिटिङ प्रविधिमार्फत मर्मत गरेको हो । भवनको तीन मोहडाको मर्मत तथा प्रबलीकरण सम्पन्न भइसकेको छ । जहाँ प्रधानमन्त्रीको कार्यालयको सजावटसमेत भइसकेको छ । सो भवनको उद्घाटनपछि त्यसैको प्रांगणबाट उनले आफ्नो तीनवर्षे कार्यकालको समीक्षा सुनाउँदै छन् । प्रधानमन्त्री ओली गत जेठदेखि सिंहदरबार गएका छैनन् । बालुवाटारस्थित निवासबाटै उनले देश चलाउँदै आएका छन् । 

कोरोनाको जोखिमका कारण उनले बालुवाटारबाटै काम गर्दै आएको उनको सचिवालयले जनाएको छ । पछिल्लो एक वर्षयता उनी सरकार सञ्चालनभन्दा पार्टी र गुटका भेट र बैठकमा बढी व्यस्त हुँदै आएका छन् । प्रधानमन्त्री कार्यालय सो भवनमा सरेपछि हाल प्रधानमन्त्री कार्यालय रहेको भवनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सर्नेछ ।

त्यस्तै, परराष्ट्र मन्त्रालय पनि पुरानो भवनमा सर्ने भएको छ । केही समय अघिसम्म महान्यायाधिवक्ता कार्यालयले प्रयोग गर्दै आएको भवनमा परराष्ट्र मन्त्रालयलाई सार्न लागिएको छ । एक वर्ष अघिदेखि नै सो भवनको मर्मत र सजावटको काम गरिरहेको छ । पहिला सो भवनमा परराष्ट्र मन्त्रालय नै बसेको थियो । त्यस्तै, हाल परराष्ट्र मन्त्रालय रहेको भवनमा भने अर्थ मन्त्रालय सर्न लागेको छ ।