मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २५ आइतबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँले अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
२०७७ माघ २५ आइतबार १०:२३:००

मनाङमा तीन फिटसम्म बाक्लो हिउँ, खानेपानीका धारामा बरफ जम्याे

हिमाली जिल्ला मनाङमा शुक्रबार भएको हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा तीन फिट बाक्लो हिउँ जमेको र त्यसलाई पन्छाउन सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । 

बाक्लो हिमपातका कारण मनाङको दानक्युदेखि खाङसारसम्म सडक पूरै अवरुद्ध भएको र शनिबार पुनः हिमपात भएकाले आइतबार पनि हिउँ पन्छाएर सडक सफा गरिने प्रजिअ लामिछानेले बताए । 

सदरमुकाम चामे क्षेत्रमा मानिसलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले शनिबार तीन किलोमिटर सडक सफा गरिएको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले भने, ‘विपत् व्यवस्थापन तालिमप्राप्त दक्ष सशस्त्र प्रहरी कर्मचारीहरू जिल्लामा हुन सक्ने विपत् उद्धारका लागि गुल्ममा २४सै घन्टा तयारी अवस्थामा छन् ।’ 

हिउँले सडक अवरुद्ध भएपछि सेना, प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएर पैदलयात्री हिँड्न सहज बनाइएको मनाङका डिएसपी सुवास खड्काले बताए । डिएसपी खड्काका अनुसार यसपटक ढिलो हिमपात भएकाले चिसो बढेको छ भने तापक्रम माइनसमा झरेसँगै खानेपानीका धारामा बरफ जमेको छ । 

मनाङमा तीन फिटसम्म बाक्लो हिउँ जमेको छ । माथिल्लो मनाङको मनाङ, टंकी मनाङ, भ्राका, घ्यारू, खाङसार, पिसाङ, सदरमुकाम चामेलगायतका गाउँमा हिउँ परेको स्थानीय मेलिना गुरुङले बताइन् ।