मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७७ माघ १५ बिहीबार १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लुम्बिनी प्रदेशमा ६ जिल्लाको आठ खोपकेन्द्रबाट खोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार १o:२९:oo

लुम्बिनी प्रदेशमा कोभिड– १९ विरुद्धको खोप अभियान तराईका ६ जिल्लाको आठवटा खोपकेन्द्रबाट सुरु भएको छ । पहिलो दिन बुधबार ६ सय सातजनालाई खोप लगाइएको छ । पहिलो खोप बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले लगाएका थिए । खोप लगाउनेमध्ये अधिकांश स्वास्थ्यकर्मी छन् । त्यसमा पनि चिकित्सक र नर्स बढी छन् । त्यसपछि सरसफाइकर्मी, शववाहनचालक र एम्बुलेन्सचालक छन् । 

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत डा। पुष्पराज पौडेलले दिएको जानकारीअनुसार रुपन्देहीमा एक सय ४३, नवलपरासी पश्चिममा ७६, कपिलवस्तुमा ५८, दाङमा एक सय ६२ जना, बाँकेमा एक सय ११ र बर्दियामा ५८ जनाले खोप लगाएका छन् । 

लुम्बिनी प्रदेशमा ३९ हजार चार सय ९५ जनाका लागि खोप आएको पौडेलले बताए । कोभिड– १९ विरुद्धको पहिलो चरणमा तराईका जिल्लामा लगाइँदै छ । प्रदेशका सबै १२ जिल्लाका लागि सोमबार बुटवल ल्याइएको खोप जिल्ला–जिल्लामा पठाइएपछि खोप लगाउन सुरु गरिएको छ ।

पहिलो चरणमा तराईका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासीमा लगाउन सुरु भएको छ । यी जिल्लामध्ये रुपन्देहीमा बुटवल र भैरहवा तथा दाङको घोराही र तुल्सीपुरमा गरी दुई–दुईवटा खोपकेन्द्र रहेका छन् । अन्य जिल्लामा एक–एकवटा खोपकेन्द्र रहेका छन् । त्यस्तै, प्रदेशका बाँकी जिल्लामा १७ गते खोप लगाउने तयारी छ । पहाडी जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा र रुकुम पूर्वमा १७ गते खोप लगाइने भएको छ ।