सप्तरी प्रहरीले लागुऔषधमा दुई र लुटपाटमा संलग्न दुई गरी चारजनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी डाक्नेस्वरी नगरपालिका– ३ हटेलाट प्र.२–०३–००७ प ७३१९ नम्बरको मोटरसाइकलमा सवार सप्तरी शम्भुनाथ नगरपालिका– २का २६ वर्षीय जिगेन्द्रकुमार साह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया मोहम्मद सदामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले अभियुक्तका साथबाट नेट्राभेट– १९ ट्याब्लेट १२ पत्ता ३६० पिस र गाँजा एक पुरिया (करिब २० ग्राम) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कल्यानपुर खटिएको प्रहरी टोलीले अभियुक्तहरूलाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै, प्रहरीले लुटपाटमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुंगा नगरपालिका– ७ का २४ वर्षीय नन्दी पासवान र सोही ठाउँका राजुकुमार साह छन् । पासवान र साहसहित दुईवटा मोटरसाईइकलमा सवार रहेका चारजनाले सुरुंगा नगरपालिका– ७ हरिपुरस्थित कुसहा–बेल्ही सडकखण्डमा एकजनालाई कुटपिट गरी लुटपाट गरेको आरोप छ ।
गत शुक्रबार राति साढे ८ बजेतिर शम्भुनाथ नगरपालिका– ६ लतियाहीका अनिषकुमार चौधरीलाई कुटपिट गरी उनी सवार स.३प ९१६९ नम्बर मोटरसाइकल, नगद र मोबाइल लुटपाट गरी चारैजना फरार भएका थिए ।
लुटपाट गरी दक्षिणतर्फ फरार भएको सूचनाअनुसार खोजी गर्ने क्रममा बलान विहुल गाउँपालिका– ४ वेल्ही चौकबाट पासवान र साहलाई लुटेको स.३प ९१६९ र स.२प ८४४२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूसँगै संलग्न अन्य दुई भने फरार छन् । फरार दुवैको खोजीकार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
यसअघि आइतबार मात्रै सप्तरी प्रहरीले सोही नगरपालिका– २ हर्दियास्थित नेपाल टेलिकमको जिएसएम मोबाइलको बिटिएस साइट (टावर) बाट २४ थान ब्याट्रीसहितका सरसमान चोरी गर्ने चारजनालाई पक्राउ गरी सार्वजनिक गरेकाे थियाे ।