मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रस्तावित मदन भण्डारी राजमार्गअन्तर्गत इलामको विकट दक्षिणी चुलाचुली क्षेत्र । यो क्षेत्र विकासको दृष्टिकोणले पछि परेको क्षेत्र हो । मदन भण्डारी राजमार्ग बन्ने आसले त्यहाँका जनता उत्साहित भएका छन् ।
२०७७ माघ ११ आइतबार १०:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मदन भण्डारी राजमार्गको प्रतीक्षामा जनता

Read Time : > 1 मिनेट
२०७७ माघ ११ आइतबार १०:३८:००

सरकारले ०७५ जेठमा चुरे क्षेत्र हुँदै पूर्व–पश्चिम जोड्ने राजमार्गलाई मदन भण्डारी राजमार्गका रूपमा विकास गर्ने लक्ष्य लिएसँगै स्थानीय जनता व्यग्र प्रतीक्षामा छन् । मदन भण्डारी राजमार्गले खासगरी चुरे क्षेत्रका विकट भेगलाई जोड्छ । समयमै राजमार्ग निर्माण हुने हो भने आधारभूत सुविधाका लागि भौँतारिएका जनतालाई सहज हुने इलाम चुलाचुली–५, बुकुवाका ईश्वरी विश्वकर्माले बताए । ‘बर्खामा हामी त रुतुवा र अरू खोलाले थुनिएका हुन्छाैँ ।

कोही बिरामी पर्‍यो भने पनि अस्पताल लैजान सक्ने अवस्था छैन । आफ्नै सदरमुकाम पुग्न पनि झापा जानुपर्छ । दमक हाम्रो दैनिक गुजारा चलाउने ठाउँ पनि हो । केटाकेटीले शिक्षा पनि दमकमै लिन्छन्,’ उनले भने, ‘राजमार्गसँगै रतुवा खोलामा पुल बन्छ । राजमार्ग बन्छ र हाम्रा सुखका दिन आउँछन् भन्ने अपेक्षामा छौँ । राजमार्ग बन्न ढिलाइ नहोस् ।’

मदन भण्डारी राजमार्गअन्तर्गत प्रदेश–१ मा झापा, मोरङ, सुनसरी र र इलामको दक्षिणी क्षेत्रस्थित चुरेका केही भूभाग पर्छन् । प्रदेश–१ मा चुरे क्षेत्रको १ सय २५ किलोमिटर मदन भण्डारी राजमार्गले छुन्छ । राजमार्ग निर्माणका लागि प्रदेश–१ का चार जिल्ला हेर्न दमकमा मदन भण्डारी राजमार्ग आयोजना कार्यालय स्थापनाको तरखर भइरहेको छ । कार्यालय प्रमुख श्याम यादव कार्यालय अभावमा कोठाबाटै काम गरिरहेका छन् । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले प्रदेश–१ मा सर्भेको साइड क्लियर गर्ने काम सम्पन्न गरिसकेको आयोजना कार्यालय दमकका प्रमुख यादवले जानकारी दिए ।

‘साइड क्लियर गर्ने काम भइसकेको छ । इलामको माई नगरपालिका र झापाको शिवसताक्षी नगरपालिकामा केही समस्या देखिएको थियो, त्यो पनि समाधान भइसक्यो’, उनले भने, ‘१ सय २५ किलोमिटर क्षेत्र साइडमा कहीँ पनि समस्या छैन । सडकको डिपिआर पनि बनिसकेको छ ।’ निर्माण सुरु भएको तीन वर्षभित्र राजमार्ग सक्ने सरकारको योजना छ ।

तर, ठेक्का प्रक्रियासमेत सुरु भइनसकेकाले यसै भन्न नसकिने प्रमुख यादव बताउँछन् । राजमार्गअन्तर्गत प्रदेश–१ मा ३१ वटा पुलको ठेक्का लागिसकेको छ । ‘बहुवर्षे योजना हो । पैसा प्रत्येक वर्ष आउँछ । ३१ वटा पुलको चाहिँ लगभग काम सुरु भइसकेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा पुरानै पुल पनि प्रयोगमा आउँछन् । कतिपय ठाउँमा सडक पनि सामान्य स्तरोन्नति गर्दा हुने गरी छ ।’

मोरङमा विवाद समाधान
राजमार्गको रुटको विषयमा केही विवाद भएपछि केराबारी, लेटाङ र मधुमल्ला बजारका स्थानीयले सडक सर्भेविरुद्व संघर्ष समिति नै गठन गरेका थिए । तर, पछिल्लो समय विवाद समाधान भएको मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले बताए । ‘मोरङमा राजमार्ग निर्माणबारे रूढको विषयलाई लिएर लेटाङ र  केराबारी बजारमा केही घरहरू भत्काउनेबाहेक अरू कुनै समस्या छैन,’ सांसद खतिवडा भन्छन्, ‘पहिले धेरै विवाद आएको थियो, तर हामीले समन्वय गरेर सबै समाधान गरिसक्यौँ ।’ 

मुख्य बजार क्षेत्रलाई नै प्रभावित हुने गरी स्थानीय तहसँग समेत समन्वय नगर्दा सुरुवाती समयमा समस्या आएको केराबारी गाउँपालिकका अध्यक्ष रोहितबहादुर कार्कीले बताए । सुरुवाती समयमा केराबारी, लेटाङ बजार क्षेत्रको बीचबाटै रेखांकन गरिएका कारण समस्या आएको उनले बताए । तर, बीचबजारबाट नभई दायाँ–बायाँबाट सडक लैजाने सहमति बनेपछि विवाद समाधान भएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला पोेखरेलले बताइन् ।