मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार ०९:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले चक्रपथको १०.२ किलोमिटरमा हरियाली निर्माण तथा संरक्षण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार ०९:०३:००

एनसेल आजियाटा लिमिटेडले चक्रपथ–कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण सुरु गरेको छ । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा करिब १०.२ किलोमिटरमा हरियाली विकास तथा संरक्षण सुरु गरेको हो । 

कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम गरिरहेको कम्पनीले जनाएको छ । यसै पहलअन्तर्गत एकान्तकुनादेखि बल्खु सडकखण्डका ग्रिन बेल्ट क्षेत्रमा नमुनाका रूपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको जनाइएको छ ।

यस ग्रिन बेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य रहेको एनसेलले जनाएको छ । यसअघि कम्पनीले कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षारोपणका लागि सहयोग गरेको जनाइएको छ । हरियाली विकासका साथै एनसेलले ५ वर्षसम्म यो खण्डमा रहेका ६ हजारभन्दा बढी रूखबिरुवाको हेरचाह गर्दै ग्रिन बेल्टको संरक्षणको काम पनि गर्ने जनाएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस पहलले समुदायमा स्वच्छ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरणसम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्‍याउने विश्वास लिएको बताए । यो पहल कार्बन फुटप्रिन्ट घटाउन र पर्यावरण संरक्षणका लागि कम्पनीले गरेका काममध्ये एक रहेको उनको भनाइ थियो । 

वातावरण संरक्षण पहलअन्तर्गत नै रही कम्पनीले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्न लागेको जनाइएको छ । यसअघि धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको तथा धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरेको एनसेलले जनाएको छ । यस पहलको सफल कार्यान्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुला चरिचरन तथा अनियमित कटानमुक्त क्षेत्र’ घोषणा गरिसकेको कम्पनीले जनाएको छ ।