अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबीच धेरै समानता छन् । जसमा प्रमुख समानता हो, अश्वेत समुदायको प्रतिनिधित्व । त्यसैले पनि होला, जब सन् २०१९ मा कमला ह्यारिसले २०२० को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिन्, अमेरिकी सञ्चारमाध्यमहरूले उनका लागि ‘फिमेल ओबामा’ ट्यागको व्यापक प्रयोग गरे । उनलाई यो ‘ट्याग’ सन् २००९ मा पहिलोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पत्रकार ग्वेन आइफिलले बाराक ओबामामाथि लेखेको पुस्तक ‘द ब्रेकथ्रुः पोलिटिक्स एन्ड रेस इन द एज अफ ओबामा’माथि एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रयोग गरेकी थिइन् । राष्ट्रपति पदको उम्मेदवार बनेपछि भने ह्यारिस आफैँले पनि यसलाई प्रयोग गरिन् । कतिसम्म भने ग्वेनले बोलेको करिब १० वर्षपछि उक्त भिडियो क्लिपलाई ह्यारिसले चुनाव प्रचारका लागि प्रयोग गर्न आफ्नो युट्युब च्यानलमा नै राखिन् । त्योभन्दा बढी अमेरिकी सञ्चारमाध्यमहरूले उनको परिचयका रूपमा यसलाई स्थापित गराइदिए ।
यदि ह्यारिस आफैँमा क्षमतावान् हुँदैन थिइन्, उनको आफ्नै परिचय हुँदैन थियो, मिहिनेत हुँदैन थियो, विचार हुँदैन थियो र उनले प्रतिनिधित्व गर्ने समुदायको सहानुभूति हुँदैन थियो भने आज अमेरिकाजस्तो शक्तिराष्ट्र भनिएको मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित हुन असम्भव थियो । यति हुँदाहुँदै पनि राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा गर्दा उनको विजयको सम्भावनालाई अनुमान गरेर अर्का शक्तिशाली व्यक्तिसँग दाँजियो । त्यसमा पनि ह्यारिसलाई पूर्वराष्ट्रपति ओबामाकै नामको ट्याग भिराएर ‘फिमेल ओबामा’ किन भनियो त ? यसको सीधा जवाफ हो उनी अश्वेत समुदायको प्रतिनिधित्व गर्छिन् र ओबामा अश्वेत प्रथम पुरुष भएजस्तै उनी अमेरिकाको राजनीतिमा अश्वेत प्रथम महिला हुन्, जसले अमेरिकाको राजनीतिमा सफलताउन्मुख यात्रा तय गरिरहेकी छिन् ।
सन् २०१५ बाट सक्रिय राजनीतिमा लागेकी कमला ह्यारिस २०२० मै अमेरिकाको उपराष्ट्रपति निर्वाचित भइन् । उनी २०१६ को निर्वाचन जितेर सिनेटमा पुग्ने पहिलो इन्डो–अमेरिकन र दोस्रो अश्वेत महिला बनेकी थिइन् । यसपटक, त्यसभन्दा अझ अघि बढेर ह्यारिस अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो इन्डो–अमेरिकन र अश्वेत महिला बनेकी छिन् । यतिवेला उनी संसारभर चर्चामा छिन् । यो चर्चामा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि जोडिएका छन् । किनभने यी दुईबीच असीमित समानता छ ।
आफूलाई लोकतन्त्र, न्याय, स्वतन्त्रता र मानव अधिकारको संरक्षक दाबी गर्ने अमेरिकामा विभेदका अनेकौँ शृंखला, इतिहास र उदाहरण आज शक्तिसम्पन्न मुलुक भएको दाबी गरिरहँदा पनि कायमै छन् । अश्वेत जातिको मानिस भएकै कारण ज्यान गुमाउनुपरेका समाचार हप्ता या महिना बिराएर सञ्चारमाध्यममा आइरहेकै हुन्छन् । विभेद उन्मूलनको नारा लगाएर नीति निर्माण गर्ने राज्यका सुरक्षाकर्मीको गोली खाएर हरेक वर्ष कोही न कसैले अश्वेत भएकै कारण ज्यान गुमाउनुपरेको छ । महिलामाथि कार्यस्थलमा हुने विभेदका घटनाको फेहरिस्त उस्तै छ । आज पनि विभेदका यी र यस्तै विषयमा आन्दोलन चल्छ । अश्वेत नागरिकको बाँच्न पाउने अधिकारका लागि ‘ब्ल्याक लाइभ म्याटर्स’ र ‘आई कान्ट ब्रेथ’जस्ता आन्दोलन चल्छन् ।
अनुसन्धान गर्ने विभिन्न संस्थाले अमेरिकामा अश्वेत जातिमाथि पुलिस प्रशासनबाट हुने हत्याको डरलाग्दो तथ्य प्रस्तुत गरिरहेका हुन्छन् । विभिन्न अन्तर्राष्ट्रिय आँकडाहरू सार्वजनिक गर्ने संस्थामध्येको एउटा ‘स्टाटिस्टा’ले सन् २०१७ को सुरुवातदेखि २०२० को डिसेम्बरसम्म अमेरिकामा पुलिसको गोलीबाट मृत्यु हुनेको संख्या बढ्दो क्रमममा रहेको देखाउँछ । स्टाटिस्टाका अनुसार सन् २०२० मा मात्रै पुलिसको गोली लागेर ज्यान गुमाउने सर्वसाधारणको संख्या नौ सय ९९ छ, जसमध्ये दुई २६ जना अश्वेत छन् । सन् २०१९ मा एक हजार चारजनाले ज्यान गुमाएकोमा दुई सय ३५ जना अश्वेत छन् । सन् २०१८ मा नौ सय ९६ जनाले ज्यान गुमाएकोमा दुई सय नौजना अश्वेत छन् । सन् २०१७ मा नौ सय ८७ जनाले ज्यान गुमाएकोमा दुई सय २३ जना अश्वेत छन् । यस्तै डरलाग्दा तथ्यांक महिलामाथि हुने विभेदका पनि देखिन्छन् । त्यसैमा अश्वेत महिलामाथि हुने विभेदको संख्या अरूको तुलनामा बढी नै हुने गरेको देखिन्छ ।
यही कारण होला आज एउटा अश्वेत राजनीतिज्ञले चुनाव जित्दा अर्को अश्वेत नागरिकसँग जोडिन्छ । एउटा अश्वेत महिला उपराष्ट्रपतिमा निर्वाचित हुँदा अर्को अश्वेत पुरुष र उसको सफलतासँग जोडेर परिचय स्थापित गरिन्छ । मानौँ, कुनै अश्वेत नागरिक वा महिलाको आफैँमा कुनै परिचय हुँदैन । जब कि राष्ट्रपति जो बाइडेनको पनि अरू कैयौँ त्यस्ता स्थापित व्यक्तित्वसँग तुलना गर्न सकिन्थ्यो होला, तर त्यसो गरिएन ।
हुन त ओबामा र ह्यारिसबीच यसबाहेक पनि तमाम समानता छन् । उनीहरू दुवैको अध्ययनको क्षेत्र, पारिवारिक पृष्ठभूमि, राजनीतिक विचार, पेसागत अनुभव आदि केही हदसम्म मिल्छन् । यसमा पनि महत्वपूर्ण छ– उनीहरू दुवैको पहिलो हुने अवसर । साथै, उनीहरू आज अमेरिकी राजनीतिको जुन भागमा छन्, त्यो उनीहरूले प्रतिनिधित्व गर्ने समुदायको पहिलो महिला र पुरुष हुन् ।
ओबामा जीवन : विभेददेखि वैभवसम्म
पूर्वराष्ट्रपति ओबामाका बुबा अफ्रिकी अश्वेत र आमा अमेरिकी श्वेत नागरिक हुन् । केन्याको लुओ समुदायमा जन्मिएका ओबामाका बुबा छात्रवृत्तिमा पढ्न अमेरिकाको हवाई पुगेका थिए । उनको अमेरिकाकै कन्सास राज्यको विचिटा सहरको श्वेत समुदायमा जन्मिएकी अन दुन्हमसँग हवाई विश्वविद्यालयमा भेट भएको थियो । सन् १९९५ मा प्रकाशित ओबामाको आत्मवृत्तान्त ‘ड्रिम अफ माई फादर : अ हिस्ट्री अफ रेस एन्ड इन्हेरिटेन्स’मा उल्लेख गरेअनुसार सन् १९६१ मा उनीहरूको प्रेमविवाह भयो । त्यसको ६ महिनापछि ओबामाको जन्म भयो, तर अश्वेत बाबु र श्वेत आमाको प्रेमविवाह धेरै समय टिकेन । विवाह भएको दुई वर्षमा सम्बन्ध–विच्छेद भयो ।
ह्यारिस आफैँमा क्षमतावान् हुँदैन थिइन्, उनको आफ्नै परिचय हुँदैन थियो, मिहिनेत हुँदैन थियो, विचार हुँदैन थियो र उनले प्रतिनिधित्व गर्ने समुदायको सहानुभूति हुँदैन थियो भने आज अमेरिकाजस्तो शक्तिराष्ट्र भनिएको मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित हुन असम्भव थियो । यति हुँदाहुँदै पनि राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा गर्दा उनको विजयको सम्भावनालाई अनुमान गरेर अर्का शक्तिशाली व्यक्तिसँग दाँजियो ।
त्यसपछि ओबामा आमासँगै रहे । बाबु उनलाई छोडेर केन्या फर्किए । आमाले त्यही विश्वविद्यालयमा अध्ययनरत इन्डोनेसियाका नागरिकसँग विवाह गरिन् । आमाले उनका नयाँ श्रीमान्सँग ओबामालाई जकार्ता लिएर गइन् । तर, ओबामाको पढाइ र हेरचाहमा समस्या आएपछि आमाले उनलाई मावली हजुरबा र आमासँग बस्न हवाई फर्काइदिइन् । हवाईमै विद्यालय भर्ना भएपछि बुबा छोटो समयका लागि हवाई आउँदा एकपटक मात्रै भेट्ने अवसर पाएको उल्लेख उनले गरेका छन् । उनले आफू पढ्ने विद्यालयमा पहिलोपटक वर्ण विभेद अनुभव गरेको बताएका छन् । उनी पढ्ने विद्यालयमा उनीलगायत तीनजना मात्रै अश्वेत वर्णका विद्यार्थी अध्ययन गर्थे । त्यहीँ उनले काला र गोरा जातिमाथि वर्णकै कारण हुने विभेद अनुभव गरेको पुस्तकमा उल्लेख गरेका छन् ।
त्यसपछि ओबामाले सन् १९७९ मा लसएन्जलसको अक्सिडेन्टल कलेजबाट स्नातक र सन् १९८३ मा न्युयोर्कको कोलम्बिया युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा डिग्री हासिल गरे । त्यसपछि सन् १९९१ मा हार्वडबाट कानुनसम्बन्धी अध्ययन गरे । हार्वडमा कानुनसम्बन्धी अध्ययन गर्ने क्रममा उनी हार्वड ल रिभ्युका सम्पादक बने । उक्त जर्नलको सम्पादक हुने उनी पहिलो अफ्रिकन–अमेरिकन नागरिक थिए । त्यसपछि उनले सिकागो युनिभर्सिटीको ल स्कुलमा पार्टटाइम अध्यापन र एउटा ल फर्ममा समेत काम गरे । त्यतिवेला उनी मानव अधिकारवादी कानुन व्यवसायीका रूपमा अभ्यास गरिरहेका थिए । सोही क्रममा भेट भएकी मिचेल रोबिन्सनसँग प्रेमपश्चात् उनले विवाह गरे ।
सन् १९९२ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार बिल क्लिन्टनको चुनावी अभियन्ता बने । सन् १९९६ बाट इलिनोइस राज्यको सिनेटरमा चुनाव लडेर आफ्नो राजनीतिक जीवनको सुरुवात गरे । त्यसपछि सन् २००० को चुनावमा उनी अमेरिकन हाउस अफ रिप्रिजेन्टेटिभमा उठेर पराजित भए । सन् २००१ मा अमेरिकाको ट्विन टावरमा भएको आतंकवादी हमलापछि ओबामाले राष्ट्रपति जर्जडब्लु बुसको इरानसँग युद्ध गर्ने नीतिको विरोध गरेर चर्चा बटुलेका थिए । सन् २००२ देखि अर्को निर्वाचनका लागि तयारी गरेका उनले २००४ मा भने सिनेटमा जित हासिल गरे । उक्त चुनावमा उनले करोडपति व्यापारीहरू ब्लेयर हुल र ड्यानियल हेन्सलाई ५२ प्रतिशत मतसहित पराजित गरे । त्यसपछि सन् २००८ को चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी दिएका ओबामा अमेरिकी राष्ट्रपति हुने पहिलो अफ्रिकी–अमेरिकी बने । उनले सन् २००९ देखि लगातार दुई कार्यकाल अमेरिकाको राष्ट्रपति पद सम्हाले ।
भारतीय आप्रवासी आमासँग हुर्केकी ह्यारिस
कमलादेवी ह्यारिस अमेरिकामा उपराष्ट्रपति हुने पहिलो अश्वेत मात्रै होइन, पहिलो महिला र पहिलो इन्डो–अमेरिकनसमेत हुन् । उनका बाबु डोनाल्ड ह्यारिस क्यारेबियन मुलुक जमाइकामा जन्मिएका हुन् भने उनकी आमा डा. स्यामला गोपालन भारतीय मूलकी हुन् । स्तन क्यान्सरसम्बन्धी अनुसन्धानकर्ता स्यामला र इकोनोमिक्स एट स्ट्यान्फर्डका अवकाशप्राप्त प्रोफेसर डोनाल्डको क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा भेट भएको थियो । यी दुईले सन् १९६२ मा विवाह गरे । कमला र उनकी बहिनी माया जन्मिएपछि सन् १९७२ मा दुईले सम्बन्ध विच्छेद गरे ।
ओबामाले आफू पढ्ने विद्यालयमा पहिलोपटक वर्ण विभेद अनुभव गरेका थिए । उनी पढ्ने विद्यालयमा उनीलगायत तीनजना मात्रै अश्वेत वर्णका विद्यार्थी थिए । त्यहीँ उनले काला र गोरा जातिमाथि वर्णकै कारण हुने विभेद अनुभव गरेको पुस्तकमा उल्लेख गरेका छन् ।
बाबुआमाको सम्बन्ध–विच्छेदपछि कमला र बहिनी मायाको सम्पूर्ण जिम्मेवारी आमा गोपालन एक्लैले पूरा गरिन् । सम्बन्ध–विच्छेदपछि गोपालनले अमेरिकाको अश्वेत संस्कृतिलाई अंगीकार गरेर आफ्ना छोरीहरूलाई हुर्काइन् । ‘मेरो आमाले आफूले अश्वेत छोरीहरू हुर्काइरहेकी छु भन्ने राम्रोसँग बुझेकी थिइन्,’ कमलाले आफ्नो आत्मवृत्तान्त द ट्र्युथ वी होल्डमा उल्लेख गरेकी छन्, ‘छोरीहरू आफू अश्वेत भएकोमा गर्व गर्ने र आफ्नो पहिचानमा आत्मविश्वास कायम राख्ने बनाउने आमाको प्रतिबद्धता थियो ।’ कमलाले आमाको ‘एक्टिभिजम’बाट नै आफ्नो अधिकारबारे चेतना पाएको बताएकी छिन् । ‘मैले आमाबाटै अश्वेत र महिला हुनु कति पीडादायिक हो भन्ने बुझ्ने अवसर पाएँ । त्यसैले मलाई उत्पीडित मानिसको अधिकारको पक्षमा बोल्न सिकायो,’ उनले भनेकी छिन् ।
हावर्ड विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक गरेपछि कमलाले ह्यास्टिङ कलेजबाट कानुनमा डिग्री हासिल गरिन् । कानुनसम्बन्धी अध्ययन सकाएपछि उनले यही पेसामा रहेर लामो समय काम गरेकी छिन् । त्यसपछि सन् १९९० देखि १९९८ सम्म ओक्ल्यान्डमा जिल्ला सहन्यायाधिवक्ता भएर काम गरेकी उनी सन् २००४ मा न्यायाधिवक्ता भइन् । सन् २०१० मा क्यालिफोर्निया राज्यमा न्यायाधिवक्ताको पद सम्हालिन् । यो पद सम्हाल्ने उनी पहिलो महिला र पहिलो अफ्रिकन–अमेरिकन बनिन् ।
त्यसपछि सन् २०१५ बाट सक्रिय राजनीतिमा लागेकी उनी २०१६ को निर्वाचनमा जितेर सिनेटमा पुग्ने पहिलो इन्डो–अमेरिकन र दोस्रो अश्वेत महिला बनिन् । त्यसपछि सन् २०२० को राष्ट्रपति चुनावका लागि उनले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी घोषणा गरेकी थिइन् । तर, प्रारम्भिक चरणमा पछाडि परेपछि उनले राष्ट्रपति जो बाइडेनलाई समर्थन गरिन् । राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएपछि बाइडेनले कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाए । अहिले उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो इन्डो–अमेरिकन र अश्वेत महिला बनेकी छिन् ।