अभिनेता दयाहाङ राई रंगकर्मी अनुप बरालसँगै थिए । बरालले नाटक गर्ने जोडबल गरिरहेका थिए । वर्कसप चल्यो । तर, दयाहाङ अभिनय गर्न हच्किए । गर्दिनँ भनिरहेका थिए । तर, अनुपले जबर्जस्ती खेलाइदिए । मण्डला थिएटरमा सम्पन्न ‘कोरोनाअघि र पछिको रंगमञ्च र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा लेखक बुद्धिसागरसँग जमानाको प्रसंग कोट्याइरहेका अनुप ।
दर्शकदीर्घामा बसेका दयाहाङ मुसुमुसु हाँसिरहेका थिए । दयाहाङको प्रसंग कोट्याउँदै अनुपले भने, ‘कतिपय अवस्थामा आफूलाई चिन्न समय लाग्छ । त्यसका लागि आफूले आफैँलाई समय दिनुपर्छ ।’ या त आफूलाई देख्ने कोेसिस नगरेको हुन सक्ने र परिस्थिति निर्माण पनि गरिदिनुपर्ने अनुप बताइरहेका थिए ।
कार्यक्रमको सहजकर्ताको भूमिका निभाइरहेका बुद्धिसागर आफ्नै प्र्रसंग थपेर सवालहरूमा बुट्टा भरिरहेका थिए । सवालकै क्रममा बुद्धिसागर निकै वर्षअघिको गुरुकुल पुगे । उनले त्यसअघि नाटक देखेकै थिएनन् । उनको बाल्यकाल बितेको थारू गाउँमा नौटंकी हुन्थ्यो । त्यसैलाई एक हिसाबले नाटक मानिबसेका थिए । तर, विद्यालयको पाठ्यक्रममा नाटक फरक थियो ।
ती नाटक पढ्न त पढ्थे, तर बुद्धिसागर कल्पनै गर्न सक्दैन थिए । भनिन्छ नि, कुनै कुराको कल्पना गर्न मात्रै पनि तपाईंसँग आधार चाहिन्छ । रंगमञ्चलाई धेरै पछि देखेका बुद्धिसागरको कल्पनामा रंगमञ्च हुने कुरै भएन । पाठ्यक्रमको नाटक अजीवको लाग्ने भइगयो ।
एकपटक बुद्धिसागर साथीसँग चलचित्र हेर्न भनेर साथीसँग निस्किए कोठाबाट । तर, गुरुकुलमा ‘जात सोध्नु जोगीको’ नाटक चलिरहेको छ भन्ने खबर उनीहरूको कानमा पर्यो । सल्लाह गरे, ‘नाटक हेर्न जाऔँ न त ।’ उनीहरू गुरुकुल गए । नाटक हेरे । ‘नाटक हेरिसकेपछि त चलचित्र हेर्न जानै मन लागेन । त्यति मीठो हुँदोे रहेछ । हामीले त्यही नाटक रिपिटेडली हेर्यौँ,’ बुद्धिसागरले प्रसंगको साथमा प्रश्न तेस्र्याए, ‘अथवा त्यही आगोको न्यानोले कोरोनाकालपछिको समय गुज्रन्छ कि नयाँ नाटक पनि चाहिन्छ जस्तो लाग्छ ?’
अनुप पनि प्रसंगैबाट जवाफतिर लागे । एक समय थियो नेपाली रंगमञ्चको, जतिवेला अहिलेजस्तो दर्जनौँ थिएटर थिएनन् । नाटकहरू फाट्टफुट्ट हुने गर्थे । गैरसरकारी संस्थाले आफ्नै हिसाबले नाटक गर्थे, तर नियमित थिएन । तर, दश वर्षभित्र रंगमञ्च नियमित मात्र भएन, नयाँ आयाम बोकेर आयो । अहिले (कोरोनाकालबाहेक) प्रत्येक थिएटरमा नाटक मञ्चन भइरहन्छन् । रंगकर्मीको व्यावसायिकताको विषय उठ्न थालेको छ । अनुुप भन्छन्, ‘राज्यको कुनै पहलकदमीविना आफ्नो पहलमा रंगमञ्च स्थापित भएको दक्षिण एसियामै नेपाल पहिलो नम्बरमा आउँछ ।’
छिमेकी देश भारतमा पनि रंगमञ्चका लागि राज्यले लगानी गरेको छ, गरिरहेको छ । एकपटक भारतीय कलाकार शिला विश्वास शिल्पी थिएटरमा नाटक लिएर आएकी थिइन् । त्यसवेला अनुपलाई शिलाले भनेकी थिइन्, ‘आप लोगकी ये काम देखकर मुझे जेलस हो गया ।’
शिलाको त्यो प्रतिक्रिया नेपाली रंगमञ्चका लागि ठूलो हौसला, ऊर्जा र सफलता भएको टिप्पणी गर्छन् अनुप । ‘यतिवेला हामी हिजोको अवस्थाबाट बाहिर आइसकेका छौँ । नयाँ लेखकहरू नाटक लेख्न सुरु गर्दै छन् । त्यो ऊर्जा हो,’ भन्छन्, ‘दर्शक आएर नाटक हेर्छन्, थोरबहुत टिकटबाट आर्थिक जोहो हुन्छ । अब सबै कुरालाई व्यवस्थापन गर्दै विविधतासहितको नयाँ नाटकको साथमा अगाडि जाने पहल गर्नुपर्छ ।’
पेन्टिङ हुन्छ, जो सधैँ रहिरहन्छ । किताब हुन्छ, जसलाई पढिरहिन्छ । सिनेमा हुन्छ, जसलाई बीस वर्षपछि पनि हेर्न मिल्छ । तर, नाटकलाई नसकिने बताइरहेका थिए बुद्धिसागर । नाटक जो स्मृतिसँग जोडिने चिज हो । त्यसका लागि दर्शकको स्मृति पनि तगडा चाहियो ।
नाटकसँग जोडिने मान्छेलाई वेलावेला नाटक हेर्न आउने मान्छेले प्रेरणादायी प्रशंसा गरिदिन्छन् । त्यसैको ऊर्जाले नाट्यकर्मी अर्को नयाँ सिर्जनामा लाग्छ । तर, हिजोका कुरा सम्झन एकदमै बलियो स्मृति चाहियो ! प्रसंग जोड्दै बुद्धिसागरले प्रश्न गरे, ‘अहिलेसम्म त्यस्तै स्मृतिबाट प्रेरणा लिनुहुन्छ कि बीचमा बिर्सनुहुन्छ कि । स्मृतिसँग कसरी जोडिनुहुन्छ ?’ ‘मलाई लाग्छ, एउटा कलाकारको प्रेरणाको स्रोत भनेको त्यही स्मृति हो । तर, पछि पार्ने पनि त्यही स्मृति हो,’ अनुप जोगिँदै भन्छन्, ‘मेरो स्मृति खत्रा थियो भनेर त्यहीँ बाँचिरहनु, एक समयको त्यो काम सोचेर बसिरहनु डरलाग्दो स्थिति हुन्छ ।’
अनुप फेरि प्रसंगतिरै लागे । युरोपमा एक कलाकारले इन्टलेसन आर्ट गरेका थिए रे । उसले समुद्रमा बाँसैबाँसको ठूलो संरचना तयार गरे । जो कफनजस्तो देखिन्थ्यो । दर्शकलाई भेडीगोठमा राखे । कफनमा आगो लगाइदिए । दर्शकलाई भेडीगोठबाट जल्दै गरेको कफन दृश्यपान गराइदिए । ‘उसले बनायो, जलायो । कला भनेको लामो समयसम्म रहनुपर्छ भनिन्छ, तर सधैँ त्यस्तो नहुँदोरहेछ,’ अनुप सुनाउँछन् ।
उनले प्रेमकै प्रसंग कोट्याए । पहिलोपटक प्रेम हुँदा प्रेमीप्रेमिकाले लुकीलुकी प्रेम गर्छन् । कसैले देख्ला कि भनेर लुकीलुकी गरिएको प्रेमको स्वाद रोमान्सले भरिएको हुन्छ । जसको आफ्नै स्वाद हुन्छ । त्यो स्वाद फर्किएर फेरि आउँदैन र कहिल्यै जाँदैन पनि । यसरी नै नाटक पनि समयमा बाँच्ने कला रहेको बताउँछन् अनुप । जोे समय सकिएपछि सकिन्छ । ‘त्यो चिज छुट्नुको मज्जा त्यसैमा छ । सामथ्र्य पनि त्यसैमा छ । त्यसैका कारण जीवित छौँ,’ अनुप बुद्धिसागरलाई जवाफ दिन्छन्, ‘नाटकलाई उपन्यास, कथाभन्दा अलग बनाएको यसको आफ्नै स्वभाव र स्वादले हो । त्यसलाई बिर्सिएर जान सकिँदैन । तर, त्यसलाई चिरस्थायी बनायौँ भने पनि केही हुँदैन ।’
कोरोनाकालमा नाटकहरू भर्चुअल भएर गए । डिजिटल्ली प्रस्तुत भए । डिजिटलमा पनि सम्भाव्यता खोज्नेबारे पनि अनौपचारिक छलफल पनि भए । तर, नाटक रेकर्डेड नहुनुमै मज्जा देख्छन् अनुप । उपन्यास हुन्छ, जो दश वर्षपछि पनि पाना र शब्द उस्तै हुन्छ । तर, नाटक हरेकपटक फरकफरक तरिकाले हेर्दा झनै मज्जा आउने भएकाले पनि त्यसको सौन्दर्य विशिष्ट हुने अनुपको अनुभवले भन्छ ।
आजभन्दा डेढ दुई दशकअघि रंगमञ्च जे थियो, आफ्नै हरहिसाबमा थियो । आफ्नै आयाम र परिधिमा थियो । अनुपहरूसँग भिडियो रेकर्ड गर्न साधन थिएन । अर्थ थिएन । ‘तर, जे भए पनि त्यो समयले जे दिन्छ, अर्काइभले सायदै दिन सक्ला,’ अनुप सुनाउँछन्, ‘पटक–पटक हेर्दा एउटै नाटकको अलग–अलग असर परेको देखिएको छ ।’ अनुपको नाटकसँगको यात्रा आफ्नै किसिमको छँदै छ । भारतमा पढेर आएका । साढे तीनदशक यही क्षेत्रमा बिताए ।
अहिलेसम्मको यात्राको मियो एउटै कुरा ठान्छन् अनुप– इच्छाशक्ति । एकपटक एकेडेमीले नाटक महोत्सव आयोजना गरेको थियो, रंगकर्मीका लागि ठूलो पर्व । तर, दर्शकै नआउने । त्यस समय रंगकर्मी सुनील पोखरेल बागबजार बस्थे । सुनीलको घर गए अनुप । सुनीलसँग कालो ड्रेस र रङ मागे । सुनीललाई भोलि एकेडेमीमा आउन निम्तो पनि दिए ।
कालो ड्रेस र रङ पोतेर एकेडेमीकै बाहिर प्रस्तुति दिन थाले । अनुप सुरुवाती समयबारे सुनाउँछन्, ‘बिस्तारै मान्छेहरू आउन थाले । उनीहरूलाई हिँडाएर हलमा पुर्याएँ । तर, त्यसवेला मान्छेले बौलाएछ भने, तर बौलाएको त होइन रहेछु ।’ आफूले त्यसो गरेपछि नाटक महोत्सवमा सरगर्मी बढेको, तर त्यो एकेडेमीको पहल नभएर आफ्नो इच्छाशक्तिले गर्दा भएको बताउँछन् अनुप । अहिले त माहोल छ ।
दर्शकहरू टिकट काटेर नाटक हेर्छन् । तर, अझै पनि साझा सवालका कुरामा रंगकर्मीहरू एक ठाउँमा आइनसकेको बुझाइ छ उनको । सामूहिक स्वार्थ र हितका लागि लड्नुपर्छ भन्ने भाव निर्माण भइनसकेको हो कि लाग्छ उनलार्ई । प्र्रश्न गर्छन्, ‘यहाँ एउटा ग्रुपको मान्छेले अर्को ग्रुपको नाटकलाई हेरेर कहिले क्रिटिकल्ली कमेन्ट गरेको छ ? सामूहिक रूपमा बोल्दा नेपाली रंगमञ्चको स्वरूप धमिलो छ ।’