मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ ५ सोमबार १६:१८:००
Read Time : > 1 मिनेट
खेलकुद

पृथ्यु र रामनरेशको उत्कृष्ट प्रदर्शनमा बागमतीको दोस्रो जित

Read Time : > 1 मिनेट
२०७७ माघ ५ सोमबार १६:१८:००

पृथ्यु बाँस्कोटाले ब्याटिङ र रामनरेश गिरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । 

बागमतीले सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको भारी अन्तरले पराजित गरेको छ । पहिलो खेलमा आइतबार साबिक विजेता नेपाल पुलिसलाई पराजित गरेको बागमतीले दोस्रो जितसँगै समूह ‘बी मा शीर्ष स्थान कायम गरेको छ । उसको दुई खेलबाट चार अंक भएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ९९ रनको ठूलो योगफल तय गरेको थियो । टोलीको यो योगफलमा राष्ट्रिय टोलीबाट खेलिसकेका पृथ्युले सर्वाधिक ८४ रनको योगदान दिए । यस्तै, प्रारम्भिक ब्याट्सम्यान आदिल खानले ६३ रन जोडे । 

यी दुई खेलाडीले टोलीका लागि एक सय नौ रनको साझेदारी गरेका थिए । दुवैले आफ्नो इनिङमा १०–१० चौका प्रहार गरेका थिए । आइतबार नेपाल पुलिसविरुद्धको खेलमा अविजित ४८ रनको योगदान दिएका पृथ्युले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमनको संकेत गरेका छन् । यु– १९ राष्ट्रिय टोलीको कप्तानी गरेका उनले सिनियर टोलीबाट पनि खेलिसकेका हुन् । यद्यपि, चोट र विभिन्न कारणले उनी पछिल्लो समय राष्ट्रिय टोलीभन्दा बाहिर रहँदै आएका थिए । उनीहरूबाहेक कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२–३२ रन जोडेका थिए ।

कीर्तिपुर मैदानमा अहिलेसम्म बनेकोमध्येको यो ठूलो योगफल पछ्याउन सुदूरपश्चिमलाई निकै मुस्किल भयो । पहिलो ओभरबाटै विकेट गुमाउन सुरु गरेको सुदूरपश्चिम २१ ओभरमा एक सय १९ रनमै समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तो योगफलमा समेट्न बागमतीका रामनरेश एक्लैले चार विकेट लिए । उनले खेलको पहिलो ओभरमै सुदूरपश्चिमको प्रारम्भिक चरणका तीन खेलाडीलाई आउट गराएका थिए । उनले एकै ओभरमा प्रारम्भिक खेलाडी गजेन्द्र बोहोरा (०), अरुण ऐरी (०) र सञ्जु दमाईं (०) लाई कुनै रन जोड्नुअघि नै आउट गराएका थिए । 

त्यसपछि उनले सुदूरका कप्तान सन्तोष भट्टलाई दुई रनमै आउट गराए । महत्वपूर्ण विकेट लिँदै टोलीलाई सहज जित दिलाएका रामनरेश नै म्यान अफ दी म्याच चुनिए । उनीबाहेक नन्दन यादवले सुदूरको दुई विकेट लिएका थिए । 

सुदूरका लागि नवौँ क्रमका नारायण जोशीले अविजित ४४ रन जोड्नेबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । अर्जुन साउदले ३१ र किरण ठगुन्नाले २४ रन जोडे । सुदूरका ६ खेलाडी विना कुनै रन आउट भएका थिए । बलिङतर्फ सुदूरका नारायण जोशीले तीन तथा भोजराज भट्ट र सन्तोष भट्टले दुई–दुई विकेट लिएका थिए । प्रतियोगितामा सुदूरको यो पहिलो खेल हो ।