मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २१ शुक्रबार
  • Friday, 05 March, 2021
केदार दाहाल काठमाडौं
२०७७ माघ ५ सोमबार ०६:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सामान्य बिग्रिएको ट्विनअटर आठ वर्षदेखि ह्याङ्गरमा

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ माघ ५ सोमबार ०६:१९:००

मर्मत गरेर दैनिक १० वटा उडान गर्न सकिने, तर ६० लाखमा मर्मत गर्न छाडेर ६० करोडको जहाज किन्नतिर निगम नेतृत्वको चासो

नेपाल वायुसेवा निगमको प्रत्येकपटक आउने नेतृत्वले जहाज मर्मतभन्दा खरिदमा ध्यान दिने गरेको कारण आठ वर्षदेखि निगमको एउटा जहाज ह्याङ्गरमा थन्किएको छ । जुन सामान्य मर्मत गरेर दैनिक १० वटा उडान गर्नसक्ने अवस्थामा छ । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान गर्ने ट्विनअटर डिएचसी ६–३०० कलसाइन एबिएक्स जहाज ९ भदौ, ०६९ मा लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा सामान्य समस्या आएपछि ग्राउन्डेड गरिएको थियो । त्यसयता निगमको नेतृत्व मात्रै होइन, पर्यटन मन्त्रालयमा पनि दर्जनौँ मन्त्री तथा सचिव फेरिएका छन् । तर, सामान्य मर्मत गर्दा उडान गर्न सकिने जहाज आठ वर्षदेखि ह्याङ्गरमा थन्क्याएर राखिएको छ । 

जहाजको इन्जिनको साइनकल बाँकी नै छ । विङको लाइफ सकिएको छ । तर, सबै बडी तथा पार्टस्को परीक्षण गर्न भने जरुरी छ । त्यसका लागि निगमकै इन्जिनियरहरूसमेत रहेका छन् । जहाज मर्मत गरेमा दैनिक १० वटासम्म उडान गर्न सकिने इन्जिनियरहरू बताउँछन् । निगम सञ्चालक समितिका सदस्यसमेत रहेका नेपालको ट्विनअटर जहाजका वरिष्ठ इन्जिनियर अच्युतराज पहाडी जहाज मर्मत गरेर उडाउन सकिने अवस्थामा रहेको बताउँछन् । ‘जहाज मर्मत गरेर मज्जाले उडान गर्न सकिन्छ, तर नियतवश नगरिएको हो,’ पहाडीले भने । 

त्यही ट्विनअटर बिएचसी ६–३०० जहाज मोडलका दुईवटा जहाज कलसाइन एबिटी र एबियु जहाज भने अझै उडान गरिरहेका छन् । चारजना क्याप्टेन र सातजना कोपाइलट पनि रहेका छन् । निगम व्यवस्थापनले चाहने हो भने केही हप्तामै थप तीनजना क्याप्टेन तयार गर्न सक्छ । तर, नयाँ जहाज खरिदमा चासो दिने निगम व्यवस्थापनको प्राथमिकताका कारण आठ वर्षदेखि ग्राउन्डेड जहाज मर्मतमा बेवास्ता गरिएको छ ।

 निगमको मर्मत–सम्भार विभागमा कार्यरत इन्जिनियरहरूका अनुसार जहाज व्यवस्थापनले चाहने हो भने १५ देखि २५ दिनभित्रमा उडानका लागि तयार पार्न सकिन्छ । जहाज मर्मतमा ४५ लाखदेखि ६० लाख रुपैयाँ लाग्ने अनुमान छ । ‘मर्मत गर्ने हो भने अझै पाँच वर्षभन्दा बढी सजिलै उडान गराउन सकिन्छ,’ एक इन्जिनियरले भने । 

निगम व्यवस्थापनमा मर्मतभन्दा नयाँ जहाज खरिदमा चासो हुँदा वर्षौँदेखि जहाज मर्मत हुन नसकेको ती इन्जिनियरले बताए । पछिल्लो समय क्यानेडियन कम्पनीले डिएचसी ६–४०० सिरिजका जहाज संसारभर बिक्री गरिरहेको छ । नेपालमा पनि निजी वायुसेवा कम्पनीहरूले सोही सिरिजका जहाज खरिद गरेका छन् । जसको मूल्य ६० करोड रुपैयाँ हाराहारी पर्नेछ । 

 एकछत्र राज गरेको निगमका ट्विनअटर जहाज कोमामा 
निगमले ०७१ मा आठवटा क्यानेडियन डिएचसी ६–३०० सिरिजका जहाज खरिद गरेको थियो । जहाज नेपाल आएपछि निगमले देशभरका पहाडी दुर्गम क्षेत्रमा झन्डै तीन दशक एकछत्र राज गरेको थियो । पछिल्लो समय निजी वायुसेवा कम्पनीको उदयसँगै निगम व्यवस्थापनको कमजोरीको फाइदा उठाउँदै निगमका जहाजलाई दुर्गम क्षेत्रबाट बिस्तारै विस्थापित गर्ने क्रम सुरु भयो ।

अझै यती समूहको यती एयरलाइन्स र सन् २००८ पछि तारा एयरलाइन्सले दुर्गम क्षेत्रमा उडान गर्न थालेपछि निगम व्यवस्थापनमा यती समूह हाबी हुन थाल्यो । जसको फलस्वरूप सन् २०११ मा तारा एयरलाइन्सले दुईवटा जहाज भाडामै लगेको थियो । दुवै जहाज दुर्घटना भइसकेका छन् । 

निगम सञ्चालक समितिमा निजी हवाई कम्पनीका एजेन्टहरू हाबी रहेकाले निगमका जहाज मर्मतभन्दा खरिदमा चासो राख्ने गरेका छन् । जसका कारण वर्षौँदेखि जहाज मर्मत नै हुन सकेका छैनन् । अहिले पनि निगम व्यवस्थापनमा यती समूहका एजेन्ट फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेल नियुक्त गरिएको छ ।

निगममा मुख्य गरी दुर्गम क्षेत्रमा राज गरेको तारा एयरलाइन्सलाई ट्विनअटर जहाज मर्मत र खरिदमा उनीहरूको मुख्य चासो हुने गरेको छ । ‘निगमले सस्तोमा दुर्गम क्षेत्रमा उडान सुरु गर्न सकेमा तारा एयरलाइन्सको बजार हिस्सा गुम्ने चिन्ता हो, सोहीअनुसार व्यवस्थापन त्यतैतर्फ लाग्दा समस्या भएको हो,’ निगमका एक उच्च अधिकारीले भने । 

मर्मतभन्दा खरिदमा नयाँ व्यवस्थापनको चासो 
भदौमा नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका डिमप्रकाश पौडेललाई पनि मर्मत–सम्भार विभागका इन्जिनियरहरूले पटक–पटक भेटेर जहाज मर्मतका लागि आग्रह गरेका छन् । उनीहरूले जहाज मर्मत गरेर तीनवटा जहाजले उडान भर्दा दैनिक ३० वटा उडान दुर्गम क्षेत्रमा गर्न सकिने भन्दै सुझाब नै दिएका थिए ।  

पौडेलले केही साताअघि पर्यटन मन्त्रालयलाई १० वर्षे व्यावसायिक योजना बुझाउँदै आन्तरिक उडानका लागि चारवटा ट्विनअटर जहाज खरिद गर्ने योजना नै पेस गरेका छन् । तर, अहिले दुईवटा उडान गरिरहेको जहाजले पनि यात्रु र गन्तव्य नपाउँदा दैनिक एक–एक उडान मात्रै गरिरहेका छन् ।

‘मार्केट विस्तार गर्नका लागि तीनवटा जहाज नै पर्याप्त छन्,’ निगमका एक अधिकारीले भने । निगम व्यवस्थापनले आन्तरिकतर्फ पनि सुगम र दुर्गम दुवै क्षेत्रमा उडान गर्नका लागि चार–चारवटा जहाज खरिद गर्ने योजना तयार पारेको छ । हाल आन्तरिक उडानका लागि ६ वर्षअघि खरिद गरिएका चिनियाँ ६ वटा जहाज ग्राउन्डेड गरिएका छन् ।

नयाँ योजनाअनुसार सन् २०२१ भित्रै दुईवटा एटिआर ७२ सिरिजका जहाज खरिद गरेर सुगम क्षेत्रमा उडान गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, सन् २०२२ मा थप दुईवटा जहाज खरिद गरेर एटिआर ७२ सिरिजका जहाज चारवटा बनाउने लक्ष्य राखिएको छ । यता दुर्गम क्षेत्रमा उडानका लागि ट्विनअटर वा भाइकिङ सिरिजका जहाज सन् २०२३ मा दुईवटा र सन् २०२४ मा दुईवटा गरेर चार जहाजमार्फत दुर्गम क्षेत्रमा सेवा दिने लक्ष्य निगमले राखेको छ ।

ऋणमाथि ऋण थप्दै निगम 
निगम पछिल्लो समय वार्षिक पाँच अर्ब घाटामा छ । पुस मसान्तमा सञ्चयकोषलाई तिर्नुपर्ने ६८ करोड तिर्न सकेको छैन । चारवटा जहाजको ब्याज मात्रै चार अर्ब ७१ करोड आठ लाख ६ हजार तीन सय २४ रुपैयाँ बाँकी छ । भुक्तानी गर्न बाँकी ब्याजलाई सावाँमा गाभ्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव निगमले गत वर्ष नै पठाएको छ । तर, अहिलेसम्म सावाँमा गाभिएको भने छैन ।

निगमले हालसम्म एक अर्ब ३१ करोड ६ लाख रुपैयाँ मात्रै किस्ता भुक्तानी गर्न सकेको छ भने हालसम्म ०७२ देखि ०७७ सम्म ब्याज र किस्ता पाँच गरेर पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । चारवटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ रहेको छ । दुईवटा ३२० जहाजको नौ अर्ब ९८ करोड ११ लाख रहेको छ भने दुई थान ३३० जहाजको २३ अर्ब ९९ करोड ६१ लाख छ । निगमले सञ्चयकोष र नागरिक लगानीकोषसँग ३३० जहाजका लागि १२–१२ अर्ब ऋण लिएको थियो ।