हामी सन् २०२१ मा कोभिड–१९ बाट मुक्त हुने मार्गमा हुनेछौँ । यसका लागि हामी खोपको दिशामा अघि बढिसकेका छौँ । १० भन्दा बढी मुलुकमा खोपको सुरुवात भइसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि सन् २०२० को अन्तिममा खोपलाई स्वास्थ्य आपत्कालका अनुरूप मान्यता दिएको छ ।
भारतमा पनि अक्सफोर्ड एस्ट्राजेनेकाको कोभिसिल्ड र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको स्वीकृति दिने तय भएको छ । भारतमा अन्य भ्याक्सिनले पनि स्वीकृति हासिल गर्न सक्छन् । खोपनिर्माता आ–आफ्नो हिसाबमा खोपलाई प्रभावकारी बनाउन लागिपरेका छन् ।
भारतमा खोप कार्यक्रमको पूर्वतयारी पनि चलिरहेको छ । भारत खोपनिर्माता कम्पनीहरूसँग निरन्तर सम्पर्कमा छ । खोप पनि बनिसकेको छ । आफ्नो परीक्षणको प्रारम्भिक तीन चरण पूरा भइसकेको छ । यस आधारमा आपत्कालीन स्वीकृति पाउने निश्चितप्रायः छ । हुन त हालसम्म पनि खोपको मूल्य, कति डोज दिने हो, त्यसबारे धेरै कुरा बाहिर आइसकेको छैन, तर भारत सरकारले खोपका पछिल्ला विकासक्रममा विशेष चासो दिइरहेको स्पष्ट पारेको छ ।
खोपका मामिलामा सरकारले संसारभरका वैज्ञानिक प्रयासमाथि निगरानी राख्नुपर्छ । एक हिसाबले भन्ने हो भने तीसँग जोडिनुपर्छ । खोपको प्रभावकारितामा विशेष रूपमा ध्यान दिन आवश्यक हुन्छ । भारतको ठूलो जनसंख्यालाई खोप लगाउनका लागि सरकारले विभिन्न स्तरको तयारी गरिरहेको छ । झन्डै ९६ हजार खोपदातालाई देशव्यापी खोप अभियानका लागि प्रशिक्षित गरिँदै छ । राष्ट्रिय प्रशिक्षणद्वारा दुई हजार तीन सय ६० प्रशिक्षक तयार भइसकेका छन् ।
जनतामा भ्याक्सिनको माग र स्वीकार्यतालाई लिएर सोच र बुझाइमा निकै ठूलो भिन्नता छ । कैयौँ प्रकारका भ्रमले मानिसको विचारलाई प्रभावित पारिरहेको छ ।
देशभरका सात सय १९ जिल्लामा जिल्लास्तरीय प्रशिक्षणमा ५७ हजारभन्दा बढी प्रशिक्षार्थीलाई तालिम दिने काम सम्पन्न भएको छ । खोप र सफ्टवेयरसम्बन्धी प्रश्नका लागि राज्यले १०४ हेल्पलाइन नम्बर हुने गरी व्यवस्था गरिरहेको छ । खोप अभियान अगाडि बढेपछि तल्लो स्तरका मानिसलाई जोड्नका लागि थप सुविधा दिनु आवश्यक हुन्छ ।
सरकार र अन्तर्राष्ट्रिय संगठनले बारम्बार प्रयास गर्दा पनि कोरोना भ्याक्सिनको चुनौती अझै घटेको छैन । स्वास्थ्य आपत्कालको यो परिस्थितिमा सफल भ्याक्सिन बजारमा आउन लागेको छ । त्यसपछि के सुनिश्चित गर्नुपर्नेछ भने समयमै मानिसलाई भ्याक्सिन दिन सकियोस् । हामीलाई थाहा छ, भारतमा यो निकै ठूलो काम हो । भ्याक्सिन समान रूपमा सबैलाई उपलब्ध गराउन सकियोस् भनेर एउटा प्रारूप तयार गरिएको छ ।
अहिलेसम्म भारतमा अधिकांश खोप कार्यक्रम केटाकेटीलाई लक्षित गरेर मात्रै तयार गरिएको छ । अहिलेसम्म यति ठूलो स्तरमा खोप लगाउने व्यवस्था गरिएकै थिएन । यो नयाँ खाले चुनौती हो । भारतमा खास गरेर स्वास्थ्य प्रशासनका लागि यो परीक्षाको घडी हो ।
प्रशासनका विभिन्न स्तरमा कोरोना भाइरसको खोप अभियानको तयारी तीव्र गतिमा जारी छ । तर, भारतका विभिन्न क्षेत्रमा महामारी संक्रमणको गति र प्रभावमा ठूलो अन्तर देख्न सकिन्छ । यस आधारमा खोपलाई लिएर मानिसमा त्यसको आवश्यकता र विश्वसनीयतामाथि आशंका छ । जनताका बीच भ्याक्सिनको माग र स्वीकार्यतालाई लिएर सोच र बुझाइमा निकै ठूलो भिन्नता छ । कैयौँ प्रकारका भ्रमले मानिसको विचारलाई प्रभावित पारिरहेको छ । भ्याक्सिनलाई राख्ने तरिका र त्यसको प्रभावकारितालाई लिएर पनि मानिसको मनमा नकारात्मक वैचारिकी निर्माण भएको छ ।
उता, अमेरिकामा पहिले नै कोभिड–१९ को खोप दिन थालिसकिएको छ । इजरायलमा पनि अहिलेसम्म सात प्रतिशत मानिसलाई खोप दिइसकिएको छ । बेन्जामिन नेतान्याहुले भ्याक्सिन लगाइसकेका छन् । मानिसलाई जागरुक र प्रेरित गर्नका लागि उनलाई दिइएको खोपको सीधा परीक्षण गरिएको थियो । संसारमा ठूला–ठूला नेताहरूले अघि सरेर खोप लगाइरहेका छन् र अन्य मानिसले त्यसबाट प्रेरणा लिइरहेका छन् । भारत पनि यसरी नै अघि बढ्न सक्छ । अमेरिकासँगै स्विट्जरल्यान्ड, मलेसिया, ब्रिटेन, बहराइन, क्यानडा, मेक्सिको, रुस र चीनमा पनि खोप अभियान चलिरहेको छ ।
(लेखक जनस्वास्थ्य विशेषज्ञ हुन्) हिन्दुस्तानबाट