नवौँ संस्करणको आइएमई नेपाल लिटरेचर फेस्टिभल मंगलबारदेखि पोखरामा सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना र र्यान्डम रिडर्स सोसाइटीको सहआयोजना तथा आइएमई ग्रुपको मुख्य प्रायोजनमा आयोजित फेस्टिभल बुधबारसम्म चल्नेछ । साहित्य, कला, संस्कृतिलगायतका विषय गरी १५ वटा सेसन हुने फेस्टिभल कोभिडका कारण यस वर्ष भर्चुअल माध्यमबाट आयोजना गरिएको छ । पहिलो दिन युवा पुस्ताले आफ्ना अनुभव साटासाट गरे ।
‘साहित्य र अर्थशास्त्र नदीका दुई किनार होइनन्’
अर्थशास्त्री विश्व पौडेलले ‘साहित्यको अर्थ’ विषयमा विद्वत् प्रवचन दिए । नेपालमा साहित्य लेखनको सुरुवात र त्यसले अर्थतन्त्रमा पारेका प्रभावका विषयमा विचार राखे । साहित्य र अर्थशास्त्र नदीका दुई किनार नभएको भन्दै उनले आर्थिक नीतिहरूले साहित्यको सम्वद्र्धनमा असर पार्ने बताए ।
साहित्यले अर्थशास्त्रलाई धेरै मद्दत गर्न सक्ने उनको भनाइ थियो । ‘गरुडनारायण गोंगलले १८४६ सालमा लेखेको ‘सम्झना’ पढेर हामीलाई भक्तपुरे मल्ल राजा रणजित मल्लको खानाका लागि मसिना चामल, छाँटाको दाल, मुगीको दाल, घिउ, तेल, अचार, रोटी चाहिन्थ्यो भन्ने जानकारी हुन्छ,’ पौडेलले भने, ‘अर्थशास्त्र प्रायः ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आएजस्ता प्रश्नको उत्तर खोजिरहेको हुन्छ ।’
मदन पुरस्कार पोखराका लागि ‘सप्र्राइज’
फेस्टिभलको पहिलोे सत्रमा मदन पुरस्कार विजेता पुस्तक ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँसँग पत्रकार राजकुमार बानियाँले विविध विषयमा छलफल गरे । लेखक बानियाँले मदन पुरस्कारपछि आफू परिचित भएको बताए । एकैचोटि नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाउँदा आफू बस्दै आएको पोखराका लागि ‘सप्र्राइज’ भएको उनको भनाइ थियो ।
आफ्नाबारेमा पोखरेलीलाई केही थाहा नभएका कारण पुरस्कार जितेको खबर ‘पोखराका लागि हर्ष न विस्मात्’सरह भएको बानियाँले बताए । उनले एउटा बाटो छाडेर अर्को बाटोमा हिँडेर पनि सफलता पाएकाले सन्तुष्टि व्यक्त गरे । महारानीमा आधारित भएर सिनेमा बनाउन धेरैतिरबाट प्रस्ताव आएको भन्दै उनले राम्रो निर्माता पाए दिने घोषणा गरे ।
‘महारानी’को चर्चा आफ्ना लागि अनपेक्षित भएको भन्दै उनले भने, ‘पुरस्कृत होला भन्ने कल्पनै थिएन ।’ इतिहासकै घटना, इतिहासकै पात्र र ऐतिहासिक तथ्य प्रयोग गरिएकाले यो किताब इतिहासको नजिक भएको उनले दाबी गरे । लेखकलाई सरल, प्रचार नचाहने व्यक्तित्व भन्दै चिनाएका राजकुमार बानियाँले उपन्यासका कमीकमजोरी औँल्याउन भने छाडेनन् ।
उनले सोधे, ‘नाम महारानी, तर घनश्याम पात्रमार्फत राजाकै महिमामण्डन गरिएको छ नि ?’ इतिहासका बारेमा लेख्दा वर्तमानमा उभिएर लेखिने भएको भन्दै चन्द्रप्रकाशले भने, ‘उपन्यासका राजा घनश्यामलाई उदार, न्यायप्रेमी र प्रतापी देखाउनुमा मेरो राजनीतिक आदर्श र आमआकांक्षा पनि जोडिएको छ ।’
युवा महिला उद्यमीका अनुभव
सोसल चेन्जमेकर एन्ड इन्नोभेटर्स (सोचाइ) की संस्थापक बोनिता शर्मा ‘खाली सिसी’ संस्थाकी आयुषी केसी र सोनिका मानन्धरसँग आभास्ना पाण्डे दोस्रो सत्रको ‘कर्मठ केटीहरू’ छलफलमा जुटिन् । उनीहरूले आफ्ना उद्यम, चुनौती, समाज, राज्य र अन्तर्राष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहारलगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरेका थिए ।
सन् २०१९ मा बिबिसीले विश्वका प्रेरणादायी र प्रभावशाली महिलामा परेकी शर्माले बाल कुपोषण न्यूनीकरण र मातृस्वास्थ्य सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिडका कारण धरापमा परेको बताइन् । मानन्धरले २५ वर्षदेखि महिलाको हालत उस्तै रहेको भन्दै लामो समयदेखिको महिलाहरूको योगदानलाई नेपालमा विश्वास नगरिएको भन्दै असन्तुष्टि जनाइन् । आयुषीले देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा आफूले निरन्तर घचघच्याइरहनुपर्छ भन्दै निरन्तरको प्रयासले नै काठमाडौं महानगरपालिकासँग मिलेर काम गर्ने अवस्थामा पुगेको बताइन् ।
अर्थशास्त्री विश्व पौडेल ।
‘के सम्पदा के बसोवास शीर्षक’मा वास्तु एवं ग्रामीण विकासविज्ञ मिलन बगालेसँगै सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरीसँग आलोकसिद्धि तुलाधर गफिए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनामा परामर्शदाता बगालेले ३२ वटा जिल्लामा पुनर्निर्माणको महायज्ञ चलिराख्दा गाउँघर एक वा दुई कोठामा सीमित भएको बताए ।
हाम्रो जीवनशैली र घरको के अन्तर्सम्बन्ध हो, त्योभित्र के–के अटाउनुपथ्र्यो, कृषिमा आधारित जीवनशैलीमा हाम्रो जीवन कसरी रमाएर बस्थ्यो ? लगायतका विषयमा ध्यान दिन नसकेको उनको भनाइ थियो । पुरीले परम्परागत शैलीको निर्माणको दिगोपन, विकासका नाममा भइरहेको डोजर विकास र जीवनशैलीसँगको सम्बन्धबारे प्रस्तुति दिएका थिए ।
पठन संस्कृतिबारे नवयुवा
‘पढ्ने पढाउने हुटहुटी’ विषयमा कारागारमा पुस्तकालय निर्माण अभियन्ता हरि खनाल, लेखक विकेश कविन र विद्यार्थी मनुश्री महतसँग पत्रकार स्वेच्छा राउतले अन्तर्क्रिया गरिन् । उनीहरूले पठनपाठनको महत्व र यसको प्रभावबारे छलफल गरे । किन पढ्ने, पठन संस्कृतिको विकासले समाज विकासमा के–कस्तो प्रभाव पार्छ भन्नेलगायत विषयमा पनि उनीहरूले चर्चा गरे ।
कोभिडबाट पाठ सिकेर भविष्यमा आउन सक्ने अन्य महामारीका लागि पूर्ण तयारीका साथ जुध्न तयार हुनुपर्नेमा सबैले जोड दिए । कारागारमा पुस्तक उपलब्ध गराउनुको अभिप्रायबारे हरि खनालले भने, ‘प्रकाशको आवश्यता त्यहीँ हुन्छ जहाँ अन्धकार हुन्छ । हाम्रो माग के छ भने कारागारलाई बन्दीगृह नबनाएर प्रज्ञा केन्द्र बनाइयोस् । जसले आफूलाई बुझेको छ, ऊ कारागारभित्र रहे पनि स्वतन्त्र हुन्छ । उसलाई बन्दी भन्न मिल्दैन ।’
‘सम्झनामा असाधारण लेखकहरू’ शीर्षकमा लेखकद्वय मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्रले आफ्नो बाल्यकाल र सिर्जनात्मक जीवनसँग जोडिएका अनुभव साटे । दीक्षित र मिश्रका सन्तान इल्या र रोशनले आ–आफ्ना पिताले कला, साहित्य एवं लेखकका क्षेत्रमा पुर्याएको विषयमा चर्चा गरे । ‘अद्भुत व्यक्तित्व, आधारण लेखन’ शीर्षकमा मनुजबाबु मिश्रबारे उनका पुत्र रोशन मिश्र र मदनमणि दीक्षितबारे साहित्यकार एवं दीक्षितकी सुपुत्री इल्या भट्टराईले विविध पाटोमा आधारित रहेर आफ्ना विचार राखे ।
सिनेमाको ९५ प्रतिशत काम बन्द
‘कोरोनापछिको सिनेमा’ विषयमा पत्रकार यज्ञशले फिल्मकर्मी भाष्कर ढुंगाना, मीन भाम र प्रियंका कार्कीसँग अन्तर्क्रिया गरे । विश्वव्यापी रूपमा फैलिरहेको कोभिडले फिल्म क्षेत्रमा पारेको प्रभावका विषयमा चर्चा गर्दै उनीहरूले नेपाली फिल्म क्षेत्रलाई के–कस्ता चुनौती थपिए, त्यसबाट निकास पाउन आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरे ।
यो सत्रका वक्ताहरूले प्रविधिका कारण सिनेमा क्षेत्रमा परिरहेको प्रभाव र नेपाली सिनेमाको विश्वव्यापीकरणका लागि गर्नुपर्ने अनि चाल्नुपर्ने कदम एवं कामका विषयमा पछि छलफल गरे । अभिनेत्री प्रियंका कार्की भने प्रत्यक्ष उपस्थित नभई भर्चुअल्ली जुमबाट छलफलमा सहभागी भएकी थिइन् ।
‘कोरोनाकालमा आर्थिक हिसाबले सिनेमा उद्योगलाई कति घाटा लाग्यो होला ?’ प्रस्तोताको प्रश्नमा भाष्कर ढुंगानाले नेपालमा प्रायः देशको राष्ट्रिय चरित्रबारे छलफल नहुने र विज्ञान वा विश्लेषणमा नचल्ने बताए । सिनेमा क्षेत्र कोरोनाका कारण सबैभन्दा पहिला बन्द र सबैभन्दा अन्तिम खुल्ने क्षेत्र रहेको भन्दै झन्डै नौ महिना छायांकन र हल सञ्चालनलगायत प्रायः काम ठप्प भएका आधारमा सिनेमा उद्योगको ९५ प्रतिशत काम बन्द रहेको उनको भनाइ थियो ।
निर्देशक मीन भामले यो समयमा सर्जकहरूले आफ्नो काममा परिष्कार ल्याउन मद्दत गरेको, आफ्नै फिल्मको पटकथा पुनर्लेखन गर्ने अवसर पाएको बताए । कोरोनाकालमै नयाँ सिनेमाका लागि थप स्पोन्सर र आर्थिक वृत्ति खोज्न समय दिएको उनको भनाइ थियो । हालको अप्ठ्यारो परिस्थितिलाई सिर्जनात्मक अवसरका रूपमा उपयोग गर्ने प्रयास गरेको अभिनेत्री प्रियंकाले बताइन् ।