आदिवासीको अनुभवमा आधारित ज्ञानलाई आत्मसात् गर्दै अघि बढ्न सकेको भए सायदै विपत्को सामना गर्नुपर्थ्यो
कोरोनाका कारण विश्व नै यतिखेर थिलथिलो छ । यो महाव्याधिको आँधी न रोकिएको छ, न त रोकिने छाँटकाँट नै देखिएको छ । बरु भाइरसको उत्परिवर्तनका कारण नयाँ रूपहरू सशक्त रूपमा देखा पर्न थालेका छन् र यसले मानवजगत्लाई अझ थप भयाक्रान्त तुल्याएको छ । तर, यससँगसँगै मानव अस्तित्वको रक्षार्थ यसको नियन्त्रण र रोकथामका विभिन्न उपायहरू अपनाउने कार्य पनि हुँदै छन् । पछिल्लो चरण युरोपेली संघ इयूले कोभिड–१९ विरुद्ध लड्नका लागि खोप दिन सुरु गरेको छ । तर, खोपले पार्न सक्ने ‘साइड इफेक्ट’ वा नकारात्मक प्रभावका बारेमा पनि त्यत्तिकै टीकाटिप्पणी र बहस भइरहेका छन् ।
स्वास्थ्य विज्ञानका लागि समेत ठूलो चुनौती बनेको कोरोना भाइरसको उत्पत्तिबारे विभिन्न अड्कलबाजी हुँदै आएका छन् । तर, अधिकांश अध्ययनले पुँजीवादको जगमा उभिएको उपभोक्तावादी संस्कृति र प्राकृतिक स्रोतको दोहनलाई मुख्य कारक मानेका छन् । जब मानिसहरू प्राकृतिक शैलीबाट अप्राकृतिक एवम् कस्मेटिक जीवनशैलीमा पदार्पण गर्न थाले, यसले पर्यावरणमा यति असर पार्न थाल्यो कि प्रकृतिको चक्रीय प्रणालीमा नै असन्तुलन सुरु हुन थाल्यो र प्राकृतिक प्रकोपलगायत अनेकन् रोगव्याधि सिर्जना हुन थाले ।
प्रकृतितर्फ फर्क : १८औँ शताब्दीको मध्यतिर अंग्रेजी साहित्यमा स्वच्छन्दतावाद देखा परेको थियो । पहिलो पुस्ताका रूपमा परिचित विलियम ब्लेक, विलियम वर्डस्वर्थ आदि सर्जकले सिर्जनाको मूल स्रोत नै प्रकृतिलाई ठाने । यो उनीहरूको प्रकृतिप्रतिको अद्भूत प्रेम थियोे । सन् १८५० तिर अमेरिकामा ‘ब्याक टु दि नेचर’ अर्थात् प्रकृतितर्फ फर्क भन्ने अभियानै चल्यो । कवि, निबन्धकार हेन्री डेभिड थोरोले यस अभियानको नेतृत्व गरे । खासगरी उनीहरूले अमेरिकी आदिवासीको जीवनशैलीबाट प्रभावित भएर प्रकृतिको सान्निध्यमा रहनुपर्ने र सरल जीवनशैली जिउनुपर्ने जीवन–दर्शनलाई सैद्धान्तिकीकरण गरेका थिए । केही समय उनीहरूले आइसोलेसनमा बस्ने भगीरथ प्रयास पनि गरे, तर सकेनन् । जबकि व्यावहारिक रूपमै सदियौँदेखि आदिवासीहरूले प्रकृतिजन्य जीवनशैलीलाई अपनाउँदै आइरहेका थिए, जो अद्यावधि संसारका केही मुलुकमा छन् ।
यो विपत्तिले धेरै कुरा सिकाएको छ । एकचोटि मानवजगत्लाई प्रकृतितिर फर्किन या प्रकृतिलाई आत्मसात् गर्नका लागि सोच्न बाध्य तुल्याएको छ । त्यसो त अमेरिकी भाषाशास्त्री एवम् राजनीतिक विश्लेषक नोम चोम्स्कीले ‘प्राकृतिक स्रोतको दोहन यति बढेर गयो कि अबको मानव संकटलाई आदिवासी र उनीहरूको ज्ञान परम्पराले मात्र बचाउन सक्छ’ भनेर केही समयअघि भनेका थिए । तर, पनि असन्तुलित र एकपाखे समृद्धिको नाममा आकाश छुने महत्वाकांक्षा रोकिएन, जसले गर्दा नसोचेको परिणाम निम्तिँदो छ । आधुनिक विज्ञानलाई मात्र विश्वास गर्नुपर्ने एकाङ्गी भाष्य निर्माणले आदिवासी एवम् रैथाने ज्ञान परम्परालाई निषेध गर्दै लग्यो ।
साकेला मूलतः भूमिसँग सम्बन्धित चाड हो । यो चाड वर्षमा दुईपटक मनाइन्छ । एकचोटि मंसिरे पूर्णिमाको वेलामा मनाइन्छ, जसलाई उँधौली भनिन्छ भने अर्कोचोटि वैशाखे पूर्णिमाका वेलामा मनाइन्छ, जसलाई उँभौलीका रूपमा चिनिन्छ । उँधौली र उँभौलीलाई ऋतु परिवर्तनको सूचकका रूपमा लिने गरिन्छ ।
भूमि र साकेलाको अन्तर्सम्बन्ध : महाव्याधि फैलिन सुरु भएयता कति चाडपर्वहरू स्थगित भए होलान्, कति उत्सवहरू रोकिए होलान् । यसको कुनै लेखाजोखा छैन । किरात जातिलगायत प्रकृतिपूजकहरूको यस वर्षको भूमिपूजा स्थगित हुन पुगेको छ । सहज अवस्थामा भने मंसिरे धान्यपूर्णेको दिनदेखि सुरु भई पन्ध्र दिन अर्थात् पञ्चमीसम्म धुमधामका साथ मनाइने यस उँधौली चाडलाई विविध भाषी किरातीहरूले आ–आफ्नै नामले पुकार्ने गरेका छन् । कोइँच–सुनुवारले फलस्याँदर, लिम्बूले चासोक तङनाम भन्छन् भने अधिकांश किरात राईहरूले साकेला शब्द प्रयोग गर्ने गरेका छन् । अन्य केही नेपालका आदिवासीले भने ‘भुम्या पर्व’ भनेर पुज्ने गरेका छन् । साकेला मूलतः भूमिसँग सम्बन्धित चाड हो । यो चाड वर्षमा दुईपटक मनाइन्छ । एकचोटि मंसिरे पूर्णिमाका वेला मनाइन्छ, जसलाई उँधौली भनिन्छ भने अर्कोचोटि वैशाखे पूर्णिमाका वेला मनाइन्छ, जसलाई उँभौलीका रूपमा चिनिन्छ । उँधौली र उँभौलीलाई ऋतु परिवर्तनको सूचकका रूपमा लिने गरिन्छ ।
जब कर्याङकुरुङ प्रजातिको चरा उत्तरी क्षेत्र या उँभोतिर आउँछ, त्यसवेला ‘उँभौलीको समय सुरु भएछ र छरपाउ गर्ने समय आएछ’ भनिन्छ । अन्य आम आदिवासीले झैँ किरात राईहरूले पनि छरपाउ गर्ने समयमा भूमि अर्थात् धर्तीलाई पूजा गर्ने चलन छ । पूजा गर्दा नक्छो वा धामीले मुन्दुम फलाक्दै सबभन्दा पहिले प्रकृतिसँग क्षमायाचना गर्छ । साकेलाको मुन्दुमी दर्शन भनेको नै के हो भने भूमिलाई पनि जीवित आत्मा ठान्नु हो । प्राण भएजसरी व्यवहार गर्नु हो । त्यसकारणले भूमिको पूजा गर्दै भन्ने गर्छन्, ‘धर्ती तिमीले आफ्नो छातीमा हामीलाई अन्नपात उब्जाउने ठाउँ दियौ, तिमी धन्य छौ ।’ साथै अतिवृष्टि, रोगव्याधि, देसान, दोखबिमार केही नभइदेओस् भन्दै पुकार्छन् । पूर्णिमाको दिनदेखि पञ्चमीसम्म खनजोत गर्न वर्जित ठानिन्छ । यसको अर्थ भूमिलाई पनि विश्राम दिनुपर्छ भन्ने हो । यो अवधिभर किरातीहरू एकप्रकारले आइसोलेसनमा बसेबराबर आफूलाई ठान्छन्, जुन कुरा कोरोनाका कारण संसार शान्त तलाउजस्तै भएपछि पृथ्वीलाई पनि विश्राम चाहिँदो रहेछ भनेर पर्यावरणीय दृष्टिकोणले बहस भएकोे थियो । यो साकेलको मुन्दुमी दर्शनले हजारौँ वर्षअघि निर्देश गरेको कुरा हो ।
यसैगरी कर्याङकुरुङ बथान बाँधेर उँधो भूमध्यसागरतिर उडेपछि उँधौली सुरु भएको संकेत मिल्छ । यसवेला धर्ती वा भूमिलाई धन्यवादसहित अन्नपात दिलाइदिएकोमा आभार प्रकट गर्दै उँधौली गर्ने चलन छ । यसवेला पितृहरूको पनि स्मरण गर्ने गरिन्छ । यस अवसरमा साकेला थानमा नक्छोले मुन्दुम गर्छन् । त्यसपछि साकेला सिली गरिन्छ । यसले किरातीको प्रकृति, जीवजन्तु, चराचुरुंगी आदिसँगको सम्बन्धलाई देखाउँछ, जुन कुरा सिलीमा गरिने नक्कल वा अभिनयमा प्रतिबिम्बित हुन्छन् । आदिवासी किरातीको यो नितान्त प्रकृतिप्रतिको श्रद्धा हो भने मुन्दुमी दर्शनले नै प्रकृतिको अनावश्यक रूपमा दोहन गर्न नहुने मान्यतालाई अघि सारेको छ ।
पर्यावरण र आदिवासी ज्ञान–परम्परा : किरातीले मात्र होइन, आमआदिवासीले भूसंरक्षणलाई आफ्नो कर्तव्य सम्झन्छन् । कोलोम्बियाका अरुआचो आदिवासीले भूमि र जंगलको संरक्षण र समृद्ध तुल्याउनु मानवीय दायित्व ठान्छन् । इन्डोनेसियामा ओराङ रिम्बा भन्ने जाति छ, उनीहरूले बच्चा जन्मिनेबित्तिकै एउटा रुख रोप्छन् । किराती समुदायमा पनि कसैको मृत्यु भएमा चिहाननजिकै कदम, काभ्रो आदिको रुख रोपिदिने चलन छ । चेपाङ जातिले छोरी जन्मिनेबित्तिकै चिउरीको बोट रोपिदिने र पछि दाइजोका रूपमा चिउरीको रुख नै छुट्याइदिने चलन छ ।
कुन रुख काट्नुहुन्छ, कुन रुख काट्न वर्जित गरिएको छ भन्ने कुराहरू पनि उनीहरूको रैथान ज्ञानले दिशानिर्देश गरेको हुन्छ । किरातीले इसिलिम अर्थात् सानो कटुस प्रजातिको रुख काट्न नहुने मान्यता छ । यस्ता मान्यतालाई मिथकहरूले संहिता गरेका छन् । लिम्चुङबुङ प्रजातिको फूल किरातीको आदिम पुर्खा तयामा खियामासँग जोडिएको छ, जसले जीवन–मरणको प्रतीकात्मक अर्थ बोकेको हुन्छ । इन्डोनेसियाको सोलिगा जातिले भिरमौरी काढेपछि केही थोरै बाघले खाओस् भनेर राखिदिने वा भाग छुट्याइदिने चलन छ । किनभने बाघ रुख चढ्न सक्दैन, भिर चढ्न सक्दैन भन्ने मान्यता छ । बाघ त किरातीको टोटेम नै हो । किरातीले भिरमौरीको महलाई सोलिगा जातिले झैँ भाग छुट्याएर राखिदिने चलन छ । किरातीहरूले साकेला सिली गर्दा बाघ अर्थात् (चाप्चा, नुरु) सिली नै गर्ने चलन अद्यावधि छ ।
स्रोत व्यवस्थापनमा पनि आदिवासी ज्ञान निकै घतलाग्दो छ । बंगलादेशका जुम्माले स्थानान्तरण गरिरहन्छन्, जसरी नेपालमा राउटे जातिहरू पनि एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्छन् । जुम्माले स्थानान्तरणअनुसार नै खेतीपाती र खाद्य सुरक्षा अपनाउँछन् । उनीहरूले जमिनको उपभोग गर्दा पनि निकै थोरै ठाउँ मात्र प्रयोग गर्छन् । यसरी खेती गर्दा पनि एकै ठाउँमा विभिन्न प्रजातिका बिउ रोप्छन् र आफूलाई पुग्ने गरी फसल उठाउँछन् । बाहिरी आवरणमा राउटेलाई कोसला वा काठका सामग्री बनाएर वनविनाश गरेको आरोप लाग्ने गरेको छ, तर यो मिथ्या आरोप मात्र हो । बरु उनीहरूले स्थानान्तरण गरिरहनुको पछाडि एकै ठाउँमा बसेर काठको अधिक प्रयोग गरिरहनुहुँदैन भन्ने सन्देश लुकेको छ ।
अन्त्यमा : आज विश्व नै कोरोनाको महाव्याधिको आँधीले दपेटिरहेका वेला आदिवासीको अनुभवमा आधारित ज्ञानलाई समेत आत्मसात् गर्दै मानवजगत्लाई अगाडि बढाउन सकेको भए सायदै यस किसिमका विपत्को सामना गर्नुपर्ने थियो होला । अहिले पनि घुमन्ते जातिका रूपमा रहेका राउटेहरूलाई अरू जातिलाई जस्तो कुनै चिन्ता छैन । उनीहरू जंगलमै बस्छन् र बाहिरका मानिससँग पनि मुखियाबाहेक अरूको घुलमिल हुँदैन । केवल मुखियाले भौतिक दूरी कायम गरिदिए पुग्छ । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, मूलतः आदिवासीको प्रकृति संरक्षण र पर्यावरणीय ज्ञानलाई समेत आजको आधुनिक विज्ञान र समृद्धिको प्रवाहमा जोड्न सकेको भए प्रकृति सन्तुलनमय तुल्याउन ठूलो मद्दत पुग्ने थियो नै, अनपेक्षित कोरोनाजस्ता महाव्याधिको आँधी व्यहोर्नुपर्ने थिएन कि ?