मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ पौष १२ शुक्रबार ११:३o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनबाट आयात गरेर भारतमा हुन्छ लसुन तस्करी

स्याउ, ड्रोन र लाइटरपछि तस्करको ध्यान लसुनमा, पाँच महिनामै भित्रियो पाँच अर्ब ३६ करोडको लसुन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार ११:३o:oo

चोरी–पैठारीमा सरकारी निकायको फितलो नियन्त्रण प्रणालीले चीनबाट सामान ल्याएर भारतमा तस्करी गर्ने प्रवृत्ति बढेको छ । तस्करी निरुत्साहित गर्न हरेक वर्ष त्यस्ता वस्तुमा लाग्ने राजस्वको दर परिवर्तन गरिन्छ । तर, तस्करहरूले भने तस्करी गर्ने वस्तु फेर्दै आइरहेका छन् । यही क्रममा पछिल्ला चार वर्षमा चीनबाट आयात गरी भारततर्फ चार प्रकारका वस्तु तस्करी भइरहेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा चीनबाट ४० हजार ६ सय ४५ मेट्रिकटन लसुन आयात भएको छ । जसको मूल्य पाँच अर्ब ३६ करोडबराबरको हुन आउँछ । गत आर्थिक वर्षभरिमा १७ हजार ४१ टन (दुई अर्ब २२ करोड रुपैयाँ) मात्रै लसुन आयात भएको थियो । 

भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले लसुनको अस्वाभाविक आयातमाथि सूक्ष्म ढंगले अध्ययन भइरहेको बताए । उनले भने, ‘विगतमा ड्रोन, लाइटर र स्याउजस्तै अहिले चीनबाट लसुन आयात अस्वाभाविक रूपमा बढेको देखिन्छ । भारततर्फ तस्करी भएको छ कि भनेर हामी अध्ययन गरिरहेका छौँ ।’

भारतमा सन् २०१४ यता चिनियाँ लसुनमाथि प्रतिबन्ध कायम छ । फंगसको संक्रमण र उच्च विषादीको कारण देखाउँदै भारतले चिनियाँ लसुनमाथि प्रतिबन्ध लगाएको थियो । भारतीय भन्सार प्रशासनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले पनि नेपाल र बंगलादेशमार्फत तस्करीका लसुन बरामद भइरहेको खबर प्रकाशित गरेको छ । 

तस्करी नियन्त्रण गर्न ड्रोनको एचएस कोड नै तोकियो
आर्थिक वर्ष ०७९/८० मा ड्रोनको अस्वाभाविक आयात बढेपछि भन्सार विभागले यसलाई उच्च निगरानीमा राखेको थियो । सो आर्थिक वर्षमा नौ हजार नौ सय ७१ वटा ड्रोन आयात भएको थियो । भारततर्फ तस्करी भएको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान बढाएपछि यसको तस्करी रोकिएको थियो । 

सरकारले गत आर्थिक वर्ष ०८०/८१ को आर्थिक ऐन संशोधन गर्दै ड्रोनमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल बढाएर २० प्रतिशत पुर्‍याएपछि तस्करी नियन्त्रणमा आएको थियो । ड्रोनको अलग्गै एचएस कोड नभएकाले अन्य क्यामेरासरह यसमा भन्सार महसुल ५ प्रतिशत लिने गरिएको थियो । यद्यपि, ड्रोनको प्रयोजन भिडियो खिच्न मात्र नभई औषधि छर्किन, ढुवानी गर्न, आगो निभाउनजस्ता अन्य काममा पनि प्रयोग हुने भएकाले १५ प्रतिशत भन्सार महसुल लगाउनुपर्ने निष्कर्ष महालेखा परीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । भारतमा ड्रोन आयातमा प्रयोजनअनुसार ३१ प्रतिशतसम्म महसुल लगाइएको छ । भारतमा महँगो पर्ने भएकाले चीनबाट आयात गरी नेपालबाट तस्करी हुने आशंकामा नेपालले यसमा लाग्ने महसुल परिवर्तन गरेको थियो ।

प्रहरीकै संलग्नतामा स्याउ तस्करी
२९ जेठ ०७८ मा भारतीय प्रहरीले सुनसरी हुँदै भारततर्फ प्रवेश गरिरहेको तीन ट्रक चिनियाँ स्याउ बरामद गर्‍यो । छानबिनका क्रममा सशस्त्र र जनपथका प्रहरीहरूको संलग्नता पाइएपछि उनीहरू कारबाहीमा परेका थिए । 

त्यस्तै, गत वर्ष २३ वैशाखमा झापाको केचनाबाट स्याउ तस्करी भइरहेको अवस्थामा एक सय १५ कार्टुन स्याउ सशस्त्र प्रहरीको गस्तीले बरामद गरेको थियो । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र र जनपथका प्रहरी पुनः कारबाहीमा परेका थिए । अझै पनि चीनबाट आयात गरेर भारततर्फ स्याउ तस्करी हुने क्रम रोकिएको देखिँदैन । 

चिनियाँ स्याउको आयातमा अझै कमी आएको छैन । आर्थिक वर्ष ०७८/७९ मा चीनबाट पाँच अर्ब ९८ करोेडको स्याउ आयात भएको थियो । आव ०७९/८० मा पाँच अर्ब १५ करोडको आयात भएको थियो । आव ०८०/८१ मा सात अर्ब ५७ करोड र आव ०८१/८२ को पाँच महिनामा दुई अर्ब ९३ करोडको स्याउ चीनबाट आयात भएको विभागको तथ्यांक छ । 

भारतमा प्रतिबन्धपछि चिनियाँ लाइटरको तस्करी
भारतले स्थानीय सलाईको बजारलाई प्रोत्साहन गर्न २० भारतीय रुपैयाँभन्दा कम मूल्यका लाइटरसँगै यसका पार्टस् आयातमा पनि प्रतिबन्ध लगाएको छ । सोहीकारण तस्करी समूहले चीनबाट लाइटर आयात गरेर भारततर्फ तस्करी गर्न थाल्यो । यो विषयमा नेपालस्थित भारतीय दूतावासले नेपालको ध्यानाकर्षणसमेत गराएको थियो । यद्यपि, नेपालको भन्सार प्रशासनले लाइटरको तस्करी नियन्त्रण गर्न सकेको छैन । तस्करीलाई निरुत्साहित गर्न चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत लाइटरको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याइएको छ । 

विभागका अनुसार चालू आवको पाँच महिनामा चीनबाट २३ करोड ९२ लाखको पकेट लाइटर (ननरिफिलेबल) र १२ करोड ३८ लाखको रिफिलेबल लाइटर आयात भएका छन् । गत आव ०८०/८१ मा ननरिफिलेबल लाइटर तीन अर्ब ४६ करोडको र रिफिलेबल लाइटर १७ करोड ७० लाखको आयात भएको थियो । ०७९/८० मा ननरिफिलेबल लाइटर ४६ करोड १५ लाख र रिफिलेबल लाइटर एक करोड १६ लाखको आयात भएको थियो ।