मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार ११:४o:oo
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाली लगाउने वेला सधैँ रासायनिक मलको सकस : सरकारी गोदाममा मल, किसानलाई हाहाकार

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार ११:४o:oo

सप्तरीको छिन्नमस्ता गाउँपालिका– ४ का बलराम यादवको रासायनिक मल नपाउँदा गहुँ छर्न नपाएर जोतेको खेत सुक्न थालेको गुनासो छ । सदरमुकाम राजविराज दैनिक धाइरहेका उनले एक बोरा मल नपाएको बताए । ‘मल नपाएकाले खनजोत गरेर राखेको बारी दुई सातादेखि त्यतिकै छ । बर्खे सिजनमा पनि मलको यस्तै अभाव भोगेको छु, अहिले पनि त्यस्तै अवस्था छ,’ उनले भने, ‘छिट्टै गहुँ छरिएन भने माटो सुकिहाल्छ ।’ 

राजविराज नगरपालिका– १३ का अर्का किसान राजीव मण्डलले पनि रासायनिक मल नपाउँदा गहुँ छर्न नसकेको बताए । दुई बिघामा गहुँ छर्ने तयारी गरेकामा युरिया र डिएपी दुवै मल नपाएको उनले बताए । ‘धान काटेर सक्नासाथ मल मागिरहेको छु, तर अहिलेसम्म पाएकै छैन । हाम्रो मुख्य आम्दानीको स्रोत खेती नै हो अब के गर्नु ? मलविनै गहुँ छर्नुपर्ने हाम्रो पीडा कसले सुन्छ,’ उनले भने ।

किसानले मल नपाएको गुनासो गर्न थालेपछि कृषि औजारसहित राजविराजमा जनमत पार्टीले प्रदर्शनसमेत गरेको छ । मलको चरम अभाव खेप्दै आएका किसानले खेतीपातीको समयमा पनि मलखाद्य नपाउँदा समस्या भएको पाएपछि दबाब दिन सडक संघर्षमा उत्रनुपरेको जनमतका प्रदेश सांसद महेश यादवले बताए । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका कुर्थाका किसान ललन पण्डितले तोकिएभन्दा बढी मूल्य तिर्न बाध्य भइरहेको गुनासो गरे । ‘हतपती हामीलाई मल दिँदैनन्, दिए पनि तोकिएभन्दा २५ प्रतिशत बढी रकम लिएर मल दिन्छ,’ उनले भने । स्थानीय सहकारीले बढी मूल्यमा मल बिक्री गरेको भए अनुगमन गरी कारबाही गर्ने जिम्मा स्थानीय तहको भएको कृषि सामग्री कम्पनी, जनकपुरका निमित्त प्रमुख बेचन साहले बताए । सम्बन्धित स्थानीय तहको सिफारिसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सूचीकृत कृषि सहकारीलाई मल दिने र सहकारीले किसानलाई ढुवानी लागत जोडेर बिक्री गर्ने प्रावधान छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पूर्वी क्षेत्रमा रहेको चुच्चेखोला, गुरौ खोला, राजदेवी, बेलघारी, एक्लेखेतलगायत फाँटमा यतिवेला तोरी, गहुँ, आलु, मकै लगाएका किसानलाई रासायनिक मलको अभावले सताएको छ । हेटौँडा उपमहानगर– १७ गुरौ खोलाका मकुन्दलाल श्रेष्ठको करिब १२ कट्ठा खेतमा तोरी पहेँलो भएर फुलेको छ । यही वेला एकपटक युरिया छर्न पाए हुन्थ्यो भन्ने लागेको छ । 

‘खेतमा युरिया हाल्नुप¥यो भनेर कृषि सहकारीमा लिन गएको थोरै पाएँ, आवश्यकताअनुसार हाल्न पाएको भए तोरी राम्ररी उत्पादन हुन्थ्यो,’ उनले भने । चुच्चे खोलाका अर्का किसान कृष्णप्रसाद पराजुलीले पनि युरिया र डिएपी अभाव रहेको बताए । ‘म आज (बिहीबार दिउँसो) मात्रै साझा सहकारीमा मल पाइन्छ कि भनेर गएको थिएँ । मल त छ, तर धेरै दिँदैनन् । आफूलाई चाहिएजति नपाएपछि के पाइएको छ भन्नु,’ उनले भने ।

दाङको बबई गाउँपालिका– ३ घट्टेखोलाका नन्दलाल वलीले गहुँमा हाल्ने मल खरिदका लागि पर्खेको करिब एक महिना भइसक्यो, तर अझै पाएका छैनन् । अबको १५ दिनमा पनि मल नपाए गहुँ उत्पादनमा गिरावट आउने चिन्ताले उनलाई सताउन थालेको छ । करिब डेढ बिघा क्षेत्रफलमा गहुँखेती गरेका उनलाई दुई बोरा युरिया र एक बोरा डिएपी चाहिएको छ । तर, अहिलेसम्म पनि नपाएको उनी गुनासो गर्छन् । ‘पटक–पटक सहकारीमा धाएँ, तर पाइएको छैन,’ उनले भने । सहकारीका सञ्चालकले आफ्ना नातागोतालाई मल वितरण गर्ने प्रवृत्तिले गर्दा अभाव हुने गरेको उनको गुनासो छ । बाँकेका किसान पनि गहुँबालीमा हाल्ने युरिया नपाउँदा तनावमा छन् । मल नपाएकै कारण गहुँमा सिँचाइ गर्न नसकेको डुडुवा गाउँपालिका– ६ भंघोटनाका किसान जयपाल मौर्यले गुनासो गरे । ‘मल पाउने पर्खाइमा छु,’ उनले भने ।

राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले पनि युरिया नपाउँदा गहुँ पहेँलो भएको बताए । उनले गहुँमा सिँचाइ गरे पनि युरिया हाल्न नसकेको बताए । ‘जुनवेला आवश्यक पर्छ त्यतिवेला मल पाइँदैन । गहुँबालीका लागि यतिवेला युरिया अत्यावश्यक छ, तर कहीँ–कतै पाइराखेका छैनांँ,’ उनले भने, ‘भारतबाट समेत ल्याउन दिइएको छैन । यस वर्ष गहुँ उत्पादन घट्ने सम्भावना बढेर गएको छ ।’ भारतबाट ल्याउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लठीले कुट्ने गरेको जानकी गाउँपालिका– २ बेलभारका दिनेश बर्माले गुनासो गरे । 

सुदूरपश्चिमका किसानले पनि मल नपाएर हैरानी खेपिरहेका छन् । अन्यत्रभन्दा छिटो धान काटेर भिœयाएका कैलाली र कञ्चनपुरका किसानले गहुँ रोपिसकेका छन् । गहुँ रोप्ने वेला डिएपीको अभाव खेपेका किसानले अहिले सिँचाइ गरेर युरिया हाल्न पाएका छैनन् । सीमावर्ती क्षेत्रका कतिपय किसान भने भारतीय बजारबाट लुकीछिपी मल ल्याउन बाध्य छन् । 

कैलारी गाउँपालिका, हसुलियाका किसान लक्ष्मीप्रसाद चौधरीले खेतमा पानी लगाइसकेर युरिया हाल्न कुरेर बसेको बताए । ‘सिँचाइ गरेपछि गहुँमा युरिया मल हाल्नुपर्छ, तर मल पाइएको छैन । गाउँको सहकारीमा पनि मल छैन,’ उनले भने, ‘मल नपाएर समस्या भएको छ । गहुँ छर्ने वेला पनि समयमै डिएपी मल नपाएर समस्या भएको थियो ।’

कोशी प्रदेशका किसानले पनि बारीमा मल पाएका छैनन्, तर, कृषि सामग्रीको गोदाममा भने पर्याप्त मौज्दात छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रबन्धक नरेशकुमार सापकोटाले युरिया १० हजार १५३ टन, डिएपी ६९४ टन, पोटास २४९ टन र कृषि चुन ४३ टन मौज्दात रहेको जानकारी दिए ।

मधेशमा मागको १५ प्रतिशत मात्रै आपूर्ति
मधेश सबैभन्दा बढी कृषिउपज उत्पादन हुने प्रदेश हो । यहाँका किसानले समयमै मल नपाउँदा समग्र उत्पादनमै असर पर्ने गरेको छ । मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरका लागि माग गरिएको भन्दा ८५ प्रतिशत मल अझै अपुग रहेको जनाएको छ । 

मन्त्रालयमा मलखाद्य हेर्न कर्मचारी अमर मण्डलका अनुसार गहुँबालीका लागि युरिया ६६ हजार ६५६ मेट्रिकटन माग गरेकामा १० हजार १५५ मेट्रिकटन अर्थात् १५.२३ प्रतिशत मात्रै आपूर्ति भएको छ । डिएपी मल ३८ हजार १३७ मेक्ट्रिकटन आवश्यक रहेकोमा १० हजार ६२ मेक्ट्रिकटन अर्थात् २६.३८ प्रतिशत मात्रै आपूर्ति भएको उनले जानकारी दिए । किसानले मागेजति मल दिन नसकिरहेको कृषि सामग्री कम्पनी, जनकपुरका निमित्त प्रमुख बेचन साहले स्विकारे । ‘यहाँका किसानलाई मलखाद्यको बढी आवश्यकता छ । तर, मागअनुसारको आपूर्ति हुन सकिरहेको छैन,’ उनले भने । 

सहकारीले मागेजति नपाउँदा किसानलाई दिन सकेनन्
कैलालीको कैलारी गाउँपालिकाको श्रमिक महिला कृषि सहकारीका अध्यक्ष सीता चौधरीले गहुँबालीमा सिँचाइ गर्ने समय भएकाले सहकारीमा मल माग्न आउने किसानको भिड बढिरहेको बताइन् । कृषि सामग्री कम्पनीबाट आवश्यकताअनुसार मल नपाएपछि किसानले मागेजति दिन नसकेको उनको भनाइ छ । ‘दिनदिनै मल माग्न आउनेको भिड हुन्छ, तर सहकारीमा मल छैन,’ उनले भनिन्, ‘थप मल माग गरेका छौँ, पाएपछि वितरण गर्छौँ ।’ 

भजनी नगरपालिका– ९ स्थित घोडताल कृषि सहकारीको अध्यक्ष मिहीलाल चौधरीले पनि किसानलाई मल दिन नसकेको बताए । ‘अहिले गहुँमा सिँचाइ गरेर मल हाल्ने समय हो, तर किसानलाई मल दिन सकेका छैनौँ,’ उनले भने, ‘सहकारीसँग मल सकिएको दुई साता भयो ।’ कृषि सामग्रीबाट लगेको २३० बोरा मल अपुग भएकाले थप सय बोरा मागेको तर आइनपुगेको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले कैलालीमा ४१२ वटा सहकारी तथा एग्रोभेटमार्फत अनुदानको मल किसानलाई बिक्री गर्ने गरेको छ । कृषि सामग्रीले मंसिरयता कैलालीमा दुई हजार ४४७ मेट्रिकटन युरिया बिक्री गरेको जनाएको छ । जिल्लामा मलको अभाव हुँदा कृषि सामग्रीको गोदाममा भने अहिले २७७ मेट्रिकटन युरिया मौज्दात छ । कार्यालयका सूचना अधिकारी गणेशदत्त जोशीले कैलालीका सबै सहकारीबाट थप मलको माग आएकाले धमाधम पठाउने कार्य भइरहेको दाबी गरे । ‘केन्द्रीय कार्यालयबाटै पर्याप्त मल आएको छैन, त्यसैले यहाँ मागअनुसार किसानलाई मल दिन सकेका छैनौँ,’ उनले भने । सुदूरपश्चिमका अन्य ६ जिल्ला र गहुँ सुपरजोन लागू भएका ठाउँमा समेत पठाउनुपर्ने भएकाले पनि केही मल मौज्दात राखिएको उनको भनाइ छ ।

दुई लाख टन बिक्री, गोदाममा ८५ हजार टन मौज्दात
हिउँदे बाली लगाउने वेला रासायनिक मल नपाएर किसान छटपटाइरहेका छन् । तर, सरकारी गोदाममा भने मल थुप्रिएर बसेको छ । कृषि मन्त्रालयले यस वर्ष पाँच लाख ५० हजार टन रासायनिक मल आयात गर्ने कार्यतालिका बनाएको छ । जसमध्ये पाँच लाख पाँच हजार टन खरिदका लागि टेन्डरसमेत भइसकेको छ । टेन्डर भएमध्ये दुई लाख नौ हजार टन आयात भइसकेको मन्त्रालयले जनाएको छ । साउनदेखि पुस पहिलो सातासम्म देशभर दुई लाख २५ हजार २१ टन रासायनिक मल बिक्री भइसकेको मन्त्रालयको तथ्यांक छ । यसमध्ये युरिया एक लाख ४६ हजार ८७५ टन र डिएपी ६६ हजार ८३८ टन बिक्री भएको छ । गत वर्ष भने यस अवधिमा एक लाख ९० हजार टन बिक्री भएको थियो ।

अनुदानको मल आयात र बिक्री गर्ने जिम्मेवारी लिएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरका गोदाममा हाल ८५ हजार ६२४ टन मौज्दातसमेत रहेको मन्त्रालयको तथ्यांक छ । यसमध्ये युरिया ५९ हजार ९२७ टन र डिएपी २० हजार १६ टन मौज्दात छ ।

कृषि सामग्रीका प्रबन्ध निर्देशक विष्णुप्रसाद पोख्रेलले गत वर्ष यही अवधिमा एक लाख ९० हजार टन बिक्री गरेको, तर अहिले झन् बढी बिक्री हुँदा पनि समस्या देखिनु अस्वाभाविक भएको बताए । ‘पोहोरभन्दा बढी मल बिक्री भएको छ, तैपनि मागेजति पाइएन भन्ने गुनासो सुनिनु स्वाभाविक होइन,’ उनले भने, ‘वितरणमा केही समस्या छ भन्ने बुझिएको छ ।’ उनले किसानबाट माग हुनासाथ देशभरका कार्यालयबाट सहकारीमा मल पठाउने कार्य भइरहेको दाबी गरे । 

मोरङमा गणेश लम्साल, सप्तरीमा सौरभ यादव, जनकपुरमा हदिश खुद्दार, मकवानपुरमा पोष्टराज अधिकारी, दाङमा दीपक बोहरा, बाँकेमा विश्वराज पछल्डङ्ग्या र धनगढीमा तेजराज भट्ट