मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ पौष १२ आइतबार १९:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छाडेर जानेको घर हुँदैन, नेकपा हामी हौँ र चुनाव चिह्न सूर्य हामीसँगै हुन्छ : सुरेन्द्र पाण्डे

Read Time : > 1 मिनेट
२०७७ पौष १२ आइतबार १९:५२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन आग्रह गरेका छन् । भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा आइतबार उनले ओली गलत बाटोमा हिँडेको बताउँदै सच्चिन आग्रह गरेका हुन् । 

उनले भने, ‘आफूलाई कम्युनिस्ट र क्रान्तिकारी भन्ने नेकपाका तत्कालीन अध्यक्ष केपी ओलीले यो परिवर्तनलाई नयाँ रूपमा पछाडि फर्काउन खोजे, संविधानमा व्यवस्था नै नभएको प्रतिनिधिसभा विघटन गर्नु  असंवैधानिक हो । मुलुकलाई अँध्यारोमा फर्काउने कुचेष्टा उनीबाट भयो ।’

इतिहासमा धेरैपटक क्रान्तिकारी भनिनेहरू प्रतिगमनको पक्षमा लागेको भन्दै उनले यही अस्थामा रहे स्वयं केपी ओली र उनका पक्षधर पनि यस्तै बन्ने जिकिर गरे । प्रतिनिधिसभा विघटन गरेर ओलीले आफूसँग भएको शक्ति सर्वोच्चमा दिएको पाण्डेको दाबी छ । देश गम्भीर मोडमा रहेको भन्दै उनले सर्वोच्चले संविधानको पक्षमा निर्णय गर्ने विश्वास रहेको बताए । 


उनले पार्टी र चुनाव चिह्नको अधिकारसमेत केपी ओली समूहले गुमाएको बताए । ‘पार्टीको माइन्युट हामीसँग छ भनेर केही साथीहरूले भनेको पनि सुनेँ,’ उनले भने, ‘सत्ताको दम्भले माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो हुन्छ भनेर तर्क गर्नु मूर्खता मात्र हो ।’
पार्टीको माइन्युट र छाप छ भन्दैमा पार्टी आफ्नो हुन्छ भनेर भ्रममा नपर्न उनले ओली पक्षलाई आग्रहसमेत गरे । ‘छोडेर जानेहरूको घर हुँदैन, उनीहरूले नयाँ घर बनाउनुपर्छ,’ पाण्डेले भने, ‘उहाँहरू (ओली पक्ष)ले घर छाडेर जानुभयो । अब अर्को घर बनाउने हो । नेकपा हामी हाैँ र चुनाव चिह्न सूर्य हामीसँगै हुन्छ ।’

बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने  उनको तर्क छ । नेकपाका २५ प्रतिशत केन्द्रीय सदस्यबाहेक ७५ प्रतिशत केन्द्रीय सदस्य अर्थात् ३७७ जनाभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समूहमा छाैँ । निर्वाचन आयोगमा पनि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएकाले निर्वाचन आयोगले हामीलाई नै वैधानिकता दिन्छ ।’ 
ओलीले शक्तिको बलमा आफूअनुकूल निर्णय गराए भने जनताले सडकबाट ओलीको सरकार ढाल्ने र त्यसैका लागि नेकपाले आन्दोलनको आँधीबेहरी ल्याउन लागेको पाण्डेले बताए । 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, सूर्य सुवेदी पथिक, भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेललगायतले असंवैधानिक कदमविरुद्ध एक भएर आन्दोलन गर्नुको विकल्प नभएको बताएका थिए । 

पार्टी कार्यालयमा प्रहरी तैनाथ 
प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको दुरुपयोग गर्दै नेकपाको पार्टी कार्यालयमा सुरक्षाकर्मीलाई तैनाथ गरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ । चितवनको पार्टी कार्यालय प्रहरीले नियन्त्रणमा लिएपछि प्रचण्ड–नेपाल पक्षले अगुवा कार्यकर्ता भेलाको स्थान सारेको थियो । 

भरतपुर महानगरपालिका– १० स्थित मदननगरमा रहेको नेकपाको पार्टी कार्यालयमा प्रहरी परिचालन गरी सुरक्षा घेरामा राखेपछि आयोजक प्रचण्ड–माधव पक्षले पूर्वमाओवादी केन्द्रको पार्टी कार्यलय (हालको भरतपुर महानगरपालिकाको पार्टी सचिवालय) मा कार्यक्रम गरेको हो । 

मदननगरको पार्टी कार्यालयमा प्रहरीले कसैलाई पनि प्रवेश गर्न दिएको छैन । ओली पक्षका कार्यकर्ताले शनिबार बिहान कार्यालयमा तालाबन्दी गरेका थिए । तर, प्रचण्ड–माधव पक्षले ताला फोरेको थियो । सुरक्षालाई ख्यालमा राखी झडप नहोस् भनेर शनिबारदेखि नै पार्टी कार्यलयमा सुरक्षा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।