
प्रदेश १ सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र प्रदेश सांसद गोपाल बुढाथोकीले नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।
मंगलबार ओली समूहले थप गरेको केन्द्रीय सदस्यहरूको नामावलीमा आफूहरूलाई जानकारी नै नदिई नाम राखेको भन्दै उनीहरूले पद आफूहरूलाई स्वीकार्य नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको बिर्तामोड घर भएकी राज्यमन्त्री गजमेरले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘विश्वास र भरोसासाथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिनँ ।’
यसैगरी मंगलबार साँझ फेसबुकमै स्टाटस लेख्दै ओलीको गृहनगर झापा मेची नगरका प्रदेश सांसद गोपाल बुढाथोकीले आफूलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मञ्जुर नभएको बताएका छन् ।
उनले स्टाटसमा लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहासबाट पनि हाम्रा नेताहरूले शिक्षा लिएनन् । जनतालाई धरधरी रुवाएर परिवारभन्दा पनि बढी माया गरेको पार्टी विभाजन गराए, हामी यो वेला दुःख व्यक्त गर्न रमिते हुनबाहेक के पो गर्न सक्नेरहेछौँ र ? मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद मञ्जुर छैन ।’
राज्यमन्त्री गजमेर र बुढाथोकी दुवै पार्टी एकता अगाडिदेखि नै पूर्वएमालेमा रहँदा माधव नेपाल समूहमा थिए ।
अल्पमतमा मुख्य मन्त्री राई नेतृत्वको सरकार
९३ जना सांसद सहभागी प्रदेश १ सभामा प्रचण्ड–माधव समूहका ४७, ओली समूहका २० जना सांसद छन् । प्रदेश १ सभामा मुख्य प्रतिपक्षी कांग्रेसको २१, जनता समाजवादीको तीन, राप्रपाको एक र संघीय लोकतान्त्रिक मञ्चको एकजना सांसद छन् । विभाजनपूर्व नेकपाको दुईतिहाइभन्दा बढी कुल ६७ जना सांसद थिए ।
प्रदेश १ मा संसदीय दलको नेता तथा सरकारको मुख्यमन्त्री ओली समूहका शेरधन राई छन् । तर, विभाजनपछि उनी अल्पमतमा परेका छन् । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसैत अनि भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ओली समूहमा छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेर र आर्थिक मामिला योजनामन्त्री इन्द्र आङबो प्रचण्ड–नेपाल समूहमा छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामराना झलनाथ खनालका भए पनि उनी राज्यमन्त्री भएकोले ओली समूहमै रहन सक्ने सम्भावना छ ।
सभामुख प्रदीपकुमार भण्डारी नेपाल समूहका र उपसभामुख सरस्वती पोखरेल प्रचण्ड समूहका हुन् । नेकपा संसदीय दलका उपनेता टंकबहादुर आङबुहाङ प्रचण्ड–नेपाल र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी ओली समूहमा छन् ।