१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २८ आइतबार १२:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारप्रति व्यापक वितृष्णा फैलियो, सडकदेखि संसद्सम्म चर्काे दबाब सिर्जना गर्छाैँ : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार १२:oo:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले अब सरकारले सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताएका छन् । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘कांग्रेसले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम, तर शसक्त ढंगले अघि बढ्नु छ, भोलिको प्रदर्शन सांकेतिक मात्रै हो ।’ 

प्रतिपक्षी भूमिकामा भए पनि सडकदेखि सदनसम्म कांग्रेस सत्ता साझेदारझैँ देखिएको भन्दै पार्टीभित्रैबाट सभापति देउवाको विरोध हुँदै आएको छ । 

प्रतिपक्षीको थलो भनिएको संसद् पाँच महिनादेखि बन्द जनताको पक्षमा आफ्नो आवाज बोल्न नसकेको कांग्रेसले सरकारका गलत गतिविधिका विरुद्ध सोमबार ७७ वटै जिल्लामा सडक प्रदर्शन गर्दै छ । 

सभापति देउवाले कोरोनाको संक्रमण फैलिन नदिन सचेतना अपनाएर सडक प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । 

‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी कायम राख्न र मास्क प्रयोग प्रभावकारी गराउन आग्रह गर्दछु,’ सभापति देउवाले भनेका छन् । 

देउवाले मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको कांग्रेस अहिले प्रतिपक्षको हैसियतमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको दाबी गरेका छन् । 

‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गऱ्याे भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक भएको देउवाको भनाइ छ । 

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुन सक्छ ?’ देउवाले प्रश्न गरेका छन् । 

उनले प्रधानमन्त्रीले शक्ति सबै आफ्नो कार्यालयमा थुपारेर जनविरोधी विधेयकहरूमार्फत अघि बढ्न खोज्नुले अधिनायक आकांक्षालाई पुष्टि गरेको बताएका छन् । 

‘तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ । 

देउवाले ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको बताएका छन् । 

उनले सरकारले कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नबनाउँदा सयौँको मृत्यु भएको, हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको, ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बनेको बताएका छन् । 

‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतीको वेला मल नपाएर छट्पटिएको किसान । लकडाउनका वेला भोकका कारण सयौैँ किलोमिटर पैदल हिँडेर गाउँ फर्किएको श्रमिक । व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्याेगीसम्म । रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदूर सम्भावना नदेखिरहेको युवा । शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिलादेखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्,’ विज्ञप्तिमा लेखिएको छ । 

‘यी सबैको पीडा, भावना र आवाजलाई गहिरो आत्मसात् गर्न सरकार सम्पूर्ण रूपले असफल भएको छ,’ विज्ञप्तिमा थप उल्लेख छ ।

उनले कांग्रेसले नेपाली जनताको हरेक क्षेत्र, वर्ग एवं समुदायको पीडा र भावनालाई अझ प्रखर ढंगले मुखरित गर्ने बताएका छन् ।