२०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एसियन छनोट चरणको बाँकी खेल–तालिका सार्वजनिक भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले शुक्रबार छनोट चरणअन्तर्गत समूह चरणको बाँकी खेलको खेल–तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरस (कोभिड–१९) कै कारण एसियन छनोट अक्टोबर–नोभेम्बरसम्म सारिएको थियो । निर्धारित तालिकाअनुसार एसियन छनोट मार्च २०२० मा हुनुपर्ने थियो ।
कोभिड– १९ का कारण एएफसीले सबै खेल–तालिका स्थगित गरेको थियो । एएफसी वेभ पोर्टलअनुसार नेपालले २०२१ मा विश्वकपअन्तर्गत एसियन छनोट खेल खेल्नेछ । अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको जनाएको छ । नेपाल र चाइनिज ताइपेईबीचकाे खेल २५ मार्च २०२१ मा हुनेछ । ३० मार्चमा नेपालले अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
विश्वकप छनोटको अन्तिम खेलमा नेपालले जोर्डनसँग ७ जुन खेल्ने एएफसीले जनाएको छ । समूह बीमा नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ । जसमा एक जित तथा चार हारको सामना गरेको छ । नेपालले समूह बीमा तीन अंक जोडेको छ । यस अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई मात्र हराएको थियो । नेपालले अब बाँकी सबै तीन खेल नै दशरथ रंगशालामा खेल्नेछ । नेपालले अहिलेसम्मको छनोट खेलमा दुई गोल गरेको छ । विपक्षीहरूले नेपालको पोस्टमा १४ गोल गरेका छन् ।
विश्वकप छनोटमा नेपालले अन्तिमपटक प्रतिस्पर्धा गरेको नै कुवेतविरुद्ध नै थियो । गत वर्षको मंसिरमा नेपालले कुवेतविरुद्ध दशरथ रंगशालामा खेल्नुपर्ने थियो । तर, रंगशालाको मर्मत कार्य चलिरहेको, अन्तर्राष्ट्रियस्तरको सुविधा नभएको र मैदानको कार्य पनि पूरा नभएको जनाउँदै एएफसीले रंगशालामा हुने भनिएको खेल तटस्थ भूमिका रूपमा भुटान सारिएको थियो । जहाँ नेपाल कुवेतसँग १–० ले पराजित भएको थियो । नेपालले अब दशरथ रंगशालामा बाँकी तीन खेल घरेलु मैदानका रूपमा प्रयोग गर्नेछ ।
अखिल नेपाल फुटबल संघले विश्वकप छनोटको बाँकी खेलका निमित्त एन्फाकै उपाध्यक्ष उपेन्द्रमान सिंहलाई संयोजक र केन्द्रीय सदस्य विजय घलेलाई प्रतियोगिताको स्थानीय संयोजकको जिम्मेवारी दिइसकेको छ । यसैबीच कोभिड– १९ कै समयमा स्वदेश फर्किएका नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक योहान कालिनले राजीनामा दिएका छन् ।
स्विडेनले आफ्ना नागरिकालाई अन्य देशमा यात्रा नगर्न भनिएपछि कार्यबाहक प्रशिक्षकका रूपमा बालगोपाल महर्जनले नै गत महिना बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई उतारेका थिए । समूह बीमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । अस्टेलियाले चारै खेलमा जित निकालेको छ । कुवेत दोस्रो तथा जोर्डन तेस्रो स्थानमा छन् । दुवैले समान १० अंक बटुलेका छन् । चाइनिज चाइपेईले पाँचै खेल गुमाएको छ ।
छनोट समूह बी
स्थान राष्ट्र खेल जित हार अंक
१ अस्टेलिया ४ ४ ० १२
२ कुवेत ५ ३ १ १०
३ जोर्डन ५ ३ १ १०
४ नेपाल ५ १ ४ ३
५ चा. ताइपेई ५ ० ५ ०