काठमाडौंका मुख्य सडकहरूमा आधुनिक सडकबत्ती जडान हुने भएको छ ।
पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायत क्षेत्रमा दुई हजारवटा आधुनिक सडकबत्ती जडान कार्य अघि बढ्ने भएको छ । सो कार्यका लागि करिब १७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
सडकबत्ती जडानका लागि बिहीबार काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण र सडक विभागले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहितको सहभागितामा कार्यालयहरूबीच सहमतिपत्रमा हस्ताक्षर तथा आदान–प्रदान भएको छ ।
सडकबत्ती जडानका लागि महानगरले ६० प्रतिशत लगानी गर्ने भएको छ । बाँकीे ४० प्रतिशत खर्च प्राधिकरणले बेहोर्नुपर्ने सम्झौता भएको छ । चालू आर्थिक वर्षमा प्राधिकरणको तर्फबाट लाग्ने ४० प्रतिशत रकमसमेत महानगरले नै सहयोग गर्नेछ, तर सो रकम प्राधिकरणले अर्को वर्ष लगानीमा समायोजन गर्ने सहमतिपत्रमा उल्लेख छ ।
मन्त्री नेम्वाङले संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने लक्ष्य लिइएको बताए ।
उनले भने, ‘काठमाडौं महानगर मात्रै हैन, संघीय राजधानी पनि हो, त्यसैले यहाँको सडकलाई व्यवस्थित गर्नु पहिलो प्राथमिकता हो, त्यसै अभियानअन्तर्गत सडकबत्ती जडानको कार्यक्रमका लागि यो सम्झौता भएको छ ।’ मन्त्री नेम्वाङले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम अघि बढाउनसमेत निर्देशन दिए ।
‘मन्त्रालयले थालेको धुलो–हिलोरहित काठमाडौं बनाउने अभियान जारी छ, अब उज्यालो महानगरको अभियानले काठमाडौंलाई थप सुन्दर बनाउँछ,’ उनले भने, ‘महानगरको सुन्दरता बढाउन स्थानीय र केन्द्र सरकार दुवै मिलेर हातेमालो गर्नुपर्ने अवस्था छ ।’
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले धेरैपटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको बताए । उनले अब जति सक्दो छिटो काम पूरा गर्नेतर्फ केन्द्रित हुन आग्रहसमेत गरे ।
‘यातायात व्यवस्थापन, शान्ति सुरक्षा र सामाजिक सुरक्षालगायतका सेवा–सुविधालाई चुस्त बनाउन सडकबत्ती अपरिहार्य छ,’ उनले भने, ‘सहरी सौन्दर्य अभिवृद्धि गर्न महानगर सधैँ तत्पर छ ।’
उनले काठमाडौंका मुख्य–मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न उपलब्ध स्राेत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शीघ्र सुरु गर्ने र आवश्यकताअनुसार निरन्तर विस्तार गर्दै आपसी समन्वय, सहकार्य र एकरूपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ ।’
सडकबत्ती जडानकालागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनाेट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्नेलगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने भएको छ । आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ । सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडकलगायत आवश्यकताअनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने भएको छ ।
सडकबत्ती जडान, सञ्चालनलगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडकबत्तीको सम्भाव्य विस्तारस्थलहरूको पहिचान, अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने, नयाँ सडकबत्तीहको जडानपश्चात् जगेडा हुने सोलार प्यानललगायत सामानहरूको जगेर्ना गर्दै पुनर्प्रयोगको व्यवस्था गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख छन् ।
सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।